मतपेटिका लिएर टावरमुनि लुक्दा
नेपालको पहिलो र ऐतिहासिक राष्ट्रिय जनमतसंग्रह। यसमा प्रत्यक्ष भोगेका दिनहरूको सम्झना र रोचक सन्दर्भ मेरा आँखाअगाडि नाचिरहन्छन्। पाकिस्तानी राष्ट्रपति जुल्फिकार अलि भुट्टोलाई फाँसीको सजाय, त्यसको लगत्तै विद्यार्थीको आन्दोलन, राजनीतिक व्यवस्था परिवर्तनको माग गर्दै सम्भवत : संख्यात्मक दृष्टिले २००७ सालपछि सडकमा उत्रिएको सबैभन्दा ठूलो जनसमुदाय अनि लगत्तै राष्ट्रिय जनमतसंग्रहको घोषणा।
निर्वाचनको परिणामबारे जे जस्तो प्रतिक्रिया भए पनि त्यो समयमा जनतामा देखिएको उत्साह, जनसहभागिता, जनमतसंग्रहप्रति जनताको प्रतिबद्धता अभूतपूर्व थियो। सैद्धान्तिक दृष्टिले समेत हेर्दा पञ्चायतकालको त्यो जनमतसंग्रहको बेला सबैको एउटै सोच थियो— देशमा ठूलै राजनीतिक परिवर्तन आउने छ र देशको राजनीतिक परिवेशले फड्का मार्ने छ।
अहिलेको जस्तो सशक्त समाज, सशक्त मिडिया र सबै कोणबाट हेर्दा पूर्ण रूपले तयार माहोल पनि थिएन, विकसित र सजिलै उपलब्ध सञ्चार प्रविधि पनि थिएन, न त थियो आज जस्तो सुशिक्षित र उन्मुक्त अनुभव गर्ने नयाँ पुस्ता ! सबैमा केही कौतूहल र केही अन्योल थियो ! राजाको आफू निष्पक्ष बस्ने प्रतिबद्धताको व्यापक प्रचार भए पनि पञ्चायतका समर्थकले राजालाई आफ्नो पक्षको पर्यायवाची भनी कुर्लिरहँदा चुपचाप बसिदिँदा सिर्जना भएको विरोधाभास पनि थियो।
जनमतसंग्रहको घोषणा हुनासाथ तयारीको सिलसिलामा सरकारी कर्मचारीहरूलाई जनमतसंग्रह सम्पन्न गराउन धेरै निर्णय भए। तीमध्ये एउटा थियो— सम्पूर्ण देशभरि विभिन्न जिल्लामा कर्मचारीलाई काजमा खटाउने।
यो कुराको निधो गर्न मुख्य सचिव कर्णध्वज अधिकारीको कार्यकक्षमा सरकारका सचिवहरूलगायत उच्च अधिकारीहरूको बैठक भएको थियो, जसमा तत्कालीन परराष्ट्र सचिव जगदीशशमशेर राणा पनि सहभागी थिए। कुन मन्त्रालयबाट कति र कहाँ कहाँ खटाउने विषयमा बैठक चलिरहेका बेला कुरै कुरामा एक जना सचिवले हल्का र व्यंग्यात्मक हुने गरी प्वाक्क भनिदिनुभएछ, ‘अरू मन्त्रालयको कुरो गरौं न, परराष्ट्र मन्त्रालयका कर्मचारी कहाँ पहाडका कुना कन्दरा जान मान्छन् र ! विदेशतिर सुविस्तासाथ उड्ने कुरा जस्तो हो र ? ’
परराष्ट्र सचिव राणालाई सही नसक्नु भएछ। तुरुन्तै जवाफ दिएछन्, ‘लौ ! म मन्त्रालयका ४२/४३ जना कर्मचारीमध्ये कम्तीमा २५ जनालाई यो बैठकले निर्णय गरेको दुर्गम क्षेत्रमा पठाइदिन्छु। के सोच्नुभएको छ, मेरा कर्मचारीहरू देशभित्र बसेर कामै गर्न सक्दैनन् कि क्या हो ? ’
यसरी परराष्ट्र मन्त्रालयबाट तत्कालीन उपसचिव यादवकान्त सिलवालको नेतृत्वमा १७ अधिकृत र आठ कर्मचारीको टोलीलाई खोटाङमा मतदान सञ्चालन गर्न खटाउने निर्णय भएको थियो। त्यो दिन सचिव राणाले मन्त्रालय फर्कनासाथ हामी सबैलाई भेला गरेर अत्यावश्यक कामका लागि बाहेक प्रत्येक शाखामा कामचलाउ रूपमा न्यूनतम कर्मचारी रहने र सकभर सबैले चुनावको निमित्त काजमा जानैपर्ने निर्णय सुनाएका थिए।
प्रोटोकल विभाग र तत्काल नेपालभित्र द्विपक्षीय भ्रमण तय भइसकेका देश हेर्ने शाखाहरू बाहेकका सबै कर्मचारी अनिवार्य काजमा जानैपर्ने भन्ने त्यो निर्णय तत्कालीन परिवेशमा हाम्रा निमित्त वास्तवमा अप्रत्याशित नै थियो। हामीमध्ये धेरैले सकभर उम्किने प्रयास गरे पनि सचिव र अरू उच्च तहबाट कसैको सुनुवाइ नै भएन !
