मेरो छोराका बाबुहरू !

मेरो छोराका बाबुहरू !

आज आमाको मुख हेर्ने दिन, म भने बाबुको मुख देखाउन बाध्य भएँ।


२०३९ पुस २९ गते घरबाट रामै्रसँग बिदा भएर गएको उसले कुनै चिठी–पत्र या खबर पठाएको थिएन। उसलाई परिवारको कुनै वास्ता नभएको कुरा त मैले पहिले नै थाहा पाइसकेकी थिएँ। त्यसकारण पनि मलाई खास फरक पर्दैनथ्यो। 

अकस्मात् बिनासूचना ऊ चैतको अन्तिम साता तीन महिनापछि घर आयो। त्यस बेला ऊ एउटा विदेशी र अनिल पौडेलसँग आएको थियो। म भान्सामा थिएँ। त्यस बेला हामीकहाँ पढ्दै घरको केही काममा सहयोग गरेर बस्ने गोपाल भाइ एसएलसीको जाँच दिन आएका थिए। त्यस दिन कवि गोविन्द विकल पनि पाहुना आएका थिए। उनीहरू दुवैजना र म खाना खाँदै थियौं। भान्सा छेउको कोठाबाट मञ्जुलले चुलामा चियायो। ऊसँगै एउटा विदेशीले पनि चियायो। मैले मञ्जुललाई देखेपछि खुसी हुँदै भनेँ, ‘खाना खान आउनोस्।’
‘मैले खाएरै आएँ’, उसले भन्यो।

उसको अनुहार तमतमाउँदो थियो। सायद यात्राको थकानले होलाजस्तो लाग्यो। खाना उसले खानलायक थिएन पनि। मोटा चामलको भात, पातलो दाल, बारीमा फलेको तरकारी अनि अचारबिनाको भान्सा। अचार नबनाएको बेला उसले भनेको सम्झना हुन्थ्यो घरिघरि मलाई— गुहुको भए पनि अचार बनाऊ। ‘मञ्जुल बी स्ट्रोङ,’ ऊसँग आएको विदेशीले भन्यो। मैले अस्पष्ट सुनेँ। ऊ भर्‍याङ बजाउँदै ओर्लिएको थियो। 
महिनौंपछि लोग्ने आएको। म खुसी नहुने कुरै थिएन।  मलाई त स्कुल जान हतार पनि थियो। तर घरबाट भाग्न मभन्दा ऊ नै हतारिएको जस्तो थियो। उसको हाउभाउ र अनुहार सामान्य देखिरहेकी थिइनँ। तमतमाउँदो रातो अनुहार अनि ओठ सुकेका। 

तर पनि मलाई उसको दिमागमा चलिरहेको भयानक षड्यन्त्रको गन्ध आएको थिएन। रातभरिको यात्राले थाकेको होला भन्ने सोचेँ मैले। हतारहतार खाना खाएर म ठूलो बैठक कोठामा आएर बसेँ। ऊ भित्र सुत्ने कोठामा खस्य्राकखुस्रुक गरिरहेको थियो। केही खोजिरहेको थियो र धमाधम झोलामा हालिरहेको थियो। चिठीपत्रहरू, उसका र मेरा फोटोहरू, जग्गाजमिनको लालपुर्जा अनि मेरो दैनिकी। मैले निकै बेर उसको गतिविधि हेरिरहेँ र भनेँ, ‘के चहार्नुहुन्छ ? चाहिएको कुरा भन्नु नि, म दिन्छु। तपाईं लोग्ने हो कि खानतलासी लिन आएको हवल्दार ?’ 

