मेरा लागि लेखन एक अभियान

मेरा लागि लेखन एक अभियान

भारतकी विख्यात प्रगतिशील एवं विद्रोही लेखक महाश्वेता देवीको २०७३ साउन १३ गते कोलकातामा निधन भयो। सन् १९२६ मा पश्चिम बंगालको जिन्दापुरमा जन्मेकी उनको ९० वर्षको उमेरमा निधन भएको थियो। उनको निधनप्रति भारतका सबै जनता विशेषतः भारतका उत्पीडित जनताले आफ्नो दुःखलाई लेखिदिने पूजनीय व्यक्तित्व गुमाएको महसुस गर्दै छन्। सयौं कथा, उपन्यास, लेख रचना, आत्मसंस्मरण लेखेका महाश्वेता देवीको ‘हजार चौरासीकी माँ’ प्रसिद्ध छ। उनी साहित्यकार मात्र नभएर आफैं न्यायपूर्ण विषयहरूमा बोल्ने, जुलुस गर्ने, प्रहरी दमनको सामना गर्ने, जनतालाई जागरुक बनाउने अभियन्ता पनि हुन्। सन् २०११ मा दिल्ली विश्वविद्यालयअन्तर्गत क्लस्टर इनोभेसन सेन्टरका अंगे्रजी भाषाका सहप्राध्यापक डा.नन्दिनी चौधरी सेनले गरेको अन्तर्वार्तालाई लेखक नीरज लवजूले नेपालीमा उल्था गरेका छन्।

महाश्वेता देवीसँगको भेटघाटको अनुभव अवर्णनीय थियो। उनी कोठाभित्र रमाउने प्राज्ञहरूसँग कुराकानी गर्न त्यति रुचाउँदिनन् भन्ने कुरा सुनेकी थिएँ। त्यसकारण सुरुमा त म केही आपत् परिहाल्छ कि भनी डराएकी पनि थिएँ। तर उनले चाँडै नै मेरो मनको भय शमन गरिदिइन्। एक घण्टाका लागि समय मिलाइएको अन्तर्वार्ता दुई घण्टा लम्बियो। अन्तर्वार्तामा उनले सिनगुर र नन्दीग्राममा आफ्नो सक्रिय अभियानको पछिल्लो अवस्थाबारे सविस्तार चर्चा गरिन्। 

 महाश्वेता देवीको सबभन्दा पहिले प्रभाव पार्ने पक्ष भनेको उनको सरलता र हाकाहाकी बोल्ने स्वभाव हो। उनको हक्की स्वभाव निर्ममतासम्म जान सक्छ। तर फेरि उनी केटाकेटी जत्तिकै सरल छिन्। सबै गरिब र अभावले पिरोलिएकाहरूका लागि उनको मन सद्भावले ओतप्रोत हुने गरेको छ। उनले धेरै समय र गहिराइमा गएर अधिकांश आदिवासी र मूल धारमा नअटाएका समुदायसँग काम गरेकी छन् र उनीहरूका निम्ति महाश्वेतादेवी ‘माँ’ हुन्। 

उनको स्वास्थ्य दिनानुदिन कमजोर बन्दै गएको छ। तथापि उनी घण्टौं–घण्टासम्म एक क्षण पनि आफ्नो ढाडलाई आराम नदिई लगातार काम गरिरहेकी हुन्छिन्। कोलकाताको उखरमाउलो गर्मीमा कहिलेकाहीँ चल्दै गरेको पंखा बन्द हुन्छ । तर त्यो प्रतिकूल परिस्थितिलाई पनि निमेषभरमै आफ्नो नियन्त्रणमा लिएर भन्छिन्, ‘अमार असुवेधी होए ना’ (मलाई कुनै असुविधा भएको छैन।) उनको फोनको घन्टी लगातार बजिरहेको हुन्छ। उनले चिकित्सक र सहयोगीहरूलाई नन्दीग्रामको अस्पतालमा सहयोग गर्न आह्वान गरेकी हुनाले त्यही विषयमा कुराकानी गर्न उनको टेलिफोन हल्ला गरिरहेको हुन्छ। 

