पुरुषको मौन मित्रता
जोन क्याम्पवेलसँग मेरो मित्रताको सबभन्दा उल्लेख्य पाटो के थियो भने जीवनमा ऊसँग मैले अत्यन्त थोरै मात्र कुराकानी गरेँ। महिनामा दुई वा तीन पटक। ऊ बाइक चढेर हुलाकघर वा गाउँको पसल आउँथ्यो, जहाँ हाम्रो भेट हुन्थ्यो तर हामी थोरै शब्द मात्र साटासाट गथ्र्यौं। रित्तो आकाशजस्तो, वातावरणमा मौनता नै अधिक सुनिन्थ्यो। भेट्दा शतप्रतिशत पुरुष भएर हामी एकअर्कालाई अभिवादन गथ्र्यौं र वरपरको परिवेश निरीक्षण गथ्र्यौं। कहिलेकाहीँ मौसमबारे कुरा गथ्र्यांै। सहमति भए, हो भन्थ्यौं, टाउको हल्लाउँथ्यौं। केही क्षणमा ऊ बाइक चढेर फर्किन्थ्यो। त्यस्तो खाले थियो हाम्रो सम्बन्ध।
केही महिनाअघि सतहत्तर वर्षको उमेरमा ल्युकेमियाको कारणले जोनको निधन हुँदा म खासै बोलिनँ। बरु टाउको झुकाई बसेँ। म जोनकी श्रीमती जेनलाई भेट्न गएँ तर त्यहाँ पनि कम बोलेँ। त्यसलाई बोलेको पनि के भन्नु ? मैले जोनकी छोरी फ्रान्सिसलाई जोनको कुनै फोटो भए दिन भनेँ ताकि फोटो हेरेर म जोनको आत्मीय अनुहार सम्झन सकूँ। फ्रान्सिसले दोस्रो विश्वयुद्धताकाको जोन युद्घक विमानको पाइलट हुँदाखेरको, घाँटीमा गगल्स झुन्ड्याएको फोटो र बुढेसकालको जोनको फोटो, जसले रियल स्टेट बेचेको थियो, छनोट गर्न दियो। मैले जोनको पछिल्लो समयको फोटो लिएँ।
फ्रान्सिस भन्दै थिइन्— मैले प्राइभेट राएन सिनेमा हेरेको थिएँ। आश्चर्यको कुरा, जब सिनेमामा नायक टम ह्याक्ङ्स र घाइते सैनिकहरूलाई उद्घार गर्न युद्घक विमान लिएर सैनिक आयो, त्यो मेरो बुवा थियो। बुवाले मसँग कहिल्यै युद्धका कुरा गरेन। मलाई फ्रान्सिसको कुरा अचम्भ लागेन बरु स्वाभाविक लाग्यो। पुरुषहरू स्वभावले मौन बस्न चाहन्छन्। मैले बुझेको छैन, किन पुरुषको मौनताबारे यति धेरै चर्चा हुन्छ। उत्तिकै आलोचना पनि। यो सत्य हो, पुरुषहरू आफ्ना महिलाहरूले चाहेजति कहिल्यै बोल्दैनन्। तर मित्रहरूको मौनतामा यौटा अव्यक्त समझदारी कसो कसो भइरहन्छ। त्यो मौन समझदारीमा मित्रता राम्ररी नै अगाडि बढिरहन्छ। म दर्जनौं त्यस्ता पुरुष मित्र अझ पनि सम्झन्छु, जो मजस्तै कम बोल्छन् तर मेरा असल मित्रहरू हुन्।
एउटा पुरानो कथा— दुईजना महिला अल्पभाषीमा कहलिएका राष्ट्रपति क्यालभिन कुलिजकहाँ गएछन्। एक महिलाले कुलिजलाई भनिछ— राष्ट्रपति महोदय, मैले आफ्नो साथीसँग तपाईंको मुखबाट कम्तीमा तीन शब्द निकाली छाड्ने सर्तमा बाजी लगाएको छु। कुलिजले तुरुन्त जवाफ फर्काएछ— तिमी हार्यौं।
म विश्वास गर्छु, प्रायः महिलाहरू पुरुषपना छाडेर तुरन्ता तुरुन्तै कुरा फेरिरहनेभन्दा कम बोल्ने पुरुष मन पराउँछन्। अस्सी र नब्बेको पूर्वाद्र्धमा पुरुषहरूले पनि आफ्ना मनका भावनाहरूलाई व्यक्त गर्नुपर्छ भन्ने रोबर्ट ब्लाइले चलाएको आन्दोलन चर्चामा थियो। कुनै पुरुषले महिलाले झैं मनका भावना व्यक्त गर्दा खतरा उत्पन्न हुन्छ भन्ने मान्यता राख्छ भने उसले मकालाउलिङ वा केवल मोनिका समूहतिर नियाल्नुपर्छ। जंगलमा नगरा बजाएर, जंगलभित्र उनीहरू कस्तरी असामान्य भई एकआपसमा चिच्याइरहेका हुन्छन्, हेर्नुपर्छ।
महिलाझैं पुरुष सामाजिक जीव होइनन्, न त कुशल प्रशासक नै। ईश्वर पोलिटिक्कली महिला हुनुपर्छ भन्ने तर्कमा सत्यता छ।