झोलाभरि सामान हालेर ऊ बाहिर आयो र उभिइरहेका गोपाल भाइलाई पिठ्यूँमा धाप मार्दै भन्यो, ‘स्याबास् गोपाल, स्याबास्। मोज गर मोज, बिहे नगरी मोज गर्न पायौ।’ ऊ के भन्दै छ, म केही बुझिरहेकी थिइनँ। दिमाग एक किसिमले रन्किरहेको थियो। एउटा किंकर्तव्यविमूढ जस्तो अवस्थामा म भन्दै गएँ, ‘तपाईं के भन्न चाहनुहुन्छ ? प्रस्ट भन्नोस्। तीन तीनजना छोरालाई वास्ता नगरेर मोज मार्दै हुनुहुन्छ त, काठमान्डु बसेर। टन्न कमाएको पैसामा सबै मोज मार्दै त जान्छ होला। वीर्य झारेर मात्र बाबु होइन्छ कि केही दायित्व पनि हुन्छ बाबु हुनुको ? साँपले बालुवामा पारेको पूmलजस्तै हो बच्चा पाउनु ?’
मनमा आएजति भाव सबै शब्दमा पोख्न सकिनँ मैले। कति भनेँ, कति भनिनँ, त्यो पनि याद भएन मलाई। मेरो दिमाग केही तात्दै थियो। परीक्षा दिन मात्र आएका छोरा समान ती मान्छेलाई ऊ जथाभावी बोलिरहेको थियो। बिचरा गोपाल एक त सानो, त्यसमाथि पनि सीधासाधा थिए। केही बोल्न सकेका थिएनन्। सायद उसको आरोप बुझेका पनि थिएनन् होला। 

उसले बोकेका सामानमा मैले केही प्रतिवाद गरिनँ। ऊ मलाई भरे भोलि आउँछु भनेर फुस्ल्याउँदै मसँगै बजार झर्‍यो। म हतारहतार विद्यालयतिर लागेँ। म भात खाँदै गर्दा उसले सुतेको कान्छा छोरालाई उठाएर मुनि लगेर फोटो खिचेको रहेछ। यी सबै कुराको रमिता हेरिरहेका अनिल पौडेल र गोविन्द विकल पनि थिए। विद्यालयमा टिफिन छुट्टी भएपछि म माइतीघर गए। आमा पनि त्यहाँ तिलमिलाइरहनुभएको पाएँ। तातिँदै आमाले भन्नुभयो, ‘होइन के भएको तेरो पोइलाई ? यहाँ बिहानै आएर मलाई जथाभावी बोलेर गयो। तँलाई हिलोखाल्डोमा हाल्छु पो भन्छ। तिमी आफैं पुरिन्छौ भनेँ मैले पनि। मेरी स्वास्नी यता राख्यौ, हामीलाई अलग्ग पार्‍यौ भन्छ। होइन बहुलायो कि के भयो यो मान्छे ?’

उसको व्यवहारबाट म आफैं पनि चकित थिएँ। सामान्य अवस्थामा आउन सकेकी थिइनँ। उसको हाउभाउ, अनुहार र उसका शब्द मेरोअगाडि चक्रवातजस्तै भएर फन्को मारिरहेका थिए।

आमा रुन्चे स्वरमा भुतभुताइरहनुभएको थियो। केही बेर बसेर म विद्यालय गएकी थिएँ। उसले बेलुका आउँछु भनेको थियो। तर आएन। जाने बेलामा आमासँग राम्रै कुरा गरेर गएछ। ‘अब कुन्ता र म मिलेर केही व्यवसाय गर्छौं’ आदि इत्यादि कुरा गरेछ।

बेलुका छोराहरू लिएर म बासस्थान फर्किएँ। आफूले बनाएको खोल्माजस्तो सानो तीनकोठे घर अलि एकलासमा भएकाले म हजुरआमाको घरमै बस्थँे। २०४५ सालको भूकम्पले घर बस्नै नहुने भएपछि मात्र म आफ्नो घरमा सरेँ।

त्यही क्रममा माइतीघर मनोहर कुटीमा एक दिन कमरेड मदन भण्डारी आए। केही बेर कुराकानी भएपछि मञ्जुलले मसँग छोडपत्र मागेको कुरा सुनाउँदै भने, ‘छोडपत्र दिए पनि भइगयो त।’
‘मैले उसलाई छोडपत्र किन दिनुपर्ने ?’ मैले रिसाउँदै प्रश्न गरेँ, ‘मेरो के गल्ती छ ? उसले चाहे बिहे गर्ने, चाहे छोडपत्र दिने त्यस्तो हुन सक्दैन।’
‘कान्छो छोरा मेरो होइन भन्ने उहाँको भनाइ छ।’

