नेपाललाई विदेश नीति चाहिन्छ ?
के अमेरिकालाई विदेश नीतिको आवश्यकता छ ?’ यो आक्रोशित प्रश्न कुनै अतिवादी अमेरिकाविरोधी विद्रोहीको नभई अमेरिकी कूटनीतिक एवं अन्तर्राष्ट्रिय सम्बन्धका ज्ञाता नोबेल शान्ति पुरस्कार विजेता एवं पूर्वअमेरिकी विदेश मन्त्री हेनरी किसिन्जरको सन् २००२ मा लेखिएको पुस्तकको हो। किसिन्जरले आफ्नो उक्त पुस्तकमार्फत अमेरिकी परराष्ट्र मन्त्रालयका अधिकारी एवं अध्येतालाई एउटा सन्देश दिन खोजेका छन्। सोभियत संघको विघटनपश्चात् अन्तर्राष्ट्रिय जगत्मा सैन्य, व्यापार, विज्ञान, प्रविधि साथै अन्य क्षेत्रमा अमेरिकाको एकल वर्चस्व कायम भएको अवधि हो त्यो। सोभियत संघको विघटनले अमेरिकाको मुख्य अन्तर्राष्ट्रिय प्रतिस्पर्धीलाई विस्थापित गरेको एक दशकभन्दा बढी अवधि भइसकेको थियो।
कतै यो विजयोन्मादले आत्मरतिमा रमाई अन्तर्राष्ट्रिय सम्बन्धका दीर्घकालीन हितहरूलाई लत्याउँदै अल्पकालीन उन्माद र स्वार्थमा त अमेरिका रमिइरहेको छैन ? भनी शोध गरिएको परिणाम थियो उक्त पुस्तक। उन्माद र आवेग परिपक्व परराष्ट्र नीतिको हितमा हँदैनन् भनी अमेरिकी अधिकारीहरूलाई दिइएको चेतावनी थियो उक्त प्रश्न। परराष्ट्र मामिला एवं विदेश नीतिका आयामहरू कति व्यापक गम्भीर एवं माननीय हुन्छन् साथै देश विदेशमा भइरहेको परिवर्तनलाई यसका अन्तर्राष्ट्रिय विज्ञहरूले कसरी अध्ययन अनुसन्धान एवं अवलोकन गरिरहेका हुन्छन् भन्ने एउटा पठनीय एवं मननीय उदाहरण हो किसिन्जरको उक्त पुस्तक।
सन् १९९० प्रारम्भमा विश्वभरि प्रजातन्त्रको लहर चल्यो। नेपालमा पनि संयुक्त वाममोर्चा एवं प्रजातान्त्रिक शक्तिहरूको संयुक्त आन्दोलनले बहुदलीय व्यवस्थाको पुनस्र्थापना गर्यो। उक्त व्यवस्थाको जराले राम्ररी माटो समाउन नपाउँदै मुलुक सशस्त्र द्वन्द्वमा फँस्यो। यही बीचमा दरबार हत्याकाण्ड भई राजाको प्रत्यक्ष शासनको सामना गर्यो नेपालले। अन्ततः नेपाल संघीय गणतान्त्रिक प्रणालीमा रूपान्तरित भयो। यसका लागि नेपालले ठूलै मूल्य चुकाउनुपर्यो। दुई पटकको संविधान सभा, भूकम्पको चपेटा र आर्थिक नाकाबन्दीको ठूलो मूल्यले दिएको उपहार हो नेपालको वर्तमान संविधान। यत्रो उतारचढाव भोगेको मुलुकले नेपालको परराष्ट्र आयामका बारेमा सोच्यो कि सोचेन ? यी उतारचढावहरूले नेपालको विदेश नीतिलाई प्रभाव पारेकि पारेनन् ? किसिन्जरको उक्त प्रश्नलाई नेपालको सन्दर्भमा पुनर्लेखन गर्दा भन्न सकिन्छ : के नेपाललाई विदेश नीतिको आवश्यक छ ?
