निस्सार जीवनलाई घोचपेच
तीर्थ श्रेष्ठले लेखेको एउटा चर्चित कविता छ जसलाई आभासले गाएका पनि छन्। जीवनको निस्सारताको सन्देश दिने त्यो कविताले भन्छ—
हामीले लेखेर आएका छौँ
एकछिनपछि हिउँ थपियो भने
रहनेछैनन् हाम्रा नामहरू
एकछिन पछि घाम लाग्यो भने पनि
बाँकी रहनेछैनन् हाम्रा नामहरू
हामी रहँदा रहँदै
नरहने हाम्रा नामहरू
हामी नरहँदा कसरी रहलान
हाम्रा नामहरू
तीर्थको यस कविताले निहिलिजमको अर्थ बोकेको छ जसलाई निस्सारताका रूपमा अथ्र्याउन सकिन्छ। यही कविताको कलात्मक वाचनसहित सुरु भएको नाटक साविति (दि कन्फेसन)मा प्रतिष्ठित भारतीय थिएटर कलाकार अनुराधा मजुमदारको वजनदार एकल प्रस्तुति छ। दिल्लीस्थित साउथ एसियन युनिभर्सिटीमा नाटक मञ्चन हुँदा हल भारतीय, बंगलादेशी, नेपाली, अफगानी, भुटानी र श्रीलंकाली र पाकिस्तानी दर्शकले रुचिसाथ हेरेका थिए।
सार्क राष्ट्रका विद्यार्थीको साझा विश्वविद्यालय भएकाले पनि विभिन्न देशका विद्यार्थीको संलग्नता देखिएको हो। नाटक प्रमुखतः अंग्रेजीमा र अन्य थुप्रै संवाद हिन्दी, नेपाली र बंगाली भाषामा पनि थियो। नाटक स्वर्गीय जगदीश घिमिरेको उपन्यास सावितिमा आधारित छ। सामाजिक बेथितिमाथि लेखिएको उपन्यास साविति घिमिरेको पुरानो कृति हो। नेपालको त्यही पुरानो परिप्रेक्ष्यलाई समकालिक बनाएर प्रस्तुत गरिएको नाटकको प्रमुख सार शून्यवाद हो।
नाटककी एक मात्र पात्र भारतीय मूलकी भएर पनि हुनुपर्छ। नाटकका संवादमा हिन्दी भाषाको जगजगी आइरहेको सुनिन्थ्यो। यसका केही अन्य कारण पनि छन्, नाटक रिहर्सललगायतका अन्य सम्पूर्ण काम भारतमै गरिएको हुनाले भारतीय समाजको एउटा पाटो मिसिन गएको हुन सक्छ। जुन आफैँमा प्राकृतिक पनि मान्न सकिन्छ।
प्रयोगवादी नाटकको एउटा जटिलता निश्चित अर्थ भेट्टाउनुमा हुन्छ। बहुआयामिक अर्थ र भाव बोकेका प्रयोगशील संवाद, हाउभाउ तथा सेटिङबाट एउटै अर्थ निकाल्न सकस हुन्छ वा भनौँ यो सम्भव चिज पनि होइन। डेरिडा जस्ता डिकन्स्ट्रक्सन सिद्धान्तका प्रणेताले भनेका छन् त ः एभ्री इन्टरप्रिटेसन इज भ्यालिड, नो इन्टरप्रिटेसन इज फाइनल।साविती नाटक आफैँमा प्रयोगवादी, अब्स्ट्राक्ट र शून्यवादको सार बोकेको जटिल काम हो। सामान्य कथा र त्यसको सिक्वेन्स चाह गर्ने दर्शकलाई लागेको थियो, यसको कथा के हो ? मञ्चमा एउटी केटी निरन्तर ४५ मिनटसम्म किन फतफताइरहेकी होली ?