‘अनि कान्छो छोरा कसको त, बाउ देखाउनुपर्‍यो नि। ऊ त साँढे भएर घुमिरहेको छ। छोडपत्र बराबरै छ। अब किन उसलाई छोडपत्र चाहियो? मैले नमान्दा नमान्दै उसकै जबर्जस्तीले बिहे भएको हो। अब छोड्नु पनि उसकै जबर्जस्तीमा ? कुनै हालतमा छोडपत्र दिन्नँ। कि भने मेरो दोष प्रमाणित गर्नुपर्‍यो। छोराको बाबु पत्ता लगाउनुपर्‍यो।’

‘खोइ त्यो त भनेको छैन’, मदन शान्तिपूर्वक कुरा गरिरहेका थिए। तर मेरो शरीर त बलेजस्तो भएको थियो। उसकै बलजफ्तीले बिहे गर्नु, उसको एकतर्फी व्याकुलतामा बिहे गरियो। त्यसपछि पनि उसको ‘स्तर’ उकास्न सहयोग गर्नु, बालमन्दिरमा पढाइरहेको प्राथमिक शिक्षकलाई मावि शिक्षकसम्म उकास्नु, अनेकन दु :खकष्ट सहेर उसको व्यक्तित्वको विकास गर्नु अनि जब ऊ अलिकति आफ्नो खुट्टामा उभिन सक्ने हुन्छ, आफू त्योबाट बिनागल्ती प्रताडित हुनु। 

मैले रूखो अनि खरो स्वरमा मदनसँग भनेकी थिएँ, ‘ठीक छ, मलाई कान्छा छोराको बाबुसँग पार्टीले जिम्मा लगाओस्। तपाईंहरू यत्रो शक्तिशाली पार्टी चलाउने मानिस, त्यति त गर्न सक्नुपर्‍यो। म मेरो हातले त्यो गुन्डालाई छोडपत्र त मरिगए पनि दिन्नँ। अनि पार्टीले मलाई यो विषयमा न्याय दिन नसके पनि अन्याय गर्न मिल्दैन। आइन्दा छोडपत्रको कुरा लिएर तपाईं मकहाँ नआउनुहोला। म त्यो ढोंगी बाहुनको मुखुन्डो उघारेर छाड्छु। त्यसको नियत छर्लंग पारेर छाड्छु।’

त्यसपछि मदन छोडपत्रको कुरा लिएर मकहाँ आएनन्। जिल्ला नेताहरू समयसमयमा मकहाँ आउँथे। पार्टीका गोप्य बैठकहरूको जानकारी दिन्थे। बच्चाहरू आमालाई छाडेर गइन्थ्यो। त्यतिखेर पार्टीमा बैठकहरू पातला हुन्थे। त्यसमा पनि प्राय :जसो म पार्टीले चलाएका खुला आन्दोलनहरूमा भाग लिन्थें। त्यस बेला निकै लामो कुराकानी भएपछि मदन भण्डारी गएका थिए। मदनलगायत सिंगो पार्टी पंक्ति उसको पक्षमा थियो। उसले पार्टीमा मेरो गर्नुसम्म बद्ख्वाइँ गरेको थियो। 

वृद्ध आमाको अगाडि नै यी सब कुरा भए। सारा परिवार खिन्न थियो। स्थिति ‘खाई न पाई छालाको टोपी लाई’ भनेजस्तो थियो। बच्चा जन्मिएर एक वर्ष नाघेपछि उसले यत्रो जघन्य आरोप लगाएको थियो। 
त्यो रातभरि म निदाउन सकिनँ। भुंग्रोमा हालेको माछाजस्तो भयो हालत। मान्छे कति हदसम्म गिर्न सक्दो रहेछ ? मान्छे कति जघन्य अपराधी हुन सक्दो रहेछ ? यिनै प्रश्नले मलाई रातभरि टोकिरहे। 