 महाश्वेता देवीले आफूलाई पश्चिम बंगाल सरकारको आँखामा ‘खतरनाक अपराधी’ भएको भन्दै गर्दा उनको व्यंग्यचेत चोटिलो प्रकारले अभिव्यक्त भइरहेको थियो। उनी आफू र आफ्नो कलमले बगरेको चक्कुको जस्तो धार दिने गरेको संसारको विषयमा मज्जाले हाँस्ने क्षमता राख्छिन्। उनले हरेक घटनाको मिति र घटानक्रम कति पनि नअलमलिईकन राखेको सुन्दा म उनको स्मरणशक्ति देखेर चकित परेँ। त्यसो हुनुको कारणबारे खोतल्दै उनले इतिहासप्रतिको आफ्नो मोहबारे कुरा तुनिन्— त्यो इतिहास पाठ्यपुस्तकमा पढाइने खालको होइन बरु वाक्य–वाक्यबीचमा अदृश्य मसीले लेखिएका इतिहासको हो त्यो। उनी जनताका इतिहासका व्याख्याता हुन्, जसलाई मूल धारले सधैं ओझेलमा राख्न खोजिरहेको हुन्छ। तर उनी आफूलाई कहिल्यै ओझेलमा परेकाहरूको पक्षमा बोलिरहे जस्तो लाग्दैन।

उनका अनुसार खासमा गरिब, उत्पीडित र ओझेलमा परेकाहरू सधैं बोलिरहेका छन्। तर उनीहरूका आवाजलाई नसुनिएको मात्र हो र मूलधारको डिस्कोर्सले ओझेलमा धकेलेको मात्र हो। उनी त मात्र ती ओझेलमा धकेलिएको आवाजलाई शब्द भर्ने काम गर्छिन् र प्रकाशमा ल्याउने काम गर्छिन्। ओझेलमा परेकाहरू बोल्न मात्र सक्तैनन्, बरु उनीहरू युगौंयुगदेखि बोल्दै आएका छन्। उनीहरूको आवाज सुन्न संवेदनशील कानको जरुरी पर्छ र महाश्वेता देवी जस्ता लेखकहरूको कलमले जनताको इतिहास निर्माण गर्न सहायता गर्ने गर्छ। भारतको पद्मश्री, पद्मविभूषण, ज्ञानपीठ र म्यागासासे पुरस्कारबाट पुरस्कृत उनी एक जना जीवित विभूति हुन्। लेखक र अभियन्ता एकै समय सँगसँगै हुन सक्छ र दुवैतिर उही उचाइको इमानदारीको साथ हुन सक्छ भन्ने कुरा महाश्वेता देवीले आफ्नो जीवनकालमा प्रमाणित गरेकी छन् र सबै कामदार तथा ओझेलमा पारिएकाहरूका लागि, न्यायका लागि उनको यो काम उदाहरणका रूपमा निरन्तर रहनेछ। 

महाश्वेता देवी, तपाईंको अभियान र लेखनलाई सँगसँगै लानुको प्रमुख अन्तर्यबारे हामीलाई केही बताइदिनुहुन्छ कि ? 

मैले मेरो साहित्यिक यात्रा झाँसीकी रानीको जीवनीबाट सुरु गरेकी हुँ। म इतिहासप्रति निकै चासो राख्छु। मेरा लागि वास्तविक इतिहास दुईवटा छापिएका पङक्तहरूबीचको सेतो रित्तो स्थानमा रहन्छ। किनभने जनताको इतिहास जोकोहीले खोजी गर्नुपर्छ। मेरो पहिलो पुस्तक सन् १९५६ मा प्रकाशित भयो। म त्यति बेला २८ वर्षकी थिएँ। त्यो पुस्तक लेख्न म झाँसी गएँ, ग्वालिएर र अरू धेरै ठाउँमा घुमेँ। ती सबै ठाउँ म एक्लैले नापेँ। त्यहाँका स्थानीय जनताबाट लोकोक्ति, लोकगीत आदि संकलन गरेँ। मलाई आज पनि याद आउँछ— डिसेम्बरको चिसो रात, गाउँलेहरू सबै अँगेनामा आगो ताप्दै बसेका ती दिन। उनीहरूले यस्तो गीत गाएका थिए ः
‘पत्थर मिट्टीसे फौज बनाए
कटसे कटर,
पहाड उठाकर गोरा भगाए
चली ग्वालेयर’

