बजाज क्युट
काठमाडौं : बजाज अटोको सानो कार क्युट भारतीय बजारमा सार्वजनिक भएको छ। बजाजले बिहीबारबाट भारतीय बजारमा क्युटको बिक्री सुरु गरेको हो। यो पेट्रोल र सीएनजी (प्राकृतिक ग्यास) भेरियन्टमा सार्वजनिक गरिएको हो। पेट्रोल भेरियन्टको मूल्य दुई लाख ४८ हजार भारतीय रुपैयाँ र सीएनजी भेरियन्टको मूल्य दुई लाख ७८ हजार भारतीय रुपैयाँ तोकिएको छ।
क्युट व्यावसायिक तथा निजी प्रयोगका लागि सहज हुने गरी डिजाइन गरिएको छ। यसमा २१६ सीसी सिंगल सिलिन्डर, लिक्विड कुल्ड डीटीएसआई इन्जिन छ। यसको पेट्रोल इन्जिनले ५५०० आरपीएममा १३ बीएचपी शक्तिका साथ ४००० आरपीएमा १८.९ एनएम टर्क उत्पादन गर्छ। सीएनजी भेरियन्टले ५५०० आरपीएममा ११ बीएचपी शक्तिका साथ ४००० आरपीएमा १६.१ एनएम टर्क उत्पादन गर्छ। ५ स्पिड म्यानुयल गियर बक्स दिइएको छ। अधिकतम गति ७० किलोमिटर प्रतिघण्टा छ।
प्रतिलिटर ३६ किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ। एक किलोग्राम सीएनजीले ४३ किलोटिरसम्मको यात्रा पूरा हुन्छ। क्युटमा चारजनाले यात्रा गर्न सक्नेछन्। जसमा चालक र एक यात्रुका लागि अगाडिको सिट हुनेछ भने अन्य दुई यात्रु पछाडिको सिटमा बस्नेछन्। करिब ४०० किलोग्राम तौल रहेको यस कारको लम्बाइ २७५२ एमएम, चौडाइ १३१२ र उचाइ १६५२ एमएम छ। ह्विलबेस १९२५ एमएम छ।