खुसीको रहस्य

खुसीको रहस्य

जीवनभर मानिस मिहिनेत गर्छ, अनेक प्रपञ्च रच्छ, लोभ गर्छ, ईष्र्यामा जिउँछ, धन कमाउँछ, अरूको भन्दा धेरै संग्रह गर्न संघर्ष गर्दछ। किन आखिर मानिसको जीवनचक्र यसमै बित्छ, के चाहन्छ ऊ भनेर सोध्यो भने सबैबाट जवाफ आउँछ– यसको एक मात्र उद्देश्य हो खुसी हुन। के खुसी धनबाट मिल्छ ? बाहिरी सम्पन्नताबाट मिल्छ ? अहिलेसम्म त्यस्तो भएको पाइएको छैन। कैयन् अनुसन्धान र सम्पन्न व्यक्तिसँगको अन्तरक्रियाले समेत पुष्टि गरेको छ– बाहिरी सम्पदाले मात्र खुसी मिल्दैन। बाहिरी सम्पदाले खुसी जीवनका लागि केही मात्रामा सहजता मिल्ला तर वास्तविक र दीर्घकालीन खुसी मिल्दैन। खुसी आन्तरिक सम्पदा हो र यो भित्रैबाट प्रस्फुटन हुनुपर्छ। भित्रैबाट प्रस्फुटन हुने खुसीका आयाम के हुन् त ?

आफ्नो स्वभावमा जिउनु ः आफ्नो आचरण र स्वभावमा जिउनुुुजतिको खुसी केही हुँदैन। आफ्नो शुद्धात्मामा बाँच्नु, मानवीय गुणवत्ताको पहिचान गर्नु र त्यसलाई नै जीवनशैली बनाउनु स्वधर्म हो। अरूको आचरणको नक्कल गर्नु, अरूसँगै प्रतिस्पर्धामा दौडिनु र आफ्नो पहिचान भुल्नु परधर्म हो।

अरूको खुसीका लागि बाँच्नु, अरूको इच्छाअनुसार कर्म गर्नु र आफ्नो खुसीका लागि विद्रोही बनेर आफ्नो पहिचानमा जिउन नजान्नु पनि परधर्म हो। अरूको इसारामा चल्दैमा खुसी मिल्छ यो जरुरी छैन र प्रायः मिल्दैन पनि। लोभ, मोह, कामना, ईष्र्या, द्वेष सबै अरूकै कारण र अरूकै लागि उब्जिन्छन्। यो आफ्नो आर्जन होइन र पनि मानिस यसकै पछाडि लागेको छ। आज मुलुकको परिस्थिति र अमानवता, भ्रष्टाचार, मै खाऊँ, मै लाऊँको स्थिति पनि स्वधर्म पहिचान गर्न नसक्नुको परिणाम हो।

सद्भावना ः सकारात्मक भावना नभएको व्यक्ति खुसी हुनै सक्दैन। असल विचार र भावनाविना जति नै बाहिरी सम्पदा र इज्जत मिले पनि भित्रबाट व्यक्ति खुसी हुन सक्दैन। व्यक्तिभित्रका नकारात्मक भावनाले सद्भावनालाई टाढा पुर्‍याई दुर्भावना मात्र विकास गराउँछ। प्रेम, स्नेह, वात्सल्य, मैत्री, मंगलकामना, शुभकामना, करुणाजस्ता गुणले परिपूर्ण भएर अरूको भलाइनिम्ति काम गर्न तयार व्यक्ति नै सद्भावनाको गुणले पूर्ण व्यक्ति हो र यही गुणवत्ता भएको व्यक्ति मात्र खुसी रहन सक्छ।

कुनै प्रभाव र अभावमा नरहने, चिन्तारहित, आत्मविश्वासमा बाँच्ने व्यक्ति नै खुसी रहन्छ र अरूलाई पनि खुसी दिन सक्छ।

आफ्नो प्रिय व्यक्तिको नजिक हुँदाको व्यक्ति खुसी रहँदैन र ? त्यसो हो भने जोसँग नजिक भएर कर्म गर्नुपर्छ, सम्बन्ध निर्वाह गर्नुपर्छ, ऊसँग प्रेमपूर्ण व्यवहार किन नगर्ने ? करुणावान् भएर अरूलाई पनि केही गर्न सकेको क्षणजस्तो खुसीको क्षण केही हुँदैन। सबैलाई मित्रजस्तो ठानेर मित्रवत् व्यवहार गर्न जानेमा दुःखी हुनुपर्ने अवस्थै रहँदैन। परस्पर आदर, सद्भावना, प्रेम, मित्रता कायम राख्न आफैंबाट सुरु गर्ने व्यक्ति नै खुसी रहन सक्छ। ससाना कुरामा पनि गुनासो मात्र गर्ने र सधैं गुनासोमा बाँच्न चाहने व्यक्ति खुसी हुनै सक्दैन। गुनासोमा होइन प्रसन्नता, धन्यवाद र अहोभावमा जिउने व्यक्ति नै जीवनभर खुसी रहन सक्छ।

सत्यवादी ः सत्य के हो, सत्य कर्म के हो थाहा नपाउने व्यक्ति खुसी कसरी होला र ? आफूले सत्य अरूका लागि हानि हुने काम नगरौं भन्ने व्यक्ति नै सत्यवादी व्यक्ति हुन्। मधुरभाषी, सरल, सहज, अरूको प्रसन्नतालाई ख्याल गर्ने व्यक्ति चाहेर पनि दुःखी हुन सक्दैन। झूटो बोल्ने, झूटा आश्वासन बाँड्ने, भ्रष्ट आचरण भएको व्यक्तिले अरूलाई खुसी दिन सक्दैन र आफू पनि खुसी रहन सक्दैन। यस्ता व्यक्तिको भित्र द्वन्द्वात्मक भावना चलिरहेको हुन्छ। एक झूट सम्हाल्न सयौं झूट सँगै बोल्नुपर्ने हुन्छ। जो प्रेमल र सत्यवादी छ, उसको जीवन भित्रैबाट अखण्डित हुन्छ, भित्र कुनै द्वन्द्व बाँकी रहँदैन। सत्यवादी व्यक्ति हरेक परिवर्तन र प्रतिकूलतालाई पनि सहजै स्वीकार गर्छ। जिद्दी, घमण्डी, मैले चाहेअनुसार नै हुनुपर्छ भन्ने व्यक्ति कहिल्यै खुसी रहन सक्दैन। जीवनका प्रत्येक चुनौतीलाई गुनासोको रूपमा नलिई सहज सामना गर्न जान्ने व्यक्ति नै सत्यवादी कहलिन्छ।

निर्भयता ः भविष्यप्रतिको स्वीकार भावमा जिउने व्यक्ति नै निर्भयतामा बाँच्न सक्छ र ऊ सधैं खुसी रहन्छ। चुनौती र घटनासँग डर मान्ने व्यक्ति सधैं दुःखी रहन्छ। आज जे मिलेको छ त्यसलाई स्वीकार गर्ने कला निर्भयताको कला हो। भोलि के होला भन्ने चिन्ता भय हो। जीवनलाई सुझबुझका साथ बाँच्नुपर्छ, भय र चिन्ताले ग्रस्त भएर होइन। चिन्ताले कुनै समस्या समाधान गर्दैन बरु रोग बढाउने काम मात्र गर्छ। कुनै प्रभाव र अभावमा नरहने, चिन्तारहित, आत्मविश्वासमा बाँच्ने व्यक्ति नै खुसी रहन्छ र अरूलाई पनि खुसी दिन सक्छ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.