तर झोक्राएर बस्ने स्थिति थिएन। विभिन्न खाले आन्दोलन  चलिरहेका थिए। शिक्षक आन्दोलन उत्कर्षमा थियो र ठाउँठाउँमा आयोजना गरिएका सभा समारोहहरूमा वक्ताका रूपमा सम्मिलित हुन जानुपथ्र्यो। एकातिर छोराहरूको लालनपालनको सबै अभिभारा आफ्नै टाउकोमा थियो। अर्कोतिर सरकारी दमन तीव्र भइरहेको थियो। आर्थिक समस्याले पनि त्यत्तिकै पिरोलिरहेको थियो। माइलो छोरा त्यस बेलासम्म पनि रोगाएको रोगायै थियो। उसलाई लिएर घरिघरि सिलिगुडीको चक्कर लगाउनुपथ्र्यो। आफ्ना तमाम समस्यासँग पौँठेजोरी खेल्दै म आन्दोलनहरूमा कुदिरहेकी थिएँ। कतिपय कार्यक्रममा त महिला साथीहरू मञ्चमा चढ्नसमेत डराउँथे। त्यो अवस्थामा माइक समाउन म नै अगाडि बढ्नुपथ्र्यो।

शिक्षक आन्दोलन त्यतिखेर निकै उत्कर्षमा पुगेको थियो। पूर्वाञ्चललगायत काठमाडौंमा सबैजसो कार्यक्रममा वक्ताका रूपमा भाग लिन्थँे। माइतीमा छोराहरू छाडेर म ती कार्यक्रममा सहभागी हुन्थेँ। ठूलाठूला विरोध जुलुसहरू, जसमा पार्टीले आफ्नो सम्पूर्ण शक्ति खन्याउँथ्यो। ती कार्यक्रम भव्य र भय सञ्चार गर्ने खालका हुन्थे। शिक्षकमाथिको सरकारी दमन बढ्दै थियो। लोभी, पापी र कमजोर शिक्षक किनारा लाग्दै थिए।

एउटा कार्यक्रम मलाई याद छ। त्यो छाताचोकमा आयोजना भएको थियो। कार्यक्रममा नेमबन्धु पौडेल, केशव वाग्ले, विजय पौडेललगायतका अन्य हामी थुप्रै शिक्षक सहभागी थियौं। विजय पौडेलले त्यहाँ मन्तव्य प्रकट गरेका थिए। त्यति बेला सुनसरी जिल्लाका सीडीओ थिए, रामकृष्ण पन्त। ऊ अति नै आक्रामक रूपमा शिक्षकहरूलाई अश्लील गाली गरिरहेको थियो। उसका गालीहरू सीडीओलाई सुहाउने खालका थिएनन्।
‘ठोक् राँडीका सन्तानहरूलाई ठोक्’, सीडीओ चिच्यायो। पुलिसले एकछिनमा घेरा बनाए र लाठी चार्ज गर्न थालिहाले। हामी कसोकसो छाताचोकको दोकानमा पस्न भ्यायौं। विजय पौडेल पनि उम्किएछन्। केशव वाग्लेलाई घोप्टो पारेर पुलिसहरू लाठी बर्साइरहेका थिए। भरे पुलिसहरू गएपछि हामी आआफ्नो गन्तव्यतिर लाग्यौं।

त्यति बेला सबै पार्टी भूमिगत थिए। मेरो संलग्नता रहेको माले पार्टीले चलाएका खुला आन्दोलनहरूमा सधैं अग्रपंक्तिमा हुन्थेँ म। यति गर्दा पनि पार्टी मेरो पक्षमा नभएर त्यो डरपोक मञ्जुलको पक्षमा भएको देख्दा मलाई अचम्म लाग्थ्यो। केही दिनसम्म त दिमाग झन्किरह्यो। अब त्यो अपराधीले कसलाई छोराको बाबु देखाउने हो को नि भन्ने प्रश्नले पोलिरह्यो। 
ऊ धरान छाडेर गएपछि घरमा पार्टीको सेल्टर राख्न मानिनँ मैले। यदाकदा आउने भूमगित कमरेडहरूलाई म गाँसबासका लागि माइतीघर ‘मनोहर कुटी’मा पठाउँथें। मञ्जुलको शंकालु÷पत्नीपीडक दिमागबारे मलाई थाहा नहुने कुरै थिएन। अब कसलाई आरोप 
लगाउने हो यसले ? 

यही प्रश्न बारम्बार मेरो मनमा घुमिरहेको थियो। उसबाट आरोप लगाइने सम्भावित कुनैे पनि अनुहार मेरोअगाडि आएको थिएन। न मेरो कुनै पुरुषसँग मित्रता थियो, न घनिष्ठ सम्बन्ध। मेरो मनमा समेत पनि त्यस्ता नराम्रा विचार आएका थिएनन्। घरको कामसहित तीन तीनजना बच्चा सम्हालेर बस्ने चरम शारीरिक श्रममा रहने महिलाको मन कसरी बरालिन सक्छ र त्यसरी ! 

