जसले उद्योगको जग बसाए
तत्कालीन राजा वीरेन्द्रले सुप्रबल गोरखा दक्षिणबाहुबाट विभूषित गर्दा आफैं मञ्चबाट ओर्लेर गोल्छालाई मञ्चमा डोर्याएर लगेका थिए। तक्मा प्रदान गरिसकेपछि उनले भनेका थिए, ‘उहाँ त राष्ट्रको स्तम्भ हो।’
नेपालको औद्योगिक इतिहास त्यहाँबाट सुरु भयो, जब गोल्छा परिवार नेपाल आयो। नेपालकै पहिलो उद्योग विराटनगर जुट मिल स्थापनाको श्रेय स्वर्गीय रामलाल गोल्छालाई जान्छ।
रामलाल गोल्छाले नै तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरलाई उद्योग स्थापनाको महत्त्वबारे बताएर विश्वस्त तुल्याएका थिए। उनले विराटनगरदेखि काठमाडौं आएर राणा प्रधानमन्त्रीलाई भेटेर उद्योग भए देशभित्र उत्पादन हुन्छ, रोजगारी बढ्छ भनेर सम्झाएका थिए।
तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरले गोल्छालाई अघि सारेर १९९३ सालमा देशकै पहिलो उद्योग विराटनगर जुट मिल स्थापना गरे। मिलमा सरकारको पनि सेयर स्वामित्व थियो। पछि सरकारले नै यो उद्योग चलाउन थाल्यो। २००७ सालमा प्रजातन्त्र प्राप्तिको आन्दोलन सुरु गर्दा स्वर्गीय गिरिजाप्रसाद कोइराला लगायतले जुट उद्योगको मजदुरका रूपमा त्यहाँ हडताल गरेर आन्दोलन सुरु गरेका थिए भनिन्छ।
रामलाल गोल्छाको पुख्र्यौली थातथलो भारतको राजस्थान, रतनगढ थियो। १६ वर्षको उमेरमा उनका बाबु पदमसिंह गोल्छाको निधनपछि उनी बसाइँ सरेर फारबिसगन्ज आएका थिए। त्यहाँ केही वर्ष बसेपछि १९७८ सालमा उनी नेपाल आएका थिए। नेपाल आएपछि उनी जुटको व्यापारमा लागे। सायद भारतमा जुट निकासीको सुरुआतको श्रेय पनि उनैलाई जान्छ।
व्यावसायिक उडान
रामलाल गोल्छाले सुरुका दिनहरूमा धेरै दुःख गरेका थिए। ‘कतिसम्म भने उहाँ आफैं जुट काँधमा बोकेरसमेत बेच्न जानुहुन्थ्यो रे’, हजुरबुवालाई सम्झँदै व्यवसायी शेखर गोल्छा भन्छन्, ‘उहाँमा व्यावसायिक चेतना असाध्यै थियो। जुटकै व्यापार गर्दा पनि कति बेला किन्ने, कति बेला बेच्दा राम्रो मुनाफा पाइन्छ भनेर बजारको विश्लेषण गर्ने क्षमता थियो।’
विराटनगर जुट मिलपछि २००३ सालमा अर्को उद्योग रघुपति जुट मिल स्थापना भयो। यो मिल अहिले पनि गोल्छा परिवारले सञ्चालन गरिरहेको छ।
रामलाल गोल्छाको पहिलो घर सुनसरीको दिवानगन्ज हो। पछि व्यवसाय विस्तारसँगै उनीहरू विराटनगर सरे। ‘दिवानगन्जको झुपडी घर पितापुर्खाको स्मृतिमा अहिले पनि संरक्षण गरी राखेका छौं’, शेखर भन्छन्।
रामलाल गोल्छाका दुई छोरा हंशराज र हुलासचन्द गोल्छाको नामबाट उनले हंशराज एन्ड हुलासचन्द एन्ड कम्पनी प्रालि स्थापना गरे।