सन्दर्भ नेपालका पूर्वविदेश सचिव एवं संयुक्त राष्ट्रसंघका लागि नेपालका पूर्वस्थायी प्रतिनिधि मधुरमण आचार्यले हालसालै लेखेको पुस्तक ‘नेपाल वल्र्डभ्यु’को हो। दुई भोल्युममा लेखिएको उक्त पुस्तकको पहिलो भोल्युममा नेपालको विदेश नीतिबारे चर्चा गरिएको छ। चार भागमा विभाजित उक्त पहिलो भोल्युममा विदेश नीतिका लागि आवश्यक वातावरण, नेपालका क्षेत्रीय सम्बन्धको अवस्था, नेपालको विश्वका अन्य मुख्य देशहरूसंँगको सम्बन्ध, एवं अन्तर्राष्ट्रिय संघसंस्थाहरूसँगको सम्बन्ध एवं सबालहरूको बारेमा सविस्तार व्याख्या गरिएको छ। दोस्रो भोल्युममा मात्र दुईवटा विषय नेपालको कूटनीति साथै आर्थिक र विकासको कूटनीति बारेमा चर्चा गरिएको छ।
परराष्ट्र मामिला ज्ञान र अनुभव दुवैको सँगालो हो। परराष्ट्र मामिलाका ज्ञाता प्राध्यापक व्यावहारिक कूटनीतिमा चिप्लन पनि सक्छन्। यसैगरी एउटा अनुभवी कूटनीतिज्ञले परराष्ट्र मामिलाका व्यापक आयामका बारेमा कलम चलाउने क्षमता नराख्न पनि सक्छ। मधुको ‘नेपाल वल्र्डभ्यु’को सरसर्ती अध्ययन गर्दा उनी नेपालको परराष्ट्र मामिलाका यस्ता दुर्लभ बीज हुन् जो आफ्ना कूटनीतिक अनुभवका कथाव्यथाहरूलाई आकर्षक शैलीमा प्रस्तुत गर्न सक्षम छन्।
मधुरमण आचार्यको ‘नेपाल वल्र्डभ्यु’ बाह्य जगत्का लागि नेपालको इच्छा र विवेकसहितको पहिचानको थाइमस हो।
अन्तर्राष्ट्रिय सम्बन्धका साहित्यहरूमा भारत र चीनलाई हात्ती र ड्रागनको रूपमा चित्रित गरिन्छ। डेविड मलोनले भारतीय परराष्ट्रका विषयमा एउटा रोचक पुस्तक लेखेका छन्। भारतीय परराष्ट्रको विषयमा लेखिएको उक्त पुस्तकमा उनले भारतलाई हात्तीको रूपमा चित्रण गर्दै अन्तर्राष्ट्रिय मञ्चमा के हात्ती नाच्न सक्छ ? भनी उसको अन्तर्राष्ट्रिय भूमिकाको आकलन गरेका छन्। कूटनीतिमा टेढो आँगनलाई दोष दिने छुट नहुन सक्छ। हात्ती, बाघ, भालु, ड्रागन जे भए पनि उपलब्ध आँगनमा नाच्न जान्नै पर्छ। नजाने रणनीतिक परिबन्धमा फँसिन्छ। मधुले पुस्तकमा हात्तीलाई आफ्नो घरभित्रको कोठामा पाउँछन्। सँधियारबाट घरभित्र प्रवेश गरेको हात्तीले घर मालिकलाई अत्याउँछ तर घरमालिकले उक्त भीमकाय हात्तीको गृह प्रवेशलाई बेवास्ता गर्न नसकेको अनुभव छ मधुको पुस्तकमा। दिल्लीस्थित हात्तीका फरकफरक माउतेहरूसँग काठमाडांैका घर मालिकहरूले गरेको संवाद विवाद सन्धि सम्झौताहरूबारे बेली विस्तार गरिएको छ पुस्तकमा।
जवारलाल नेहरूले नेपालमाथि अन्य मुलुकहरूले गर्ने आक्रमणलाई भारतमाथिको आक्रमण मान्छ भनी गरेको टिप्पणीलाई बीपी कोइरालालाई नेपालको सम्प्रभुतामाथिको हस्तक्षेप भनी ठाडै खारेज गरिदिएका छन्। नेपाल भारत सम्बन्धमा केही वर्ष पहिलासम्म लक्ष्मणरेखा मानिएको सन् १९५० को मैत्री सन्धिको पुनरावलोकनको आफ्ना भारतीय समकक्षीसँग कुरो उठाएर मनमोहन अधिकारीले नेपाल भारत सम्बन्धमा एउटा नयाँ मापदण्डको सुरुआत गरेका थिए। अहिलेका प्रधानमन्त्री केपी ओलीले भारतले नेपालको वर्तमान संविधानलाई मान्यता नदिएको भन्दै भारत भ्रमणमा रहँदा संयुक्त विज्ञप्तिमा हस्ताक्षर गर्न अस्वीकार गरेका थिए। यी यस्तै बग्रेल्ती प्रसंगहरूको सँगालो छ पुस्तकमा। नेपाल भारत सम्बन्ध ‘विशिष्ट’ नभए पनि ‘अनुपम’ भएको भने स्वीकार गर्छन् मधु।
