‘कन्ट्रोल रुम’बाट. . .
मञ्चमा उज्यालो छर्ने कन्ट्रोल रुम आफैं भने अँध्यारो छ। म शिल्पी नाटकघरको त्यही अँध्यारो कोठामा छु। सधैं दर्शकको सिटबाट नाटक हेर्ने म कन्ट्रोल रुमबाट नाटक सुरु हुनुअघिको ‘वार्म अप’ हेर्न पाउँदा रमाइरहेको छु।
स्कुले बच्चाहरूको भोगाइमा आधारित नाटक ‘आँधीको मनोरम नृत्य’का कलाकारहरू मञ्चमा यताउता फन्को मारिरहेका छन्। कोही उफ्रिँदै, कोही चिच्याउँदै। एउटा समूह संवाद घोक्दै, अर्को नाच्दै–गाउँदै। दाहिने कुनाबाट स्मारिका फुयाँल गाइरहेकी छन्, ‘वी विल, वी विल रक यु।’
साँझको ५ बज्नै लागेको छ। म बाहिरको माहोलको अड्कल काट्छु। शिल्पी परिसरको डबली क्याफेमा नीर शाह र भूषिता वशिष्ठको ‘बाथटब गफ’ चलिरहेकै होला। केही दर्शक टिकट काटिओरी ‘कफी गफ’मा मस्त होलान्। कोही जाम छिचोल्दै हतार–हतार नाटकघरमा आइपुग्दै होलान्।
भित्र मञ्चमा निर्देशक युवराज घिमिरे भने एक–एक कलाकारको नजिक गई ‘यहाँनेर यस्तो गर्नू है’ भन्दै छन्। नवरस अभ्यासको क्षण सबैभन्दा रोचक हुने रहेछ। हरेक कलाकारलाई नवै रस समेट्ने विभिन्न संवाद र हाउभाउ दोहोर्याउन लगाउँछन् उनी। हह, हाहा, हिही, हुहु, हेहै... केके हो, केके ! हाँस्दाहाँस्दै रुन सक्ने र रुँदारुँदै हाँस्न सक्ने कलाकारका कला देखेर दंग पर्छु।
झन्नै तीन दर्जन कलाकारको समूहले एकै पटक ‘नाट्येश्वरीकी जय’ भनेपछि युवराज सोध्छन्, ‘आर यु रेडी ?’ आत्मविश्वासले भरिएको सामवेत जवाफ आउँछ, ‘यस् सर।’
यत्तिकैमा तलबाट कोही बोल्छ, ‘अल द बेस्ट मानाङ दाइ।’ कन्ट्रोल रुमको कुर्सीमा बसेर लाइट चेक गरिरहेका मानाङ लावती आफे लामो जुल्फी मिलाउँदै चिच्याउँछन्, ‘अल द बेस्ट भाइ।’
साढे पाँच बज्नुअघिको जनाउ घन्टी बज्छ। दर्शकहरू आ–आफ्नो सिटमा बसेको माथिबाटै अनुमान लाउँछु म। अघिसम्म शान्त देखिएका मानाङ अब थोरै अशान्त बन्छन्। स्टेजमा प्रकाश पार्न र नियन्त्रण गर्न प्रयोग हुने डिमर र कन्सोलर ठीक छन्÷छैनन्, जाँच्छन्।
मञ्चतिर फर्किएका उनको देब्रे छेउमा एफोर साइजका पेपरहरू छन्, जहाँ प्रकाशको मात्रा र दृश्यबारे केही टिपिएको छ। छेवैमा सिन १, सिन २...लेखिएको नोटबुक पनि छ। घरिघरि त्यही नोटमा हेर्दै ‘सबै ठीक छ’को भावमा उनी विश्वस्त देखिन्छन्।