ठट्टैठट्टामा नामकरण भएको ‘रामबहादुर’ले ठूलै बहुदलवादी नेताको पगरी गुथ्न पुगेको थियो। स्कुलभन्दा केही पर भञ्ज्याङमा चार टिन रक्सी खपत भएको खबर फैलिएपछि हामी टावरको मुनि मतपेटिका लिएर लुक्यौं।
जागिरमा प्रवेश गर्नुअघि मैले काठमाडौं खाल्डो दुई/चार पल्ट मात्र छोडेको थिएँ। सानुबुवाको ट्रकको फ्रन्ट सिटमा बसेर वीरगन्ज र नारायणगढ काटेको थिएँ। केही वर्षपछि सरकारी संस्थानमा कार्यरत हुँदा पनि कामको सिलसिलामा धेरैपल्ट हवाई मार्गबाटै घुम्ने हुँदा त्रिभुवन राजपथ भई हेटौंडा, वीरगन्ज, विराटनगर एकाधपल्ट रसियन जिप र ल्यान्ड रोभरमा गएको बाहेक बसको यात्राको अनुभव थिएन मेरो ! मलाई लाग्छ, काठमाडौंवासी मेरा धेरै तत्कालीन सहकर्मीहरूको अवस्था लगभग मेरोजस्तै थियो वा अझ काँचो थियो।
खोटाङ जाने क्रममा काठमाडौंबाट विराटनगरसम्म बसमा र त्यसपछि शाही नेपाल वायुसेवाको टिन अटर जहाजमा खोटाङको लामीडाँडासम्मको जाने कार्यक्रम बनेको थियो। त्यही ठाउँमा जाने अन्य कार्यालयका कर्मचारीहरू एक दिनमै विराटनगर पुगे पनि हाम्रो समूह भने बीचमा एक रात हेटौंडामा बिताएर दोस्रो दिन मात्र विराटनगर पुग्यौं। त्यहाँ सबै जना यताउति छताछुल्ल भइयो। कोही सहकर्मी तेजप्रसादको घर, कोही धर्मशाला, कोही होटेल र मचाहिँ साझा स्वास्थ्य सेवामा कार्यरत आफ्नो एक जना गाउँले मित्रको डेरामा बसेँ। आफू अलग्गै गएर बसेकाले अघिल्लो साँझ सबैले रमाइलो गरेको सुन्दा मनमा चौ चौ लागेर आएको थियो, तर के गर्ने ?