परराष्ट्र मामिलाको सञ्चालन जटिल एवं विरोधाभाषयुक्त विषय हो। अन्तर्राष्ट्रिय शक्ति सन्तुलन र त्यसले भूराजनीतिमा पार्ने प्रभावहरू ज्यादै नै अस्पष्ट जटिल एवं कहिलेकाहीँ घातक पनि हुन सक्छन् भन्ने उदाहरणको अनुभव नेपाल आफैंले पटकपटक नाकाबन्दी जस्तो जटिल परिस्थतिको सामना गर्दै भोगेको छ। भूराजनीतिको जटिल परिस्थितिमा नेपालले बदलिँदो क्षेत्रीय तथा अन्तर्राष्ट्रिय शक्ति सन्तुलनलाई हेक्का राख्दै आफ्ना राष्ट्रिय स्वार्थहरूको रक्षा गर्नु नै परराष्ट्र नीतिको मूल उद्देश्य हो। नेपाललाई भारतले तीनतिरबाट घेरेको प्रसंग उल्लेख गर्दै सतर्कतापूर्वक उपयोग गरे भारत नेपालका लागि ‘कल्पवृक्ष’ हुने ठीक ढंगले उपयोग गर्न नसके ‘डसाहा हात्ती’ हुने मनसाय पुस्तक व्यक्त छ।
नेपालको राजनीतिक एवं कूटनीतिक वृत्तमा हात्तीको जति चर्चा ड्रागनको गरिँदैन। एक्काइसौं शताब्दीको ड्रागन भन्ने र सुन्ने गरिएको मस्त निद्रामा सुतेको ड्रागन होइन। सायद आवत्जावत लेनदेन एवं व्यापारले गर्दा हुन सक्छ नेपालमा हात्तीभन्दा ड्रागन कम चर्चित एवं कम विवादित देखिन्छ। विगतमा ड्रागनको मूल चासो नेपालको तिब्बतप्रतिको अवधारणा एवं तिब्बती शरणार्थीको क्रियालापहरूमा मात्र केन्द्रित थियो। अहिले निद्राबाट ब्युँझेको ड्रागनले लगानी, बेल्ट र रोड इनिसियटिभ (बीआरआई) मार्फत नेपालमा मात्र नभई क्षेत्रीय रूपमा दक्षिण एसियामा नै आफ्नो सशक्त उपस्थिति बढाउँदै लगिरहेको छ। नेपालको संवेदनशील भूराजनीतिक अवस्थितिले गर्दा काठमाडौंले बेइजिङसँंग गर्ने हरेक क्रियाकलापहरूलाई दिल्लीका माउते एवं उसका सहयोगीले गम्भीरतापूर्वक नियालिरहेका हुन्छन्।
सिगात्से हँदै काठमाडौंका लागि गुडाइएको चिनियाँ मालवाहक रेलको समाचारले नयाँ दिल्लीको साउथ ब्लकमा प्रत्यक्ष एवं परोक्ष तरंग सिर्जना गरेको छ। ड्रागनले नेपाली सेनासँगको संयुक्त सैनिक अभ्यासले सुरक्षामा चासो देखाउन थालेको संकेत गर्छ भने नेपालका राजनीतिक दलहरूका प्रतिनिधिसँग वार्ता गरी आन्तरिक राजनीतिका आयामहरूलाई गम्भीरतापूर्वक नियालिरहेको छ। काठमाडौंका घर मालिक र सारथिहरूलाई हात्ती र ड्रागनको नृत्यको नयाँ चालहरू बुझी त्यसलाई कूटनीतिक रूपमा व्यवस्थापन गर्ने गम्भीर चुनौती छ। अझ यसै माथि ‘अंकलसाम’को व्यापारमा गुमेको साखलाई नेपालमार्फत सगरमाथाको चुचुरोबाट ड्रागनको अन्डरबेली (तिब्बत) मा प्रहार गरी बदला लिन खोज्ने रणनीतिक चाल चालेमा त्यसबाट उत्पन्न परिस्थितिले काठमाडौंका घरमालिक एवं उसका सारथिहरूलाई आकुलव्याकुल पारिदिन सक्दछ।
अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यमान शक्ति सन्तुलनले राष्ट्रहरूबीचको सम्बन्धलाई दिशा निर्देश गर्छ। अन्तर्राष्ट्रिय सम्बन्धमा विचारधाराभन्दा राष्ट्रिय स्वार्थको हावी बढी रहन्छ। शीत युद्घताकका दुई ‘साम्यवादी’ राता मुलुकहरू चीन र सोभियत संघ एकआपसका विरोधी पक्षहरूमा उभिन पुगे भने ‘लोकतान्त्रिक’ भारत र ‘समाजवादी’ सोभियत संघको गहिरो सम्बन्ध बन्यो। शीत युद्धपश्चात एकातिर रूस र चीन नजिकिँदै गइरहेका छन्। संयुक्त राज्य अमेरिका र भारतबीचमा गैरसैनिक न्युक्लियर प्रविधिको हस्तान्तरणमा सहमति भइसकेको छ। कतै यस्ता बदलिँदा अन्तर्राष्ट्रिय एवं क्षेत्रीय शक्ति सन्तुलनले अनिष्टका बाछिटाहरू सिर्जना गर्ने त होइनन् भनी विज्ञहरू आशंका गरिरहेका छन्। सन् २०१७ को मध्यतिर भुटानको सीमा डोकलाममा भारत र चीनबीच झन्डै युद्घको जस्तो भयावह स्थितिको सिर्जना भयो।
केही सामरिक विज्ञहरूको तर्कलाई मान्य हो भने डोकलामको उक्त घटना भारत र चीनबीचको सीमा विवाद मात्र नभई सामरिक शक्ति परीक्षण अभ्यास पनि थियो। काठमाडौंका सिंहदरबारभित्रका घरमालिक एवं सारथिहरूलाई डोकलामको उक्त पराकम्पनको अनुभूति पक्कै राम्रोसँग भएको हुनुपर्छ। हुन त यस विवादलाई दुवै देशले कूटनीतिक वार्तामार्फत अस्थायी समाधान खोजी सकेका छन्। भारतले चीन मामिलामा राम्रो पकड भएका विज्ञ विजय गोख्लेलाई विदेश सचिवको जिम्मेवारी सुम्पेको छ। उक्त घटना कूटनीतिमा ‘ड्यामेज कन्ट्रोल’को एउटा महत्वपूर्ण पाठ थियो। परराष्ट्र मामिला र कूटनीति यस्तै विश्वास, अनिश्चितता, आस र त्रास सामना गर्दै अघि बढ्छ। यस प्रकारका अनिश्चितता सामना गर्ने के नेपालसंँग यथेष्ट जनशक्ति, स्रोत, साधन, संरचनाहरू र संयन्त्र छन् ?
फ्रान्सिस फुकुयामाले बारम्बार आफ्ना पुस्तक तथा आलेखहरूमा एउटा ग्रिक शब्द ‘थाइमस’ प्रयोग गर्छन्। ‘थाइमस’ लाई मानवीय आत्माको तेस्रो भाग मानिन्छ। ‘थाइमस’ ले व्यक्तिभित्रको आत्मसम्मान एवं स्वाभिमानको खोजीलाई जनाउँछ। पहिचानको राजनीतिमा ‘थाइमस’ को प्रयोगबारे प्रशस्त बहस गर्न सकिएला। अन्तर्राष्ट्रिय सम्बन्धमा यसको प्रयोगले झनै छुट्टै बहस पनि निम्याउन सक्ला। फुकुयामाको सबै विचारसँंग सहमति हुन पनि नसकिएला।
विचार मन्थनको राजनीतिमा यो एउटा सामान्य कुरा हो। मधुको ‘नेपाल वल्र्डभ्यु’ बाह्य जगत्का लागि नेपालको इच्छा र विवेकसहितको पहिचानको खोजी (थाइमस) हो। यस पुस्तकले बाह्य जगत्मा नेपाललाई पहिचान गराउन मद्दत गरेको छ। यसको अध्ययनले बाह्य जगत्लाई नेपालसँंग राजनीतिक, आर्थिक एवं कूटनीतिक सम्बन्ध कायम गर्न सहजीकरण गरिदिएको छ। तर यसले नेपाललाई बाह्य जगत्सँंग द्विपक्षीय एवं बहुपक्षीय सम्बन्ध कायम गर्दा ती राष्ट्रहरूको स्वाभिमान, आत्मसम्मान एवं सीमाहरूको ख्याल राख्न पनि पे्ररित एवं सतर्क गरेको छ।