दर्शकहरू प्रवेश गर्ने समय भएपछि ‘अडियन्स लाइट’ बल्छ। निर्देशक घिमिरे नाटकघर सञ्चालकको भूमिका निर्वाह गर्दै बोल्छन्, ‘शिल्पीको गोठाले नाटकघरमा तपाईंहरूलाई हार्दिक स्वागत छ।’ करिब एक मिनेटको नियमित घिमिरे उवाच सकिएलगत्तै रातो पर्दा खुल्छ। तपाईंलाई लाग्न सक्छ, अब नाटक सुरु भयो।
अहँ ! एकछिन पर्खनुस्, यो समय अँध्यारोको हो।
यही एक निमेषको अँध्यारोले त हो, तपाईं–हामीलाई नाट्य लोकको बाटो देखाउने। आरम्भ होस् वा अन्त्य, अँध्यारोदेखि अँध्यारोसम्मको दर्शन लुकेको हुन्छ हरेक नाटकमा। यत्ति मात्र ध्यान दिनुस्, मञ्चमा छाउने उज्यालो होस् वा अँध्यारो, यसको नियन्त्रण कन्ट्रोल रुमबाट भइरहेको छ।
दर्शकलाई केही सेकेन्डसम्म अँध्यारोमा राखिसकेपछि नाटक सुरु हुन्छ। मेरो ध्यान नाटकभन्दा बढी लावतीका औंलाहरूमा गढेको छ। कन्सोलर र डिमरले प्रकाशको मात्रामा ल्याउने उतारचढाव र त्यसबाट पोख्ने रंगका विविधिता नियाल्दै छु म। कन्ट्रोल रुममा चलिरहेको अँध्यारो–उज्यालोको जोडघटाउले मञ्चको माहोलमा छिनछिनमै परिवर्तन ल्याइरहेको छ।
तल बसेका हरेक दर्शकले कुन दृश्य र कुन पात्रलाई हेर्ने माथिबाट फ्याँकिएको प्रकाशले भनिरहेको छ। उनीहरूमाथि भइरहेको कन्ट्रोल रुमको यो नियन्त्रण सम्भवतः धेरैलाई थाहै नहोला। उनीहरू त ‘ला ! निसिमको भविष्य के होला ?’ भन्ने सुर्तामा डुबेका होलान्।संवेदनालाई झनै सघन बनाउने प्रकाशको खेल हेर्दाहेदै एक घन्टा बीस मिनेट सकिन्छ।
म कन्ट्रोल रुमबाहिर निस्केर यसका हर्ताकर्ता सबिन कट्टेल र झकेन्द्र बीसीलाई गुहार्छु। उनीहरू दुवै अघिसम्म नाटकमा शिक्षक र बुवाको भूमिकामा थिए। नेपथ्य कर्म बुझाउने यो गफमा घिमिरे र लावती पनि जोडिन्छन्।
गुरु घिमिरेबाटै कुराकानी सुरु हुन्छ, ‘रंगमञ्चमा रिहर्सल ५० प्रतिशत हो भने लाइट, पहिरन, ध्वनि, संगीत, मञ्चको साजसज्जा बाँकीको ५० प्रतिशत। तर हामीकहाँ घुमिफिरी कथा र अभिनयकै कुरा बढी हुन्छ।’
आधुनिक रंगमञ्च–कला दक्ष प्राविधिक जनशक्तिको अभावमा भुत्ते हुन्छ। उहिले राणाकालमै सिंहदरबारभित्र मञ्चन हुने नाटकहरू स्रोतसाधनका हिसाबले पनि भव्य हुन्थे। कतै पढेको कुरा सम्झिँदै भन्छन्, ‘बिजुली चम्केको दृश्य देखाउनलाई पानी भरिएको भाँडोमा सिसालाई चलाउँदै सेतो पर्दामा प्रकाशको रिफ्लेक्सन फालिन्थ्यो।’