रामलाल गोल्छाले पछि विराटनगरमा हुलास मेटल एन्ड क्राफ्ट उद्योग स्थापना गरे। हुलासका भाँडावर्तन भारतमा समेत लोकप्रिय थिए। कलकत्तादेखि मुम्बईसम्मबाट ठूलो माग आउँथ्यो। ठूलो मात्रामा भाँडाबर्तन निकासी हुने गथ्र्यो।
‘गोल्छा परिवारको व्यावसायिक उचाइ बढाउन ठूलो भूमिका खेलेको उद्योगचाहिँ हुलास मेटल एन्ड क्राफ्ट उद्योग हो’,शेखर भन्छन्।
रसिक रामलाल
हजुरबुवासँग जोडिएका अनगिन्ती सम्झना उनको स्मृतिपटलमा ताजा छन्। रामलाल गोल्छा सिनेमाका सोखिन थिए। ‘त्यति बेला हामी विराटनगरमा बसोबास गर्न थालिसकेका थियौं। जलजला नामक सिनेमा हल भर्खर–भर्खरै खुलेको थियो । हजुरबुवा सबै नाति नातिना भेला पारेर सिनेमा हेर्न लग्नुहुन्थ्यो’, शेखर सम्झन्छन्, ‘सिनेमा हेर्दै गर्दा उहाँ कथालाई त्यसभित्रकै कलाकार भएर महसुस गर्नुहुन्थ्यो होला। रुवाउने दृश्यमा आफैं रुन थाल्नुहुन्थ्यो, हँसाउने दृश्यमा जोडले
हाँस्नुहुन्थ्यो।’
शेखरको सम्झनामा उनका हजुरबुवा रामलाल गोल्छा कोमल हृदयका व्यक्ति थिए। एकपटक राणाहरू सिकार खेल्न पूर्व आउँदा बाघको ज्यूँदो बच्चा समातेर ल्याएका रहेछन्। त्यो उनीहरूले काठमाडौं नल्याई रामलाललाई उपहार दिएका थिए । राणाहरू फर्केपछि उनले त्यो बाघको बच्चालाई आफैंले लगेर धरानको जंगलसम्म छाडेर आएका थिए रे।
रामलाल गोल्छाले जीवनमा धेरै उतारचढाव बेहोरे। ‘उहाँको जीवन ‘स्मुथ’ थिएन, एकपटक जुट मिलमा आगो लागेर ठूलो स्टक (भण्डारण) समेत सखाप भएछ’, शेखरका पिता हुलासचन्द गोल्छा उनलाई सुनाउँथे, ‘त्यसपछि परिवारमा बुवा, ठूलो बुवाहरू अत्तालिनुभएछ; के गर्ने, कसो गर्ने। हजुरबाले ढाडस दिँदै भन्नुभयो रे। हेर ! म रित्तो हात नेपाल आएर यत्रो सिर्जना गरँे। म अझै केही गर्न सक्छु भन्नेमा विश्वस्त छु। तिमीहरू आत्तिनु पर्दैन।’
देशको विकासका लागि भौतिक पूर्वाधार, सम्पर्क सञ्जाल आवश्यक छ भनेर रामलालले तत्कालीन राजा महेन्द्रलाई सुझाव दिएका थिए। त्यति बेला नेपालभित्रै एक ठाउँबाट अर्को ठाउँमा पुग्न भारतको बाटो भएर जानुपथ्र्यो। तत्कालीन राजा महेन्द्रको विराटनगर भ्रमणका क्रममा रामलालले पूर्व–पश्चिम राजमार्ग निर्माण भए आवतजावत सहज हुने, देशको सार्वभौमिकताका लागि पनि राष्ट्रिय राजमार्ग आवश्यक छ भनेर कुरा राखेका थिए। ‘उहाँमा भौतिक पूर्वाधारको विकास,
उत्पादन र रोजगारी भए मुलुक बलियो हुन्छ भन्ने सोच थियो’, शेखर भन्छन्।
रामलालको विरासतलाई यिनका छोराहरू हंशराज र हुलासचन्द गोल्छाले अझै विस्तार गर्दै लगे। हंशराज एन्ड हुलासचन्द कम्पनी प्रालिको छातामा नयाँ–नयाँ उद्योग थपिँदै गए। हुलास खाद्यान्न, जस्तापातालगायत अन्य उद्योगहरू थपिए। अहिले त्यही जगमा २५ उद्योगले १७ हजार जनालाई प्रत्यक्ष रोजगारी दिएका छन्।