 यो पनि सत्य हो कि मेरो पूरा जीवन म एक जना व्यावसायिक लेखक भएँ वा रहेँ। लेखन नै म आफूलाई र आफ्नो ठूलो परिवारलाई धान्ने एउटै मात्र माध्यम हो। सन् १९७० को दशकपछि म जनताको इतिहास लेखनमा संलग्न भएकी छु। यो स्वाभाविक रूपमा मेरोसामु आएको कुरा हो। मैले यो कुरा सुनाउनैपर्छ, मैले धेरै कसौंडीमा भात पाक्ने सामग्री लेखेकी छु। किनभने एक जना व्यावसायिक लेखकका टाउकामा यस्ता धेरै दबाब आइलाग्ने रहेछन्। यस क्रममा मैले आनन्दबजार प्रकाशन समूहका पत्रिकाहरूमा मात्र लेखेकी होइन। वास्तवमा झाँसीकी रानीको पहिलो प्रकाशन धारावाहिक रूपमा ‘देश’ नामको एउटा अखबारमा भएको थियो। अनि अरू पनि तीन चारवटा कमिसन आउने लेखहरू लेखेँ। त्यसपछि मैले धेरै अखबारमा लेखेँ। सन् १९६० को दशकयता मैले अखबारहरूमा बंगाली भाषामा लेख्ने गरेकी छु। आजभोलि पनि अखबारहरूमा म लेख्ने गर्छु। कुनै समय म आर्थिक तथा राजनीतिक साप्ताहिक, द फ्रन्टियर, द बिजिनेस स्टान्डर आदि अखबारमा लेख्ने गर्थें। अंगे्रजीमा लेख्नु अभियानको निकै महत्वपूर्ण चरण थियो। मैले पालामाओका कमैयाहरूको विषयमा लेखेकी थिएँ। साथै म पश्चिम बंगालका असूचीकृत समुदायका बारेमा लेख्न र उनीहरूको मानव अधिकारबारे लड्न सक्रियतापूर्वक लागेकी थिएँ। सन् १८७१ मा बेलायतले अविभाजित भारतमा जम्माजम्मी दुई सयदेखि दुई सय ५० वटा जातिहरूको सूचीकरण गरेको थियो। पश्चिम बंगालमा जम्मा तीनवटा त्यस्ता सूचीकृत जाति छन्— मेदिनीपुरका लोधा समुदाय, पुरुलियाका खेदिया शोबोर समुदाय र वीरभूमका धिकारोस समुदाय।
 
 त्यो आन्दोलन कसरी भारतभरि फैलियो त ? 

सन् १९९८ मा पुरुलियाको बुधन शाबोरलाई प्रहरीले निर्ममतापूर्वक हत्या गर्‍यो। बेलायतीहरूले यो समुदायलाई अपराधी समुदाय करार गरेका थिए। स्वतन्त्र भएपछि सन् १९५२ मा भारत सरकारले यो समुदायलाई असूचीकृत घोषणा गर्‍यो। अर्थात् उनीहरू अब अपराधी समुदायका रूपमा सूचीकृत भएनन् बरु असूचीकृत भए। बुधनको हत्यापछि मलाई केही कुराले भित्री मनमा घोच्यो। मैले कोलकाता अदालत गएर राज्य सरकारको विपक्षमा मुद्दा दायर गरेँ। सौभाग्यवश हामीले मुद्दा जित्यौं। बुधनकी श्रीमतीले एक लाख भारु क्षतिपूर्ति पाइन्। दुर्भाग्यवश सन् १९९९ मा भद्र शाबोरलाई ढुंगामुढा गरेर हत्या गरियो। किन ? असूचीकृत समुदायलाई प्रहरी, उनीहरूका छिमेकी अथवा जोकोहीले पनि मार्न सक्थे।

सन् १९९७ देखि १९९९ को बीचमा ३७ जना लोधा समुदायका मानिसलाई मेदिनीपुरमा निर्मम तरिकाले हत्या गरियो। तर सरकारले केही गरिरहेको थिएन। अनि सन् १९९२ मा छुनी कोटल नामकी एक जना लोधा केटी मेदिनीपुर आदिवासी छात्रा होस्टलमा सुपरिटेन्डेन्टका रूपमा भर्ती भइन्। तिनी लोधा समुदायमै स्नातक गर्ने पहिलो छात्रा थिइन्। तिनी मेदिनीपुर विद्यासागर विश्वविद्यालयमा मानवशास्त्र विषयमा स्नातकोत्तर तहमा भर्ना भइन्। सरकारले आफ्नो समुदायलाई असूचीकृत गरेको विरोधमा लड्न उनले मानवशास्त्र विषय छानेकी थिइन्। तर तत्कालीन विश्वविद्यालय प्रशासन र स्थानीय प्रशासनले तिनलाई अघि बढ्नबाट रोक लगाए। किनभने तिनी लोधा थिइन्। लोधा भएकै कारण उनलाई आफ्नो उच्च अध्ययन पूरा गर्न रोक लगाइयो र आफ्नो समुदायको सेवा गर्न दिइएन।