शासन व्यवस्था परिवर्तन हुँदा दरबारभित्रका स्रोत, साधन, सीप र ज्ञान हस्तान्तरण हुने वातावरण बनेन। राज्यबाटै संरक्षण पाएका नाट्य संस्थाले समेत विगतको स्रोत, साधन र ज्ञानबाट फाइदा उठाउन सकेनन्। वर्तमान समयमा नागरिक स्तरबाट सञ्चालित नाट्य संस्थाहरू सामान्य भौतिक पूर्वाधार निर्माणकै लागि संघर्षरत छन्। त्यसैले रंगमञ्चका लागि खाँचो पर्ने दक्ष प्राविधिक जनशक्ति पढेर हैन, परेर वा गरेरवाला सूत्रमा चलिरहेको छ। प्राविधिकतर्फ धेरै काम सिकारु कलाकारहरूले धानिरहेको अवस्था छ।
शिल्पीका प्राविधिकहरूको अनुभवले पनि यही भन्छ। कट्टेल सुनाउँछन्, ‘सुरुमा मेरो प्राथमिकतामा अभिनय र नृत्य थियो। तर, जीवन बराल दाइलाई सघाउँदा सघाउँदै लाइट डिजाइनिङतिर आकर्षित भइयो।’
शिल्पीमा लामो समय कन्ट्रोल रुम सम्हालेका बराल आफैंपनि कुनै तालिम पाएर प्रकाश संयोजक बनेका थिएनन्। तर उनले सँगालेको अनुभव नै कट्टेललाई कन्ट्रोल रुमको कखरा सिकाउने आधार बन्यो। अचेल कट्टेललाई कन्ट्रोल रुममा सघाउने बीसी र लावतीको कथा पनि उही हो।
गत वैशाख ११ मा तेह्रौं वार्षिकोत्सव मनाएको शिल्पी नाटकघरमा वर्षमा दुई पटक अभिनय कक्षा हुन्छ। तर आजसम्म प्राविधिक सिकाइ सानातिना वर्कसपमै सीमित छन्। प्राविधिक पाटोप्रतिको यो उपेक्षा र रिक्तताको मुख्य कारण विषयको विधिवत् ज्ञान बाँड्ने गुरुहरूको अभाव हो।
हामीकहाँ नाटकको प्राज्ञिक पढाइ हुने ठाउँको अभाव युवराजजस्ता निर्देशकलाई खट्केको छ। यसैमा थप्छन्, ‘यस क्षेत्रमा आउन चाहने कलाकारमा पनि प्राविधिक विधामा पोख्त हुने रुचिको अभाव देखेको छु।’ प्राविधिकमा सीमित हुँदा करिअर र चर्चा दुवै पक्षमा जोखिम बढी छ। त्यसैले धेरै विद्यार्थी अभिनय र निर्देशनतर्फ आकर्षित छन्।
औपचारिक सिकाइको अभावै सही, हालसम्म शिल्पीमा मञ्चन हुने नाटकका लागि प्राविधिक कक्षमा बसेर काम गर्नेहरूको अनुभव भने रोचक छ।
‘रंगमञ्चलाई समग्रतामा बुझ्न कम्तीमा दुई वर्ष अभिनयसँगै धेरै थोरै सबै काम सिक्नु पर्छ।’ कक्षामा निर्देशक घिमिरेले दोहोर्याइरहने यही भनाइलाई विद्यार्थीहरू प्राविधिक पक्षको ज्ञानको आधार मान्छन्।
पश्चिम नेपालको कैलालीबाट आएका झकेन्द्र हुन् वा पूर्वेली सबिन र मानाङ, उनीहरूको प्राविधिक सिकाइको आरम्भ भर्याङ पक्रने कामबाट हुन्छ। भर्याङ बोक्न सिकेपछि उनीहरू लाइट खोल्ने र पुछ्ने काम सिक्छन्। अनि लेन्सहरू मिलाउने र झुन्ड्याउने काम गर्दै लाइट डिजाइनिङसम्म पुग्छन्। यही क्रममा केही विद्यार्थी मञ्चको साजसज्जा र ध्वनितिर आकर्षित हुन्छन्।