लामीडाँडा पुगेपछि त्यहाँ कार्यरत शाही नेपाल वायुसेवाका पूर्णिमान तपोलजी, एरोड्रम अफिसर गोविन्द राजभण्डारीजी र स्थानीयसँग सामान्य भलाकुसारी भयो। त्यसपछि त्यहाँको एउटा दोबाटोमा लाहुरेहरू बस्ने होटलमा खाना खाइवरी सबैजना दिक्तेलतिरै लागियो। दिक्तेलसम्मको चार/पाँच घण्टाको हिँडाइमा गोपीनाथजीको गलाबाट निस्किएको जनार्दन समको मीठो गीत, पुरुषोत्तमजी र माधव खनालजीको उपद्रै हँसाउने एकअर्काप्रतिको व्यंग्यात्मक टिप्पणीले खुब हाँसियो पनि ! अनि थप दुई/चार जना वरिष्ठ सहकर्मीहरूको आकाश पाताल जोर्ने हलुका गफको प्रसंग सुन्दासुन्दै समय बितेको पत्तै पाइएन ! दिक्तेल जाने ओरालो बाटो झर्दा हामी पाँच जना पछाडि पर्यौं, त्यसको पनि फाइदै भएछ ! पानी पिउन एउटा घरमा पसेका थियौं, छोरा र नातिसमेत ब्रिटिस गोर्खामा जागिरे भएका परिवारको घर पो परेछ। घर रुँगेर बसेकी बूढी लाहुरेनी आमाले हातले माडेर घिरौंलाको जालीमा छानेको कोदोको तोङा र पिरो कुखुराको मासु, गुन्द्रुकको दाल, रायोको सागसँग धीत मर्ने गरी खुवाइन्, पहिले बाटोमा तिरेको भन्दा सस्तो दाममा र स्वादिलो पनि !
खाना खाएर दिक्तेलतिर झर्दा इन्द्रनारायणजीको सौजन्यबाट प्रसादझैं पाइएको गुलियो गुलियो लाग्ने पानको पेय पदार्थको पिचकारी र एकछिनअघि पिएको तोङ्बाको रन्कोमा सदरमुकाम दिक्तेल पुगिएको पनि पत्तै भएन !
दिक्तेल पुग्नासाथ एक पटक को को आइपुगे, को को आउँदै छन् भन्ने रोलकलजस्तै लिने काम भएपछि टोली नेताको पछि लागेर सबैजना निर्वाचन अधिकृत न्यायाधीश ज्ञाइन्द्रबहादुर श्रेष्ठ र प्रमुख जिल्ला अधिकारी परशु प्रधानसँग भलाकुसारी गर्न गयौं। मैले दुवै जनालाई पहिले चिनेकाले निर्वाचनका बेला आपूmले भनेको केन्द्रमा जान पाइएला कि भनेर म दंग परेँ। तर न आफूलाई खोटाङबारे केही थाहा थियो, न त त्यहाँको परिवेश र कुन ठाउँ राम्रो भन्ने ज्ञान ! त्यसपछि प्रमुख जिल्ला अधिकारी परशुजीले परराष्ट्रमा साथीहरूलाई त्यहाँको ‘सबैभन्दा राम्रो मानिएको लयालु होटलमा बन्दोबस्त गरिदिएको छु’ भन्नुभएकाले हामी त्यतैतिर लाग्यौं। लयालु होटलमा २५ जनालाई छाकको आठ रुपियाँमा मासु भात, अनि बसेको चाहिँ जिल्ला प्रमुखको सिफारिसमा नि :शुल्क !