तिनले एक जना असल लोधा समुदायकै केटोसँग विवाह गरेकी थिइन्। उनीहरूको जीवन सुखीसँग अघि बढिरहेको थियो। तर मूलधारसँग लड्न नसकेकै कारण तिनले आत्महत्या गरिन्। बुधनको मुद्दा अदालतमा चल्दै गर्दा सन् १९९८ मा डा. जीएन देवीले मलाई बोरोडामा आफ्नो भाषा केन्द्रको इल्विन भाषण शृंखलाका लागि आमन्त्रण गर्नुभयो। मैले त्यहाँ भनेँ, ‘आदिवासीहरूका लागि मात्र काम गर्नु पर्याप्त छैन। असूचीकृतहरूको विषयमा पनि बोल्नु पर्दैन ? ’ त्यही दिन म, डा. देवी र लक्ष्मण गैकवाद सामेल भएर ‘असूचीकृत र घुमन्तु जाति अधिकार संरक्षण समूह’ गठन भयो। अनि हामीले महाराष्ट्र, गुजरात, राजस्थान, मध्यप्रदेश, बिहार, झारखण्ड र पश्चिम बंगालमा हुने हरेक नृशंसता प्रकाशमा ल्याउने काम गर्‍यौं। सुरुमा राष्ट्रिय मानवअधिकार आयोगलाई सबै राज्यमा व्यापक रूपमा मानिस परिचालन गरी स्थलगत अनुसन्धान गर्न र प्रतिवेदन तयार पार्न घचघच्यायौं। मानवअधिकार आयोगका प्रमुख न्यायाधीश वर्माले निकै उत्कृष्ट काम गर्नुभयो र धेरै समस्याको हल गर्न सफल भयौं।

हामीले सबै असूचीकृत जनताका लागि आधारभूत मानव अधिकार माग गर्दै गर्दा उहाँले सबै राज्यका मुख्य सचिवहरूको बैठक आमन्त्रण गर्नुभयो। मलाई खुसी लाग्छ, सन् २००६ मा अर्थात् सन् २००६ जनवरी १४ मा म र गणेश देवी गएर प्रधानमन्त्रीलाई चारबुँदे माग पेस गर्‍यौं। ती मागबारे बुझ्न र भूमि, पुनःस्थापन, विद्यालय र अरू आधारभूत मानवअधिकारमा बजेट विनियोजनका लागि सरकारलाई सहयोग गर्न बालकृष्णा रेन्केको नेतृत्वमा सरकारले एउटा आयोग गठन गर्‍यो। तर दुःखको कुरा, रेन्केले आजसम्म पनि यो विषयका लागि उपयुक्त बजेट माग गर्न सक्नुभएको छैन। असूचीकृत समुदायसँग सम्बन्धित कामहरू डा. देवीको अभिलेखमा मात्र सीमित भएको अवस्था छ।

 सन् १९७० को दशकदेखि सन् २००६ सम्म मैले लगातार असूचीकृत समुदायका विषयमा पनि काम गर्दै आएको छु। डा. देवी र मैले मिलेर भारतको बोरोडा नजिक तेजगढमा पहिलो आदिवासी प्रतिष्ठान खोलेका छौं। मेरा प्रमुख पुस्तकहरूमा धरी मैले यी समुदायका मानिसका विषयमा लेखेकी छु। ‘बासाइ टुडु’ र ‘पेट्रोडाक्टिल’ अंगे्रजी भाषामा अनुवाद भइसकेका छन्। तर सबै भइसकेका छैन। ‘अरानायर’ र ‘अण्डरमणि’ (कोवि मृत्यु) पनि अनुवाद भइसकेका छैनन्।

आफ्ना कृतिहरू अंगे्रजी भाषामा अनुवाद भएकोमा तपाईं खुसी हुनुहुन्छ ? 