पुरुषलाई महिलाजस्तो बनाउने, जंगलमा फर्काउने वाहियात र कृत्रिम तरिकाहरू अझसम्म पनि चलिरहेको छ। गत फेबु्रअरीमा मात्र सयौं पुरुष लुजियानास्थित बेनेडिक्टाइन भिक्षुको स्वामित्वको सल्लाको जंगलमा सिर्फ यसकारण पुगे कि उनीहरूले एकान्तमा दुःख सहने क्षमता प्राप्त गर्न सकून। एकजना व्यक्तिले सल्लाको जंगलमा दुःख सहने क्षमता भएको मांसपेशी आवश्यकताअनुसार चलाउन सिकेको कुरा बताउँदै थियो। अनुभव सुनाएकोमा उसलाई धन्यवाद।
पुरुषले पनि आफ्ना मनका भावनाहरू व्यक्त गर्नुपर्छ भन्ने सोचको पछाडि पुरुषहरूका मनमा पनि भावनाहरू हुन्छन् भन्ने तथ्य छ तर पुरुषमा धेरै कम भावना हुन्छन्। ती कम भावना पनि मनभित्र कतै डुबेर बसेका हुन्छन्। र,
त्यसलाई हतारमा बाहिर ल्याउँदा त्यसको सौन्दर्य मात्र नष्ट हुन्छ। पुरुषले बोलेर होइन नबोलेर शक्ति प्राप्त गर्छ। ‘जिनीको शक्ति बोतलभित्र बन्द हँदा नै हुन्छ’ कवि रिचर्ड विलभर सही भन्छन्। हुन त म जीवशास्त्री होइन तर मेरो विश्वासमा पुरुष नामक जैविक–मान्छे मौनताको निम्ति नै बनाइएका हुन्। हाम्रो वंशानुगत गुणभन्दा विपरीत गएर कसैले हामीलाई बोल्न बाध्य गराउन सक्छ तर त्यो कंगारुलाई गोल्टिनमा हाल्ने प्रयासभन्दा बढी हँदैन। त्यो रमाइलो त होला तर त्यसको अर्थ छैन।
अझ पुरानो कथा— कवि वर्जवर्थ कवि कलरिजलाई भेट्न उनको कटेजमा गएछन्। वर्जवर्थ करिब तीन घण्टासम्म एक शब्द नबोली बसेछन्। कलरिजको मौनतालाई कदर गर्दै वर्जवर्थ पनि मौन बसेछ। कलरिजलाई शान्त समयको निम्ति धन्यवाद दिँदै वर्जवर्थ निस्किएछ।
वास्तवमा धेरै पुरुषको जीवनमा गहिरो र प्रगाढ मौनता हुन्छ। त्यसले जीवनलाई सजिलो बनाउँछ कि कठिन ? तर हामी त्यसरी नै बाँच्छौं। महिलाझैं पुरुष सामाजिक जीव होइनन्, न त कुशल प्रशासक नै। ईश्वर पोलिटिक्कली महिला हुनुपर्छ भन्ने तर्कमा सत्यता छ।
म त कहाँसम्म भन्छु भने पुरुषहरू मौन हुन र एकआपसमा कम घुलमिल हुन नै बनाइएको हो। ऐकान्तिकता स्वाभाविक स्थिति हो, पुरुषको। वास्तवमा पुरुषको मौन–मित्रता भन्ने कुरा एक्लो हुँदा पनि एकआपसमा संगै रहन सक्नु हो। मौन मित्रतामा सबभन्दा आवश्यक तत्व सद्भाव हो। त्यो सद्भाव प्राप्त गर्ने, इच्छा त्यही हो पुरुषहरूको।
मित्र जोनसँग जीवनभर मैले सयौं पटक कुरा गरेँ हुँला तर म कुनै त्यस्तो क्षण सम्झन सक्दिनँ जहाँ हामीले कुनै विषयमाथि विचार आदानप्रदान गरेको होस्। अर्थात् लामो तर्कवितर्क गरेको होस्। उसलाई थाहा थियो, म उनको भलो चिताउँछु। मलाई पनि थाहा थियो, ऊ मेरो भलो चिताउँछ।
जुन दिन उनको मृत्यु भयो, मृत्युको खबर पाउनु केही समयअगाडि अचम्मको घटना भयो। उसको जस्तै जीउडाल भएको र हेलमेट लगाएर बाइक चलाउँदै गरेको व्यक्तिलाई मैले झुक्किएर बोलाएँ। मृत्युको खबर प्राप्त भएपछि के कारणले हो, मलाई थाहा छैन, मैले झुक्किएको त्यो व्यक्तिलाई सम्झँे। र, मलाई लाग्यो— ऊ आफ्ना हात हल्लाउँदै बाइकमा मबाट टाढा टाढा गइरहेको छ। फेरि भेटांैला, जोन।
२००१ जुन २४ मा ‘टाइम म्यागेजिन’मा छापिएको यो निबन्ध कवि/निबन्धकार रोशन शेरचनले उल्था गरेका हुन्।