डेविड मलोनले आफ्ना पुस्तकमा भारतको परराष्ट्र एवं सुरक्षा मामिलामा कलम चलाउने विज्ञहरूको संख्या झन्डै २० को वरिपरि रहेको आकलन गरेका छन्। यो आकलन उनको सन् २०११ मा प्रकाशित पुस्तक ‘डज एलिफेन्ट डान्स ? ’ मा उल्लेखित छ। यो तथ्यांकलाई आधार मान्ने हो भने नेपालको परराष्ट्र एवं सुरक्षा मामिलामा कलम चलाउने विज्ञहरूको संख्या ज्यादै न्यून छ। परराष्ट्र मामिला जस्तो जटिल एवं गम्भीर विषयमा झन्डै आठ सय भन्दा बढी पृष्ठमा कलम चलाउनु ज्यादै नै चुनौतीपूर्ण कार्य हो। यस्तो जटिल एवं चुनौतीपूर्ण विषयलाई मधुले अंग्रेजी शब्द प्रयोगको शिल्पले ज्यादै सरलीकरण एवं पठनयोग्य गरिदिएका छन्। ‘दि इलिफेन्ट इन द रुम’, ‘इन्टर द ड्रागन’, ‘दि अम्निपोटेन्ट अंकल साम’, ‘फर्म मुनसिस टु मेन्डारिन’ ‘द प्रिजनर अफ जियोग्राफी’ आदि काव्यात्मक एवम लयात्मक शैलीका वाक्यांशहरूको प्रयोगका केही उदाहरण मात्र हुन्।
अड्रोइटले प्रकाशन गरेको यो पुस्तकको मूल्य सामान्य नेपाली पाठकका लागि क्षमताभन्दा बाहिरको छ। दुई भागमा एउटै शीर्षकमा लेखिएका दुई पुस्तकहरूले पाठकलाई सुरुमै झन्झट दिन्छ। पुस्तकको शीर्षकले आम पाठकलाई पुस्तकप्रति आकर्षण र विकर्षण दुवै गर्न मद्दत गराउँछ। रामचन्द्र गुहाले महात्मा गान्धीको जीवनीलाई दुईटा पुस्तकका छुट्टाछुट्टैै शीर्षकमा लेखेका छन्। पहिलो पुस्तक ‘गान्धी विफोर इन्डिया’ हो भने दोस्रो पुस्तक ‘गान्धीः दि इयर्स दैट चेन्ज्ड द वल्र्ड’ हो। यस पुस्तकलाई पनि दुई छुट्टाछुट्टैै विषयमा केही समयको अन्तराल गरी प्रकाशित गरेका भए पाठकहरूलाई सजिलो हुने थियो।
संयुक्त राष्ट्रसंघका पूर्वसहायक महासचिव कुलचन्द्र गौतमको आत्मकथा ‘ग्लोबल सिटिजन फ्रम गुल्मीः माई जर्नी फ्रम हिल्स अफ नेपाल टु द हल्स अफ युनाइटेड नेसनस्’ लाई अमेरिकाको बेन्ट्ली विश्वविद्यालयले आफ्नो पाठ्यक्रममा संलग्न गराएको छ। नेपालको परराष्ट्र एवं कूटनीतिक मामिलाको व्यापक आयामलाई समेटेर तार पारिएको मधुको महत्वपूर्ण पुस्तकलाई पाठ्य सामग्रीमा राख्न नेपालका कुनै विश्वविद्यालय तयार होलान् ?
विश्वका महत्वपूर्ण देशमा शक्तिशाली एवं प्रभावशाली राष्ट्रका परराष्ट्र मन्त्रालयको नेतृत्व कसले लिन्छ ? उसको पृष्ठभूमि के हो ? ती व्यक्तिहरूको चयनले आफ्ना देशका आन्तरिक एवं
बाह्य नीतिहरूलाई कसरी प्रभाव पार्छन् ? भनी चनाखो एवं सतर्कताका साथ अध्ययन र अवलोकन गरिन्छ। नेपालको हकमा भने मन्त्रालय बाँडफाँडको क्रममा परराष्ट्र मन्त्रालय कम प्राथमिकतामा पर्छ। यस्तो परिवेशमा अन्तर्राष्ट्रिय मामिलामा चासो राख्ने राजनीतिक नेतृत्व एवंं पाठकहरूले पढ्नै पर्ने यो पुस्तक पढिसकेपश्चात् कौतुहलता जगाउने प्रश्न होः ‘के नेपाललाई विदेश नीति आवश्यक छ ?’
@Krishna04134696 पोखरा मल्टिमोडल क्याम्पसका प्रमुख हुन्।