हाम्रो मन्त्रालयका २५ जनाको समूहभित्र त्यति बेलासम्म उमेर, वरिष्ठता, छरछिमेक, समुदाय आदि विभिन्न कारणवश ६/७ वटा अनौपचारिक उपसमूह पनि बनिसकेको थियो। तर कतैतिर पनि नढल्किएका हामी भर्खरै परराष्ट्र मन्त्रालय छिरेका तीन जना ‘नयाँ सदस्य’ पनि थियौं।
गर्मी, खानपिन र अन्य कारणले काठमाडौं छोडेको दुई दिनमै एक दुई जना साथीभाइले नुन खाएको कुखुराजस्तो मुख लाउन पनि थालिसकेका थिए। लामीडाँडादेखि दिक्तेलसम्मको कठिन र हाम्रा लागि लामो हिँडाइमा कसैको घुँडामा त, कसैको गोलीगाँठामा घाउ, अनि कसैको पिडौंलातिर काँढाले कोरेको थियो। हिँड्ने बेलामा मेरा मित्र एवं स्वास्थ्यकर्मी इन्द्रभक्त साख :ले सामान्य रुघाखोकी, दम, पेटको बिमारी हुँदा काम लाग्ने औषधि, भिटामिन, आयोडिन र वेन्जिनको झोल, एन्टासिड आदि थुप्रै औषधि दिएर पठाएका थिए। त्यसले गर्दा केही दिनमै म त्यहाँ सानोतिनो चल्ती डिस्पेन्सरीको डाक्टर भएको थिएँ। पुगेकै दिन खाने ठाउँमा मलाई वरिष्ठ साथीभाइरूले ‘डाक्टर बाबु’, ‘बिहे नभएको केटो’ आदि भनेर जिस्क्याइदिएकाले पनि होटलका मालिक, कामदार र आवतजावत गर्ने मानिस पल्याकपुलुक मलाई हेर्ने गर्थे रे। दुई/तीन दिनपछि त ‘गाउँले पनि डाक्टर साहेब, यस्तो भयो, उस्तो भयो’ भन्न आउन थालेका थिए।
हामीहरू सबै नै हाँसो ठट्टा गर्न रमाउने भएकाले त्यो बेला समूहमा केही प्रतीकात्मक शब्द पनि जन्मिएका थिए। सबैभन्दा चाखलाग्दो सन्दर्भ रामबहादुर भन्ने नाम थियो। जुनसुकै विषय वा कुरा उठ्दा पनि रामबहादुर भन्ने तुक्का जोड्ने। चुनावको कुरा उठे पनि रामबहादुर, मर्निङ वाक गर्नुपर्यो रामबहादुर, हुँदा हुँदा पिसाब च्याप्यो भने पनि ‘रामबहादुरले पेलेर ल्यायो’ भनेर जिस्कँदा जिस्कँदै दुई/चार दिनपछि त रामबहादुर भन्ने नाम नै हिजोआजको भाषामा ‘भाइरल’ भएछ !
दिक्तेल बजारमा ‘रामबहादुर भन्ने बहुदलको ठूलो नेता रहेछ’, ‘परराष्ट्र मन्त्रालयका कर्मचारी सबै नै बहुदलका समर्थक रहेछन्’ आदि आदि गाइँगुइँ हल्ला फैलिएछ। त्यसपछि त हाम्रो पूरै समूह सबैको तारो भयो— राम्रो र नराम्रो दुवै प्रसंगमा ! यहाँसम्म कि, पछि हामीलाई थाहा भयो— प्रमुख जिल्ला अधिकारीदेखि प्रहरी, शाही सेना, गुप्तचर विभाग आदि सबै निकायका प्रतिनिधिले ‘परराष्ट्र मन्त्रालयका कर्मचारी रामबहादुर उपनाम भएको कुनै बहुदलवादी नेताको अनन्य भक्त रहेछन्, त्यसैले उनीहरूमाथि कारबाही हुनुपर्छ’ भन्ने खालको प्रतिवेदन आ–आफ्ना केन्द्रीय निकायमा पठाएछन्।
फलस्वरूप जनमतसंग्रह सकिएको धेरै समयपछिसम्म हाम्रा हाकिम परराष्ट्र सचिव जगदीश राणाले स्पष्टीकरण दिनु परेको थियो, आफ्ना कर्मचारीले कसैको पक्ष लिएका थिएनन् भनी तरफदारी गरेर। यसरी कहाँ ठट्टैठट्टामा नामकरण भएको ‘रामबहादुर’ले यसरी ठूलै बहुदलवादी नेताको पगरी गुथ्न पुगेको थियो !