त्यति खेर महिला हुनुको चरम पीडा भोगिरहेकी थिएँ मैले। हुँदाहुँदा त्यो कृतघ्न बाहुनले मेरो मूल्य पनि तोकेछ, ऊ राजधानीमा भुक्दै हिँड्दो रहेछ, ‘दस रुपैयाँ पाई भने त्यो जोसँग पनि सुत्छे।’ 

यस्ता अभद्र आरोप सुन्दा रगत भलभल उम्लिएजस्तो हुन्थ्यो। ‘त्यसलाई छप्काउन पाए पनि हुन्थ्यो’ जस्तो लाग्थ्यो। तर मेरो स्वभाव र परिस्थिति यी सब काम गर्न सक्ने खालको थिएन। त्यसकारण पनि छोराहरू सम्हाल्दै, कार्यक्रमहरूमा भाग लिँदै धैर्य धारण गर्नुबाहेक केही उपाय थिएन। 

त्यस बेला मेरो मनमा बारम्बार एउटै प्रश्न उब्जिरहन्थ्यो— मजस्तो पढेलखेको अनि महिला आन्दोलन मात्र नभएर वर्गीय मुक्ति आन्दोलनमा समेत संघर्षरत महिलाको त यो हालत हुन्छ भने गाउँघरमा रहेका, खटाइएको मानो खान बाध्य अशिक्षित महिलाहरूको के हालत होला ? उनीहरूको जीवन कति कष्टकर होला ? 

२०३९ चैतदेखि मञ्जुलसँग मेरो कुने संवाद थिएन। देशको परिवेश विस्तारै आन्दोलनमय बन्दै थियो। पार्टीले चलाएका सबै खाले खुला आन्दोलनमा म सहभागी भइरहेकी थिएँ। बच्चाहरूको दायित्वका कारण मात्र म भूमिगत हुन सकेकी थिइनँ। उनीहरूको भरपर्दो अभिभावक कोही पनि त थिएन। बाहिर बसेर खुला आन्दोलनमा भाग लिनु पनि कम खतरनाक थिएन। 

त्यति बेला सुनसरी जिल्लाको पार्टी सचिव राजेश बान्तवा थिए। सर्वध्वज सावा, चित्र निरौला, सीता पाठक, शारदा आदि पार्टीमा संलग्न अगुवा कामरेड थिए। मञ्जुल धरान बसुन्ज्याल सचिव राजेश बान्तवा घरमा आइरहन्थे। कहिले खाना खाने गरी पनि आउँथे। उनीहरूको मेलमिलाप राम्रै थियो। उसले घर छाडेपछि मैले सबै कमरेडहरूलाई घरमा आउन बन्द गरेकी थिएँ। त्यस बेला एकजना कमरेड घरमा आइरहन्थे। मेरो समस्यामा सहानुभूति व्यक्त गर्थे। कुरैकुरामा उनी मञ्जुललाई छोडपत्र दिने सल्लाह पनि दिन्थे। उनी मभन्दा केही वर्ष कान्छा थिए। मलाई उनका कुरा त्यति राम्रो लागिरहेको थिएन। 

एक दिन कमरेड चित्र निरौलाले मसँग भने, ‘ती साथीलाई घरमा आउन बन्द गरिदिनोस् दिदी। यी मान्छे खासै ठीक छैनन्। यिनको श्रीमतीसँग पनि राम्रो सम्बन्ध छैन। यिनको दाउ अर्कै हुन सक्छ।’

मैले उनलाई शिष्टतापूर्वक घरमा आउन बन्द गरिदिएँ। पछि मलाई थाहा भयो, उनी मेरी सहपाठी साथीका श्रीमान् रहेछन् र श्रीमतीलाई निकै सताएका रहेछन्। समय बित्दै जाँदा मलाई उनको बारेमा अरू पनि धेरै कुरा थाहा भयो। अचम्भित भएर म घरिघरि उनले भनेको सम्झन्थँे, ‘अब हामी मिलेर पतिपीडित र पत्नीपीडितहरूको संघ खोल्नुपर्छ।’

