प्रदेश १ को राजधानीका लागि चारवटा प्रस्ताव दर्ता

प्रदेश १ को राजधानीका लागि चारवटा प्रस्ताव दर्ता

किशोर बुढाथोकी/विराटनगर, रत्नप्रसाद आचार्य/धरान,हरिबहादुर लम्जेल/ धनकुटा : प्रदेश १ को स्थायी राजधानीका लागि विराटनगर र धनकुटाको पक्षमा दुई/दुई प्रस्ताव दर्ता भएका छन्। प्रदेशसभामा आइतबार चारवटा प्रस्ताव दर्ता भएपछि सहमतिका आधारमा राजधानी घोषणा गर्ने प्रदेश सरकारको प्रयास सफल हुन सकेन।

राजधानीको विषयमा एउटै दलभित्र पनि मत बाझिएपछि अलगअलग प्रस्ताव दर्ता भएका हुन्। सत्तारुढ नेकपाले प्रस्ताव दर्ता गर्नुअघि सांसदमाथि ह्विप जारी गरे पनि धनकुटाबाट प्रतिनिधित्व गर्ने सांसदले अलग्गै प्रस्ताव दर्ता गराए।

नेकपाले स्थायी राजधानी विराटनगर नै कायम गर्नुपर्ने मागसहित प्रस्ताव दर्ता गराएको छ। स्थायी राजधानी विराटनगर बनाएर कार्यपालिका तथा व्यवस्थापिकालगायत अन्य संरचना बृहत् विराट क्षेत्रअन्तर्गत विराटनगर, इटहरी र सुन्दरहरैँचा आसपासमा निर्माण गर्ने प्रस्ताव नेकपाको छ। संविधानको धारा २८८ को उपधारा २ बमोजिम नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले सांसद विजयकुमार विश्वास, लिलम बस्नेत, राजकुमार ओझा, राजेन्द्रकुमार राई, सावित्राकुमारी रेग्मी र यशोदा अधिकारीको समर्थन प्रस्ताव दर्ता गराएका हुन्।

पार्टीले जारी गरेको ह्विप उल्लंघन गर्दै धनकुटाबाट प्रतिनिधित्व गर्ने नेकपाका सांसदले अलग्गै प्रस्ताव दर्ता गराए। सांसद निरन राईले इन्द्रमणि पराजुली र कुसुमकुमारी श्रेष्ठको समर्थनमा धनकुटा राजधानी हुनुपर्ने मागसहितको प्रस्ताव दर्ता गराए। ह्विप जारी हुनुभन्दा अघि प्रस्ताव दर्ता गराएको बताउँदै सांसद राईले भने, ‘ऐतिहासिकताका आधारमा धनकुटालाई स्थायी राजधानी बनाइनु पर्छ भन्ने हाम्रो माग हो। यसलाई सहमतिका आधारमा टुंगो लगाउन सकिन्छ।’

धनकुटाको पक्षमा कांग्रेस सांसद लिला सुब्बाले प्रस्ताव दर्ता गराएका छन्। उनले दर्ता गराएको प्रस्तावमा संघीय समाजवादी फोरम नेपालका सांसद रामचन्द्र तुम्बा (आरसी) र ताप्लेजुङका कांग्रेस सांसद प्रतापप्रकाश हाङगाङ समर्थक छन्। धनकुटाका पक्षमा दर्ता भएका दुवै प्रस्तावमा राजधानीसहित सबै संरचना धनकुटामै हुनुपर्ने उल्लेख छ।

प्रतिपक्षी दल कांग्रेस र फोरम नेपालले अर्को संयुक्त प्रस्ताव दर्ता गरेको छ। विराटनगरलाई राजधानी र विराटनगर महानगरभित्रै कार्यपालिका र व्यवस्थापिका रहने गरी प्रस्ताव दर्ता गरिएको फोरम नेपाल संसदीय दलका नेता जयराम यादवले बताए। यस प्रस्तावमा कांग्रेस प्रमुख सचेतक केदार कार्की प्रस्तावक र फोरम नेपाल संसदीय दलका नेता यादव र कांग्रेसका सांसद शिव नारायणसिंह गन्गाई समर्थक छन्।