पहिलो राष्ट्रिय जनमतसंग्रहको घोषणा तत्कालीन स्थितिमा हतारमै भएको थियो। हामीले गाउँमा गएर पन्ध्र दिन निर्वाचन र मतदानबारे अभिमुखीकरणको कार्यक्रम सञ्चालन गर्ने जिम्मेवारी पनि पाएका थियौं र यसको लागि हामी प्राय : गाउँका स्कुल परिसर, चौतारी वा भञ्ज्याङहरूमा मतदाताहरूलाई भेला गराउँथ्यौं। गाउँ पञ्चायतका पूर्वपदाधिकारी र निर्दलीय व्यवस्थाका पक्षधरहरूले पनि आफ्नै भेला गर्ने र जिल्लाका केही गाउँहरूमा फाट्टफुट्ट कलेजका शिक्षक र विद्यार्थीले पनि बहुदलको पक्षमा आफ्ना कार्यक्रम आयोजना गर्थे।
त्यो बेलाको परिस्थिति समष्टिमा विचार गर्दा बहुदलवादीलाई निर्वाचनको प्रचार कार्यक्रम गर्न गाह्रै थियो, संस्थापन पक्षका समर्थकहरूले खार्पाका एकजना बहुदलवादी पूर्व राष्ट्रिय पञ्चायत सदस्यलाई जबर्जस्ती जुत्ताको माला लगाएर घुमाएको र पञ्चायत छोडेर बहुदलको पक्षधर हुन पुगेका एक जना उपप्रधानपञ्चलाई कुटपिट गरिएको जस्ता थुप्रै घटनाको प्रत्यक्षदर्शी हुँदा मैले त्यसको आभास पाएको थिएँ। एउटा नयाँ अनुभव पनि भयो मलाई— किरात क्षेत्र विकासको पूर्वाधारमा पिछडिएको भए पनि अरू सबै कुराले अन्य क्षेत्रभन्दा कम रहेनछ, विशेष गरी सामाजिक चेतना र सोचको दृष्टिमा। दुर्गम ठाउँ र न्यूनतम सुविधामा बाँचेका आफ्नै जीवनपद्धति रुचाउने उनीहरू हामीलाई पनि शंकाको दृष्टिले हेर्थे।
म लामीडाँडामा परेको थिएँ। अन्य कुनै सजिलो र भरपर्दो सञ्चार सुविधा नभएको बेला त्यहाँबाट टावरमार्फत घरमा फोन गर्न लगाउने र घरको खबर लिन सकिन्थ्यो ! हाम्रो टोलीमा मसमेत परराष्ट्र मन्त्रालयकै एक जना लेखाको काम गर्ने साथी, एक जना भूपू असई, एक जना भूपू सैनिक र स्थानीय एकजना सहयोगी थियौं। बस्ने व्यवस्था नेपाल वायुसेवाका तपोलजीको व्यक्तिगत प्रयासमा एक जना होटेलवालाले उनकै होटेलमा खानुपर्ने सर्तमा एउटा सानो कोठा र सँगैको गोठमा गरिदिएकाले डेराको व्यवस्था पनि भयो। काठमाडौंबाट हिँड्ने बेला परराष्ट्र सचिवले कसैको पनि अर्थात् बहुदल वा पञ्चायत व्यवस्था समर्थकको समेत आतिथ्य नलिनू र जहाँ बसे पनि पैसा तिरेरै बस्नू भन्ने आदेश दिएका थिए। त्यसैले पनि न स्थानीय व्यक्तिहरूले सल्लाह गरेर तय गरेको ठाउँमा बसियो, न त विदुर पौडेल दाइका एक सहयोगीको आग्रह स्वीकार गर्न मिल्यो।
लामीडाँडा पुग्नासाथ मतदान क्षेत्रका सबै ठाउँ घुम्नुपर्ने, स्वयंसेवक छान्नुपर्ने र मतदानका लागि बुथ निर्माण गर्नुपर्ने काम तत्काल सुरु गरिहाल्नुपर्ने भएकाले एक किसिमको चटारो नै थियो। पुगेकै दिन साँझमा स्थानीय विद्यालयमा सम्पर्क गरेर बुथ त्यहीँ बनाउने र अन्य आवश्यक निर्माण सकिएपछि उब्रने रकम विद्यालयलाई चन्दा दिने सर्तअनुसार शिक्षक केदार भट्टराईले जिम्मा लिए। निर्वाचन आयोगले बुथ बनाउने अन्य तयारीका लागि उपलब्ध गराएको रकम केदार भट्टराई र उनका सहयोगीको जिम्मा लगाएपछि मलाई धेरै हल्का अनुभव भयो।