त्यो अवधिमा मलाई कुनै मानिससँग बोल्न पनि डर लाग्थ्यो। बाटामा कोही मान्छे भेटियो भने हिँड्न पनि डर लाग्थ्यो। घरमा कोही मान्छे आउँदा–जाँदा पनि असजिलो लाग्थ्यो। मञ्जुलले एक प्रतिशत पनि सत्य नभएको आरोप लगाएको थियो। मैले अर्को पुरुषको सपनामा समेत कल्पना गरेकी थिइनँ। अब कान्छो छोराको बाबु कसलाई देखाउने हो भन्ने कुराको तनाव भइरहेको थियो। म किंकर्तव्यविमूढ थिएँ। 

एकातिर यस्तो तीव्र मानसिक तनाव थियो भने अर्कोतिर विभिन्न खाले आन्दोलनको आँधीहुरी चलिरहेको थियो। तीन भाइ छोराको लालनपालनको दायित्व पनि ममाथि नै थियो।
बिहानभरि चुलाचौकामा व्यस्त हुन्थेँ। हतारहतार दुई छोरालाई विद्यालय पठायो, एउटा छोरालाई आमाको घरमा लगेर राख्यो अनि आफू पनि काममा गयो। दिनमा छ–सात घण्टी पढाउनुपथ्र्यो। कहिले को शिक्षक अनुपस्थित हुन्थ्यो कहिले को। उनीहरूको कक्षा पनि भ्याउनुपथ्र्यो। त्यसपछि छोराहरू लिँदै बासमा आयो। फेरि बेलुकाको भातभान्सामा यन्त्रजस्तो चालू भयो। 

माहिलो छोरा रोशन बिरामी हुँदै आएको थियो। उसको स्वास्थ्य बलियो हुन सकेकै थिएन। घर आइपुगेर उनीहरूलाई दूधपाउरोटी खुवाउँथे। पैसाको अभाव त छँदै थियो। म दिउँसो एक कप चिया मात्र खाएर टार्थें। मैले खाजा खाने पैसाले केटाकेटीहरूको साँझको खाजा टथ्र्यो। मैले भान्साको काम गर्दागर्दै उनीहरू निदाइसक्थे। त्यति बेला भदै सावित्री थिई र अलि सजिलो थियो। म जहिले पनि कोला (केरा) बोकेर आउँथे र राति निदाएका छोराहरूलाई काखमा लिएर कुपुकुपु दूधभातमा मुछेर खुवाउँथेँ। उनीहरू पनि बिउँझै हुँदाजस्तै मज्जाले खान्थे। त्यसपछि उनीहरूको खुट्टामा एकएक लस्को तेल लगाइदिनु, टाउको नुहाउन नभ्याएर बग्रेल्ती परेका जुम्रा झार्नु अनि अन्तिममा कान्छो छोरालाई दूध–सातु खुवाउनु। 

ठीक्क १२ बजेपछि कान्छा मुखमा हात दल्न थाल्थ्यो। यो उसको खाने कुरा मागेको संकेत थियो। म सुत्दा अर्को दिन सुरु भइसकेको हुन्थ्यो। बिहे भएदेखिको मेरो दिनचर्या भनौं या समयतालिका यही थियो। 

मेरो अनुहार र व्यवहारबाट सहकर्मी शिक्षक कसैलाई पनि ममाथि खनिएको भुतभुतेको बारेमा थाहा थिएन। कसैलाई सुनाएर केही हुनेवाला पनि थिएन। यो कक्षाबाट त्यो कक्षा गर्दै दिन बितिहाल्थ्यो। जतिसुकै तनावमा भए पनि म कसैसँग व्यक्त गर्दिनथें। 
यस्तै तनावका क्रममा एक दिन दुईजना कमरेड आउनुभयो। राजेश र सर्वध्वज साँवा। म त्यस बेला माइती घर (छाताचोक)मै थिएँ। हामी परिवारै बसिरहेका थियौं। साँझको समय थियो। उनीहरू दुईजनाको अनुहारमा दुईखाले भाव थियो। एकजना हाँस्दै र अर्कोजना तमतमाएको जस्तो अनुहारमा आएका थिए। आएर कुर्सीमा थचक्क बसेर हाँस्दै सावाले भने, ‘कुन्ता कमरेड, तपाईंको छोराको बाबु त भेटियो नि।’ 