संस्थागत विकासका अगुवा
हुलासचन्द गोल्छा उद्योगीहरूको हकहितका लागि उद्योग वाणिज्य क्षेत्र संगठित हुनुपर्छ भन्ने मान्यता राख्थे। नेपाल उद्योग वाणिज्य महासंघ तत्कालीन उद्योग वाणिज्य संघको विधान मस्यौदा गर्नेहरूमध्ये हुलासचन्द गोल्छा एक हुन्। उनी लामो समय उद्योग वाणिज्य महासंघमा सक्रिय थिए।
रामलाल गोल्छाले स्थापना गरेको उद्योगको मुख्य विस्तार हंशराजका छोरा दिवाकर गोल्छाले गरे। गत महिना दिवंगत भएका दिवाकर गोल्छाले चिनी कारखाना, हुलास स्टिल, हुलास वायर, कागज कारखानालगायत धेरै उद्योग थपिए। रामलाल गोल्छाका जेठा छोरा हंशराज गोल्छाका छोराहरू लोकमान्य गोल्छा, दिवाकर गोल्छा, महेन्द्र गोल्छा, दिनेश गोल्छा र राजकुमार गोल्छा सबै व्यवसायमा सक्रिय छन्।
त्यस्तै हुलासचन्द गोल्छाका छोराहरू चन्द्रकुमार गोल्छा, सुरेन्द्र गोल्छा, शेखर गोल्छा र सञ्जय गोल्छाले पनि गोल्छा परिवारको व्यावसायिक विरासतलाई अघि बढाइरहेका छन्। पछिल्लो समय गोल्छा परिवारको व्यावसायिक विरासतको विस्तार र व्यवसायीकरण तथा विशिष्टीकरण गर्ने काम हुलासचन्दका छोरा शेखर गोल्छाले गरिरहेका छन्।
अहिले गोल्छा परिवार हाइटेक र अत्याधुनिक किसिमले व्यवसाय विस्तार गरिरहेको छ। अटोमोटिभ, इलेक्ट्रोनिक्स, वित्तीय क्षेत्र (बिमा तथा वित्त कम्पनी)मा गोल्छा परिवारको लगानी विस्तार भएको छ। हुलासले नेपालमै इलेक्ट्रिक (विद्युतीय) गाडीहरूसमेत उत्पादन थालिसकेको छ।
तत्कालीन राजा वीरेन्द्रले रामलाल गोल्छालाई सुप्रबल गोरखा दक्षिणबाहुबाट विभूषित गर्दा आफैं मञ्चबाट तल आएर गोल्छालाई मञ्चमा डोर्याएर लगेका थिए। तक्मा प्रदान गरिसकेपछि राजाले सँगै रहेका उनका छोरा हुलासचन्द गोल्छातर्फ फर्केर भने रे, ‘उहाँ त राष्ट्रको स्तम्भ हो।’
रामलाल गोल्छा आफूलाई पूर्वको मात्र व्यवसायी भन्न रुचाउँदैनथे। उनी क्षेत्रीयतामा विश्वास गर्दैनथे, आफूलाई राष्ट्रिय उद्योगपति भन्न रुचाउँथे। उनले धनगढी र नेपालगन्जमा पनि उद्योग खोलेका थिए।
हजुरबुवालाई सम्झँदै शेखर भन्छन्, ‘अन्य ठाउँहरूमा पनि उद्योग स्थापना गर्ने सोच उहाँको थियो।’ नेपालगन्जको धम्बोझी चोक र धनगढीमा स्थापित खाद्यान्न उद्योग रामलाल गोल्छाकै समयमा भएको हो।
रामलाल गोल्छाले ८२ वर्षअघि स्थापना गरेको गोल्छा परिवारको तेस्रो पुस्ता अहिले व्यवसायमा क्रियाशील छ। चौथो पुस्ताका समेत अधिकांश सदस्य व्यवसायका लागि तयार हुँदै छन्। नेपालमा औद्योगिक विकासको सुरुआत गर्ने त्यही उद्यमशील सोच र व्यवहारका धनी रामलाल गोल्छाप्रति नेपाल राष्ट्र सदैव ऋणी रहिरहने छ।