‘वायर प्लगिङजस्ता काम गर्दै बिस्तारै कुन एंगलबाट कुन दृश्य वा पात्रमा कसरी कस्तो लाइट फ्याँक्ने भन्ने कुरा सिकियो।’ दाह्री सुमसुम्याउँदै सबिनको कुरा सुनिरहेका झकेन्द्र थप्छन्, ‘त्यसरी नै क्रमशः कुन सिनमा कतिवटा लाइट बाल्ने, लाइट प्याचिङ कसरी गर्ने अनि मञ्चमा छाया कसरी काट्ने भन्ने ज्ञान बढ्यो।’
मञ्चमा प्रायः छिनछिनमै पात्र, घटना र परिवेश बदलिइरहन्छन्। मञ्चमा हुने हरेक परिवर्तनलाई कथाको भावअनुसार प्रकाशका माध्यमले ठीक समयमा भन्न सकिएन भने गडबड हुन्छ। हरेक मिलिसेकेन्डको महत्व भएकाले जोखिमपूर्ण छ यो काम।
कुन पात्र स्टेजमा आयो, गयो सबको हेक्का राखेर चनाखो भई काम गर्नुपर्छ। बीसी भन्छन्, ‘भनेकै बेला तोकिएको लाइट बलेन भने सब बरबाद हुन्छ। सामान्य गडबडीमा पनि नआत्तीकन काम गर्ने धैर्य चाहिन्छ।’
कन्ट्रोल रुमको अभिभारा बोकेको पहिलो अनुभव नढाँटी सुनाउँछन् मानाङ, ‘हो, यहाँ पसेपछि आफैं नर्भस भइने रै’छ, हात काम्ने रै’छ।’ मानाङ र लावतीलाई सिकाउने कट्टेल ठट्टा गरेझैं पीडा पोख्छन्, ‘हेर्नुस्, कन्ट्रोल रुममा काम गर्नु भनेको शरीरको वजन घटाउनु हो।’
कन्ट्रोल रुममा छिरेपछि जो पनि ‘ओभरकन्सियस’ हुन्छन् रे ! तैपनि गल्ती भइरहन्छ। उनीहरूसँग आफूले गरेको गल्ती तत्कालै सच्याउन पाउने सुविधा छ। तर, रिहर्सलमा तयारी गरेविपरीत अरूले कुनै गल्ती गरेमा भने आपतै पर्छ।
झकेन्द्र भन्छन्, ‘कन्ट्रोल रुमबाट कहाँ के बिग्रिन्छ सबै देखिन्छ। त्यस्तो बेला दोहोरो तनाव हुन्छ हामीलाई।’ उता स्टेजमा पूर्वयोजनाअनुसार सबै कुरा बग्यो भने यता उनीहरूलाई पनि मजा आउँछ। सबिन थप्छन्, ‘सबै ठीकठाक हुँदा काम गर्ने छुट्टै इनर्जी आउँछ। नत्र त हाम्रो माइन्ड डाइभर्ट भइदिन्छ।’
पाँज बजे नाटक सुरु हुँदै छ भने उनीहरू दुई घण्टाअघि नै कन्ट्रोल रुममा छिर्छन्। अनि केही बिग्रेको भए बनाउँछन्, नत्र आरामले वार्मअप हेर्छन् र आफूलाई नाटकको भावमा ढाल्छन्।
सबैभन्दा सुरुमा कति मान्छे आए भन्ने चासो हुने रै’छ उनीहरूलाई। धेरै दर्शक आउँदा उत्साह बढी र मान्छे थोरै आएका दिन जाँगर कम। अनि दर्शकदीर्घामा कोको छन् भनेर पनि चियोचासो गर्छन्।
लाइटबारे बुझ्ने कोही छ कि छैन भन्नेमा ध्यान जान्छ उनीहरूको। सहरकै अर्को नाटकघरका प्रविधि बुझ्नेहरू नाटक हेर्न आएका छन् भने नाटक सकिएपछि तिनले के भन्लान् भन्ने चिन्ता लागिरहन्छ। यस्तो बेला उनीहरू परीक्षा दिन बसेको विद्यार्थीझंै डराउँछन् पनि।