उनी खित्का छाडेर हाँस्न थाले। निकै बेर मुरुन्ज्याल हाँसेपछि उनले भने, ‘ल उहाँ कमरेड नै हो रे है, मञ्जुलले बनाएको कान्छो छोराको बाबु।’ सर्वध्वज साँवाको हाँसो रोकिएको थिएन तर बान्तवा भने रातापिरा देखिएका थिए। म पनि आश्चर्यचकित थिएँ। न रुनु न हाँस्नुको अवस्थामा यति अचम्भित थिएँ कि मुखबाट एक शब्द पनि निस्किरहेको थिएन। सावा भने हाँसी नै रहेका थिए। निकै बेरको मौनतापछि बान्तवाले भने, ‘कस्तो पागल मान्छे रछ यो मञ्जुल। मैले सपनामा पनि नसोचेको कुरा गर्‍यो। मलाई हिरासतमा प्रहरीले उभिन्डो पारेर मलद्वारमा खुर्सानी हाल्दा पनि यतिविघ्न पीडा भएको थिएन।’

हुन पनि उनी अति जुझारु भएको कुरा सुनेकी थिएँ मैले। पञ्चायती प्रशासनले उनलाई हिटरमा पिसाब फेराएको थियो अरे। लामो समय जेल बसेका थिए उनी। उनलाई तनाव हुने अर्को कारण भनेको उनी त्यस बेला कमरेड शारदासँग प्रेममा परेका थिए। मञ्जुलको यो आरोपले उनीहरूको प्रेमसम्बन्धमा असर पार्न सक्ने थियो। 

राजेश बान्तवा अलि ढिलो गरेर अड्की अड्की बोल्ने केही होचो कदका मानिस थिए। राई भएकाले उनका आँखा चिम्सा र साना थिए। रातो वर्णका राजेश बान्तवा पार्टीप्रति विश्वसनीय र लगनशील थिए। राजेश बान्तवासँग नाम जोडेर मञ्जुलले ठूलै बेवकुफी गरेको थियो। राजेश बान्तवा मञ्जुलजस्ता न झिल्के थिए, न उत्ताउला। ती व्यक्ति शान्त र गम्भीर स्वभावका थिए। 

त्यो समयमा बराल थरका एकजना कुख्यात मानिस जसको नाम ठगीमा पनि मुछिएको थियो, धरानमा बस्थ्यो। तस्करी र ठगीको आरोपमा वर्र्ष जेल बसेको थियो। त्यो एकतर्फी रूपले शारदा श्रेष्ठलाई मन पराउँदो रहेछ र जुनसुकै हिसाबले भए पनि शारदालाई हासिल गर्न चाहँदो रहेछ। उनीहरूलाई छुटाउन उसले मेरो नाम राजेश बान्तवासँग जोडेको रहेछ। यो कुरा मैले केहीपछि गएर मात्र थाहा पाएँ। उनीहरू हारे। राजेश र शारदाको बिहे भयो।

केही बेर बसेपछि दुवै कमरेड गए। हाम्रो परिवार छक्क परिरहेको थियो। म अचम्भित र आक्रोशित दुवै बराबर थिएँ। के गरूँ अनि कसो गरूँको मनस्थितिमा थिएँ। उसले पूर्वजन्मको बदला लिएको हो कि भन्ने कुराले मन बुझाउन सजिलो हुने थियो होला। आफू मान्छे भौतिकवादी भएको हुनाले त्यो कुरा पनि कामलाग्दो भएन। यो जन्ममा उसलाई सहयोग गरेको मात्र सम्झना हुन्थ्यो। अब भने मलाई त्यो हावादारी मान्छेसँग उसले मर्छु भनेर धम्क्याएका भरमा बिहे गरेकामा एकदमै पश्चात्ताप लागिरहेको थियो। 