किनभने गायत्रीले ‘द्रौपदी’, बे्रस्ट गिभर’, ‘पेट्रोडाक्टिल’ जस्ता कथाहरू अनुवाद गर्नुभयो र अरू भाषाका पाठकले पनि ती कथा पढे। म आफंै अनुवाद गर्दिनँ। त्यसकारण उनी अथवा अरू कोही पनि अनुवादकको मूल्यांकन गर्ने मसँग क्षमता छैन। तब म गौरवका साथ भन्छु, मेरा सबै रचना बंगाली भाषामा विभिन्न खण्डमा आउँदै छन्। १९ खण्ड त प्रकाशित

भइसकेका छन्। सम्पादक अजोय गुप्ताका अनुसार यो काम पूर्ण रूपमा मेरो जीवनकाल वा उनको जीवनकालभरि सकिनेछैन। 
 मेरा लागि लेखन आफैंमा एउटा अभियान हो। सन् १९८२ यता म पुरुलिया खेदिया शोबोर कल्याण समितिमा नजिक रूपमा काम गरिरहेकी छु। म दैनिक १५ देखि १८ माइल हिँड्ने गर्थें। तर आजभोलि म सक्तिनँ। अब म जे गर्छु लेखेरै गर्नेछु। सन् २००६ को नोभेम्बरदेखि म सिंगुर र नन्दीग्रामको विषयमा विस्तृत रूपमा लेख्दै छु। म खुसी छु, चिकित्सकहरू र अरू सहयोगीहरू सोनाचुरा र गोकुलनगरका स्वास्थ्य केन्द्रहरूमा नियमित रूपमा जान थालेका छन्।

त्यसको निम्ति हामी कुनै पैसा मागिरहेका छैनौं। मैले मेरा सहयोगीहरूमार्फत हामीलाई आवश्यक परेका जेनेरेटर, पुराना साइकल, पुराना पंखाहरू आदि मागिरहेका छौं। अस्पतालहरूलाई ती सामान सहयोग गर्न हामी माग गरिरहेका छौं। चिकित्सकहरू महाविद्यालयका विद्यार्थीहरू–दुवै छात्र र छात्रालाई विस्तृत स्वास्थ्यकर्मी तालिम दिएर सहयोग गरिरहनुभएको छ। उनीहरू न्यून शिक्षित गाउँका महिलालाई सुँडेनी तालिम दिइरहेका छन्।
 

नन्दीग्राम उत्साहित छ। उनीहरू सहकार्य गरिरहेका छन्। उनीहरू विश्वको इतिहासमा नयाँ पाठ लेख्दै छन्। मैले यो काममा अखबारहरूमा स्तम्भ लेखेर सहयोग गरिरहेको छु। म उनीहरूको संघर्षको विषयमा पनि लेख्न चाहन्छु। त्यसका निम्ति मसँग समय रहनेछ वा छैन, मलाई थाहा छैन। तथापि यो मेरो लागि एउटा मूर्त सपना हो र म हरेक दिन लेख्नु पनि मेरा लागि अन्ततः एउटा अभियान भएको कुरा पुष्टि गर्दै छु।

तपाईंको साहित्यिक प्रभावबारे केही भन्नुहोस् न।

मैले बेलायती उपनिवेशको समय भोगेकी छु र त्यसपछि स्वतन्त्रताको समय पनि देखेकी छु। म अझै बाँचेकी छु र अर्को थप १८ वर्ष बाँच्न चाहन्छु। अनि लेख्न चाहन्छु। (अबको १८ वर्षपछि उनी सय वर्षकी हुनेछिन्।)
१६औं शताब्दीका कवि मुकुन्दराम चक्रवर्ती, ‘कोबि कणकण चण्डी’ मेरा लागि स्थायी साहित्यिक मार्गदर्शक बनेका छन्। सन् १९३६ देखि १९३८ सम्म म शान्ति निकेतनमा बसेको हुनाले रवीन्द्रनाथ टैगोर प्रेरणाका पुञ्ज हुनुहुन्छ। शान्ति निकेतनबाट मैले आत्मअनुशासित बन्न सिकेँ। जोकोहीको जीवनमा कुनै न कुनै समय प्रकृतिबाट सिक्ने समय हुने रहेछ। कीराफट्यांग्रालाई मन पराउनु, चराचुरुंगी र पशुको जीवनमा आकर्षित हुनु। त्यस्ता सिकाइ अद्यापि मसँग कायम भएको म पाउँछु। निःसन्देह विभूतिभूषण बालोपाध्याय, तारा शंकर बन्धोपाध्याय, सतीनाथ भण्डुरे, माणिक बालोपाध्याय, ज्योतिर्मय देवी, लील मजुम्दार आदि मेरा प्रिय 
लेखक हुनुहुन्छ। 

तपाईं महाआख्यानहरू वरपर रहेर लेख्ने गर्नुहुन्छ। जस्तै— ‘द्रौपदी’ र ‘कुरुक्षेत्रपछि’। के तपाईंलाई महाआख्यानमा जाति वर्गको कोण महत्वपूर्ण लाग्छ ? 