सहमतिका लागि आइतबार सर्वदलीय बैठक बसे पनि निस्कर्ष ननिस्केकाले दलले छुट्टा छुट्टै प्रस्ताव दर्ता गराएका हुन्। नेकपा र कांग्रेस तथा फोरमले आधिकारिक रुपमा दर्ता गराएको प्रस्तावमा राजधानी विराटनगर भनिए पनि संरचना विस्तारका विषयमा मत भिन्नता देखिएको छ। प्रदेशसभा सचिवालयका सचिव गोपाल पराजुलीका अनुसार नेकपाले बृहतविराट विकास क्षेत्रसहित विराटनगर, कांग्रेस तथा फोरम नेपालले विराटनगर र धनकुटाका लागि प्रस्ताव दर्ता गरेको जानकारी दिए।

नेकपाले विराटनगर राजधानी बनाइ संरचनाका लागि बृहतविराट विकास क्षेत्रअन्तर्गत इटहरी र सुन्दरहरैंचालाई जोड दिएको छ। कांग्रेस र फोरम भने राजधानीसहित कार्यपालिका र व्यवस्थापिका विराटनगरमै हुनुपर्ने अडानमा छन्।

सोमबार २ बजेका लागि संसद् बैठक बोलाइएको छ। बैठकमा राजधानीको विषयले प्रवेश पाउने नपाउने अझै अन्योल रहेको सांसद यादवको भनाइ छ। आइतबार दर्ता भएको प्रस्ताव र राजधानीको विषयमा सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक नबोलाएकाले अन्योल भएको उनले बताए।

सुनसरीको धरान उपमहानगरलाई प्रदेश १ को राजधानी घोषणा गर्न माग गर्दै विराटनगरमा आइतबार विरोध प्रदर्शन गरिएको छ। कार्यवहाक मेयर मञ्जु भण्डारीको नेतृत्वमा प्रदेशसभा भवन अगाडि विभिन्न राजनीतिक दल र नागरिक समाजका प्रतिनिधि, जनप्रतनिधि र स्थानीय बासिन्दाले प्रदर्शनसहित सिठी जुलुस निकालेका हुन्।

राजधानी माग्दै विराटनगर, इटहरी र धनकुटामा आन्दोलन भइरहँदा धरान पनि आन्दोलनमा होमिएको हो। मेयर भण्डारीले धरानलाई प्रदेश राजधानी बनाए उपमहानगरले २० विगाहा जग्गा निशल्क उपलब्ध गराउने बताइन्। प्रदेश सरकारको संरचना बनाउन प्रदेश सरकारलाई जग्गा दिइने उनको भनाइ छ। भण्डारीले संरचनाका लागि आवश्यक २० विगाहा जग्गाको धनीपूर्जा प्रदेश १ सभामुख प्रदीपकुमार भण्डारीलाई बुझाइन्।

नेकपाका नेता नारायण सुवेदीले प्रदेश सरकारले भौतिक सुविधा सम्पन्न धरानलाई राजधानी घोषणा गर्न मागसहित आन्दोलिनमा उत्रनु परेको बताए। अधिकांश प्रदेश सांसद विराटनगरको विपक्षमा देखिँदा समेत नेकपा पार्टी नेतृत्वले विराटनगर र इटहरीलाई जोडेर राजधानी घोषणा गर्नु गलत भएको बताए।

स्वास्थ्य, शिक्षा र भौगोलिक आधारमा सुविधा सम्पन्न बहुसाँस्कृति, बहुआयामिक र बहुधार्मिक धरान वातावरणीय हिसावले राजधानी बनाउन उपयुक्त रहेकाले धरानलाई राजधानी बनाउनु पर्ने आफूहरुको मुख्य मुद्दा रहेको संघीय लिम्बूवान पार्टीका सुनसरी अध्यक्ष अमर इजमले बताए। टोलीले प्रदेशका मुख्यमन्त्री शेरधन राई, सभामुख प्रदीपकुमार भण्डारी, नेकपा प्रदेश इन्चार्ज भीम आचार्य र कांग्रेस संसदीय दलका नेता राजिव कोइरालालाई भेटेर धरानलाई राजधानी बनाउन माग गर्दै ज्ञापनपत्र बुझाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.