कथाको कुनै निश्चित गणित नभए पनि यसकी पात्र निरश जीवन बाँचिरहेकी छ, ऊ वैचारिक रूपमा जटिल परिस्थिति भोगिरहेकी छ, ऊ समाजकी मिसफिट हो, समाजका विकृतिबारे गम्भीर व्यंग्य गरिरहेकी छ भन्ने कुराहरू प्रस्ट हुन्छ। अधबैंसे उमेरकी उसमा एक्लै केक काटेर खाएर, मुखभरि केक पोतेर रंगीन जन्मदिन मनाउने चाह पनि छ। त्यसैले ऊ त्यसै गर्छे पनि। समाजप्रति उसका अनेकन कम्प्लेन छन्, अनेकन व्यंग्य छन् र अनेकन दुखमनाउ पनि छन्। आधुनिक समाजप्रति उसको एउटै बुझाइ एउटै शब्दमा व्यक्त गर्दा सायद ‘ढोङ’ शब्द सही ठहरिएला।
नाटक दक्षिण एसियाली सम्पूर्ण समाजको ऐनाका रूपमा प्रस्तुत थियो। यसमा महिलाप्रतिको विभेदयुक्त सोच, समकालीन भ्रष्ट समाजको चरित्र र सामाजिक सांस्कृतिक बेथितिपूर्ण संरचनाको श्रापित अनुहार पनि देखाउन खोजिएको छ। नाटकमा अभिनय गरेकी अनुराधा यही श्रापित समाजको एक मिसफिट चरित्रका रूपमा प्रस्तुत भएकी हुन्। तीर्थ श्रेष्ठको कविताले भनेझैँ हिउँमा नाम लेख्नुको बेअर्थी सारमा जीवन बाँच्न अभिशप्त छिन् पात्र। हिउँमा नाम लेख्ने बेअर्थी कष्टमा मान्छे लागेको छ। तर हिउँ थपिए पनि वा बिलाएर गए पनि दुवै अवस्थामा लेखिएको नाम नमेटिई सुखै छैन। मानव त्यही सिसिफसको कथा जस्तै बिनाअर्थको जीवन जिउन अभिशप्त छ, यही सत्य देखाउने प्रयास हो निर्देशकको।
काठमाडौँस्थित थिएटर भिलेज, दिल्लीस्थित आर्ट आश्रम र नेपाली दूतावासको संयुक्त प्रयासमा मञ्चित नाटक प्रतिभाशाली युवा निर्देशक विमल सुवेदीले निर्देशन गरेका हुन्। घिमिरेको उपन्यासबाट अडप्ट गराइ नाटकको रूप आफैंले दिएका निर्देशक सुवेदी र एकल अभिनय गरेकी अनुराधा मजुमदार दिल्लीकै प्रतिष्ठित नेसनल स्कुल अफ ड्रामाका ग्राजुएटहरू हुन्। मजुमदारले नेपालमा पनि बाँकी उज्यालो जस्ता चर्चित नाटकमा अनुप बरालसँग मञ्च साटेर अभिनय गरिसकेकी छन्, काठमाडौँको गुरुकुल थिएटरमा केही वर्ष पहिले। अहिले स्टेट युनिभर्सटी अफ पफर्मिङ एन्ड भिजुअल आर्ट्समा अभिनय विभागमा अध्यापनरत अनुराधा आर्ट आश्रमकी संस्थापक पनि हुन्। पाकी अभिनेत्रीको अभिनय निकै खारिएको देखिन्थ्यो नाटकमा।
प्रयोगवादी लाग्ने उपन्यासको शैलीलाई नाटकमा पनि पक्रिएर त्यस्तै टोनमा प्रस्तुत भएको छ। उपन्यासबाट अडप्ट गरिएकाले नाटक आफैँ उपन्यासको कथासँग जस्ताको तस्तै मेल त खाँदैन नै। जीवनको अन्तिम क्षणमा माइलोमा क्यान्सरबाट पीडित लेखक घिमिरेको अन्तिम समय दुरुह थियो। भयानक पीडाको सो समयमाजस्तै नाटकमा पनि पात्रमार्फत त्यही पीडाको चरित्र पस्कने प्रयास प्रशंसनीय देखिन्थ्यो। नाटक हेर्न आएका भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यको गम्भीर भावभंगिमामा प्रशंसा पनि मिसिएको स्पष्ट देखिन्थ्यो।
नाटक साविती यही निस्सार जीवनलाई गरिएको
घोचपेच हो।
@CPAryal दक्षिण एसियाली विश्वविद्यालय नयाँ दिल्लीमा समाजशास्त्रमा विद्यावारिधि शोधरत छन् ।