कन्ट्रोल रुममा काम गर्नेहरू मञ्चमा हुने हरेक गतिविधिप्रति चनाखो मात्रै हुँदैनन्, कुन दर्शकले कति मजा लिइरहेछ भन्नेतर्फ पनि उनीहरूको ध्यान तानिइरहेको हुन्छ। आफ्ना साथी, आफन्त आएका छन् भने त उनीहरू रमाइरहेका छन् कि छैनन् होला भन्नेसम्मको खुल्दुली हुन्छ।
शिल्पीमा ‘माधवी’को मञ्चन भइरहेको थियो। एक जना कलाकारले संवाद बिर्सिए। कन्ट्रोल रुमबाटै कसैले त्यो संवाद बोलिदिएछन्। धेरैका लागि यो गल्ती ठहरियो होला। तर कट्टेल र बीसीको फरक मत छ। भन्छन्, ‘हामी हरेक संवाद र दृश्यसँग कतिसम्म जोडिएका हुन्छौं भन्ने कुराको राम्रो उदाहरण हो यो।’
प्रकाश संयोजनको काम गर्नेहरू प्राविधिक मात्र हैनन्। मञ्चमा उपस्थित नहुँदा पनि उनीहरूको सोच मञ्चमै हुन्छ। त्यो सोच प्रकाशका रङ र किरणमा मिसिएर पोखिइरहेको हुन्छ। संवेदनालाई प्रविधिमा घोलेर आउँछन् उनीहरू।
मञ्च र कन्ट्रोल रुमको यस्तै अन्तर्सम्बन्धले उनीहरूलाई नाटकका हरेक दृश्यले हसाउँने, रुवाउने, कुतकुती लाग्ने बनाइराख्छ। कसैले राम्रो गर्दा मनमनै ‘वाह, गज्जब !’ भनिरहन्छन् भने कसैले केही बिगारे ‘धत् !’ समेत भन्छन्। कन्ट्रोल रुममा हुनेहरू कहिले पात्र बनेर बाँच्छन्। कहिले दर्शक बनेर हाँस्छन्–रुन्छन्।
निर्देशकको अवधारणा र कलाकारका संवेदनालाई दर्शकसामु सशक्त ढंगले पुर्याउने माध्यम हो प्रविधि। यसको प्रभावकारिता बढाउने एउटा आधार हो, पर्याप्त रिहर्सल। तर ‘प्ले रिडिङ’को तुलनामा ‘टेक्निकल रिहर्सल’का लागि निकै कम समय छुट्याइने कट्टेल र बीसीको अनुभव छ।
पहिलो नाटक ‘कोमा’देखि हाल चलिरहेको ‘आँधी’को मनोरम नृत्यसम्म आइपुग्दा शिल्पी नाटकघरमा बल्ने लाइटको संख्या १२ बाट ४८ पुगिसकेको छ। संख्यासँगै लाइटको गुणस्तर पनि बढेको छ। पछिल्लो समय ल्याइएका आधुनिक डिमर र कन्सोलरहरूले काम गर्न सहज बनाएको छ। एउटै स्विच अन गरेर दर्जनौं बत्ती बाल्नेदेखि, रङ र इफेक्टसमा खेल्न सकिने भएको छ।
प्रविधिमा पहँुच बढे पनि नाटकको गुणस्तरमा त्यसले कस्तो प्रभाव पारिरहेको छ त ? यस विषयमा भने समीक्षा र मूल्यांकनको खाँचो देखिन्छ। किनकि रंगमञ्च अध्येता शिव रिजालले भनेजस्तै आजसम्म नेपाली बौद्धिक वर्गमा रंगमञ्चलाई साहित्यको एक भागका रूपमा मात्रै हेर्दै आइएको छ। रिजालले इंगित गरेको बौद्धिक वर्गमा रङ र कला क्षेत्रका बौद्धिक पनि पर्ने नै भए।
@meeprabhakar