खोटाङ जिल्लामा मतदानको पूर्वसन्ध्यासम्म पनि जनमतसंग्रहको दिन एकाध ठाउँमा पञ्चायत र बहुदल दुवै पक्षबाट चुनाव बिथोल्ने, मतपेटिका लुट्ने वा लुट्ने प्रयास गर्ने, निर्वाचनमा खटिएर आएका कर्मचारीलाई धम्क्याउने, दबाब दिने जस्ता काम भएको र एक/दुई ठाउँमा दोहोर्याएर निर्वाचन गर्नुपर्ने र स्थगन नै गर्नुपर्ने अवस्था आए पनि औसत रूपमा मतदान निर्बाध रूपमा सम्पन्न भएको थियो।
सूचनाको सम्प्रेषण अहिलेजस्तो सरल र विकसित भइसकेको थिएन। मतदानको दिनसम्म पनि दुवै पक्षको आ–आफ्नै रट थियो, निर्दलवादीहरूले पहेँलो रङ अर्थात् ‘निर्दल भनेको राजा’ र नीलो अर्थात् ‘बहुदल दल भनेको बीपी कोइराला’ भन्ने हल्ला पनि चलाएका थिए। गाउँतिर नीलो रङको पनि आफ्नै कथा थियो। बहुदलको र भएकाले हामीजस्तै निर्वाचन गराउने जिम्मेवारी लिएका कसैले नीलो कमिज लगाउँदा संवेदनशील हुने स्थिति पनि आइपुगेको थियो। प्रधानपञ्चको दबाबमा निर्वाचनको दिनसम्म भए पनि मैले दाजुले अमेरिकाबाट ल्याइदिएको आफ्नो एउटा मन पर्ने नीलो रङको कमिज थन्काउनैपर्ने भएको थियो।
अभिमुखीकरणको सिलसिलामा मतदाताहरूलाई सिकाउन आफ्नो क्षेत्रको भ्रमण पनि सहज थिएन। जतिसुकै उत्साहित भए पनि मतदान भएको दिन अविरल वर्षा र आँधीबेहरीले गर्दा मतदातालाई आवतजावत गर्न निकै गाह्रो परेको थियो। वैशाखकै दिन भएर पनि जाडोले कठ्यांग्रिएजस्तो भइयो। जतिवटा सूचना टाँस भए पनि त्यो दिन स्कुलभन्दा केही पर भञ्ज्याङमा चार पाथी जाने चार टिन रक्सी खपत भएको खबर फैलिएपछि हामी सबै डरायौं। अन्त्यमा आफ्नो टोली र मतपेटिका लिएर टावरमुनि हलमा सुरक्षासहित लुकियो। मचाहिँ त्यही हलमा सबैलाई ताला लगाएर साँचो लिई हवाई स्थलको अर्को छेउमा रहेको एरोड्रम अफिसर गोविन्दजीको सरकारी डेरामा सुत्न गएँ।
मतपेटिका सुरक्षित रूपमा स्थानीय प्रशासनलाई जिम्मा लगाउन सकिन्न कि भन्ने चिन्ताले कम्युनिकेसन अधिकृत गोविन्दजी र म रातभरि लगभग जाग्राम बस्यौं, राति निकै अबेरसम्म हवाईस्थल पारिको हल्ला सुनिरह्यौं, दुई पक्षबीचको विवादमा धेरै डाङडाङ डुङडुङ पनि भएछ। कसैलाई सामान्य चोटपटक पनि लागेछ। पूर्वसचिव राधेश्याम भट्टराईका पिताजीलाई त भाग्दै रावा खोलापारि पुग्नु परेछ ! हाम्रो टोली फर्कने बेलासम्म पनि उहाँ उताबाट फर्कनुभएको थिएन ! भोलिपल्ट बिहान ४ बजे नै सहयोगी साथीहरू र बहुदल र निर्दलका प्रतिनिधि जम्मा गरेर दिक्तेलतिर लाग्ने जोहो मिलाइदिने काममा नेपाल वायुसेवाका पूर्णमानजीले सहयोग गर्नुभयो। दिक्तेल मतदान केन्द्रपछि सायद मतपेटिका बुझाउने हाम्रै टोली थियो। मतदान दोहोरिएका केही केन्द्रहरूको पुन : मतदान सकेर हामी एक हप्तापछि फेरि लामीडाँडा हुँदै काठमाडौं फर्कियौं।
@madhuBTM276 का आठवटा कथा–किताब प्रकाशित छन्।