उसमा न बालकहरूप्रति माया थियो न रखेदेख नै। आफ्नो भाले चिह्न बेला न कुबेला चलाएपछि आफ्नो दायित्व पूरा भइहाल्छ भन्ने थियो उसमा। आफ्नो व्यक्तित्व विकास गर्ने सिँढी मात्र बनाएछ उसले मलाई। उसको अघिल्लो दाउ भने मेरो पैतृक र मेरो दु :खले जोडेको सम्पत्ति फुत्काउने रहेछ। मेरो माइतीको सम्पत्ति देखेर नै ऊ पासो लागेर मर्छु भन्दै मेरो पछि लागेको रहेछ। त्यस बेला म घरिघरि विश्वेश्वरप्रसाद कोइरालाको ‘मधेसतिर’ भन्ने कथा स्मरण गरिरहन्थेँ। वास्तवमा मञ्जुल र गोरे भन्ने पात्रमा केही पनि फरक पाउँदिनथेँ। ‘ओहो मान्छेहरू कतिसम्म विश्वासघाती हुँदा रहेछन्’, मनमा यिनै भावना पटकपटक हजारौं पटक दोहोर्‍याउँदै आफ्ना दायित्वका पहाडहरू बोकेर हिँड्थेँ म।
त्यसो त ऊ घरमा हुनु या नहुनुमा, ऊ हाम्रो जीवनमा हुनु या नहुनुमा कुनै खास फरक त पर्नेवाला थिएन। पहाडपर्वतमा काम नलाग्ने लोग्नेलाई ‘ढोडको भए पनि लौरै हो’ भन्ने चलन पाइन्छ। कफल्ला भए पनि, काम नलाग्ने भए पनि यसो ढोकाको छेउमा मान्छेलाई देखाउन मात्र भए पनि ठाडो पारेर राख्ने चलन हुँदो रहेछ। त्यस्तो खाले लौरो र बेकामे लोग्नेलाई ढोडको लौरो नामकरण गरिँदो रहेछ। मैले पनि त्यस्तै सोचेकी थिएँ तर ऊ त लौरो त लौरो, कुहेको ढोडको पो निस्कियो। 

गाली बेइज्जती मुद्दा जित्न त मैले जितेँ। तर जित्नु मात्रै पनि न्याय हो र ? त्यस्तो चरम अपमान, यातना, बेइज्जतीको क्षतिपूर्ति त कसै गरी हुँदैन। ५०० रुपैयाँको जरिवाना तोकेर उच्च अदालतका न्यायाधीशहरूले मलाई न्याय दिनुभयो कि अन्याय ? मलाई गरेको अपमान के ५०० रुपैयाँ बराबरको हो त श्रीमान्हरू ? तपाईंहरू यस्तै न्याय पीडित महिलाहरूलाई दिनुहुन्छ भने तपाईंहरूका न्यायका पोथा जलाइदिए पनि हुन्छ। कुनै दिन कुनै आक्रोशित महिलाले यसो नगर्लान् भन्न पनि कहाँ सकिन्छ र ? उच्च न्यायालयले गरेको फैसला सम्झँदा अहिले पनि मेरो मन ग्लानि र क्षोभले भरिएर थुकथुकी लागेर आउँछ। 

यसरी २०३९ देखि २०६३ सम्म विधिविज्ञान प्रयोगशालामा भएको डीएनए टेस्टबाट आफ्नो छोराको बाबु आफैँ हो भन्ने प्रमाणित नहुन्जेलसम्म उसले अनेकनलाई बाबुको बात लगायो। पछि अन्तिम पटक उसले आफ्नै सहोदर भाइ एमाले नेता तथा लेखक प्रदीप नेपाललाई बाबु हो पनि भन्यो। सधैँ मञ्जुल र सुन्दरीको पक्ष लिने प्रदीप नेपाललाई यस्तो जघन्य अभियोग सुन्दा कस्तो लाग्यो होला, म भन्न सक्तिनँ। तर, मलाई भने के कुरामा खुसी लाग्यो भने प्रदीपले आफ्ना दाजुलाई राम्ररी चिन्नुभयो होला। 

यो लेख छापिएको दिन आमाको मुख हेर्ने दिन पर्ने रहेछ, म भने बाबुको मुख देखाउन बाध्य भएँ।
 

धरान–१३, अमरपथमा बस्ने कवि शर्माका ‘म उभिएको ठाउँ’ र ‘मेरो मान्छे’ कवितासंग्रह प्रकाशित छन्। उनी  पूर्वसांसद एवं प्रलेसको पूर्वउपाध्याक्ष पनि हुन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.