फेरि पनि त्यही कुरा, रामायण र महाभारतमा पङक्तहरूबीचका सेता खाली ठाउँहरू हुन्। त्यहाँ राजमाता कुन्ती छिन् र निशादिन पनि छिन्, जसलाई आफ्ना छोराहरूसँगै दरबारभित्रै जलाइन्छ। मैले आफूले खाएको खानाभन्दा बढी किताबहरू पढेकी छु। म निकै पढ्ने गर्छु। इतिहासको बीचमा रहेका खाली ठाउँहरूले मलाई आकर्षित गरिरहेको हुन्छ र म त्यही विषयमा लेख्ने गर्छु। ‘स्तनदायिनी’को यशोदा ऐतिहासिक नाम हो तर कुनै कल्पना होइन। 
 
बिदोनाबालामा तपाईंले यौनकर्मीहरूको विषयमा लेख्नुभएको छ नि ? 

यौनकर्मीहरू पनि हामी जस्तै मानिस हुन्। यौनकर्मीहरूले बेलायतविरोधी आन्दोलनका क्रममा धेरै ठूलो मद्दत गरेका थिए। उनीहरूले स्वतन्त्रता आन्दोलनमा आर्थिक सहयोग दिएका थिए। मेरो पूरा जीवन म आँखा खोलेर बाँचेकी छु। त्यसकारण म त्यही घटना र कुराबारे लेख्ने गर्छु जो मूलधारलाई लेख्न वा कुरा गर्न स्वीकार्य हुने गर्दैन। 
 
प्रहरी दमनको तपाईंले भोगेका सबभन्दा नृशंस घटना कुन हो ? 

बुधन मुद्दा। उसकी श्रीमतीले उजुरी गरिन्। उनीहरू उसले आत्महत्या गरेको भनाउन खोज्दै थिए। उसको समुदायका मानिसहरूले बुधनको लासलाई नजलाईकन गाडे। बुधनले यो मुद्दालाई जीवित राख्नुभयो। उनी सन् १९४२ देखिका स्वतन्त्रता संग्रामी थिए। 
 
के तपाईं आफूलाई महिलावादी भन्नुहुन्छ ? 

म ओझेल र उपेक्षित सबै मानिसको पक्षमा लेख्छु। जब समाजको कमजोर हिस्सा छ भने के पुरुष, के महिला र के केटाकेटी; सबैलाई उही ढंगले उपेक्षा गरिएको हुन्छ। मेरा कथाहरू महिलाको विषयमा मात्र छैन। म सबै उत्पीडित वर्गका लागि लेख्ने गर्छु। 
 

के तपाईं आफूलाई महिलावादी भन्नुहुन्छ कि भन्नुहुन्न ? 

म आफूलाई महिलावादी भन्दिनँ। मैले सबै उत्पीडित वर्गका लागि लेखेकी छु। मेरी आमा निकै व्यापक सोचकी महिला हुनुहुन्थ्यो। हामी बेहरामपुर बस्दा मेरी आमा पूर्वी बंगालबाट आएका सबै शरणार्थी महिलालाई सहयोग गर्नुहुन्थ्यो। उहाँ जातीय बन्दोबस्तमा विश्वास गर्नुहुन्नथ्यो र सबैलाई समान रूपमा व्यवहार गर्नुहुन्थ्यो। गरिब र उत्पीडित मानिसलाई सशक्तीकरण गर्न जरुरी छैन। किनभने उनीहरू निकै शक्तिशाली छन्। नभए तपोसी मलिकका महिलाहरू कहाँबाट आए ? म उनीहरूबाट ऊर्जा लिने गर्छु। 

म मेरो वरपर भइरहेका आदिवासी जनताका आन्दोलनबाट ऊर्जा पाउने गर्छु। सिंगुर र नन्दीग्रामले मेरो जीवनमा नयाँ रंग भरिदिएको छ। मेधा पात्कर र मैले सिंगुरमा कुनै राजनीतिक दलको प्रतिनिधित्व गरेर भ्रमण गरेका थिएनौं। सिंगुरका जनताले हामीलाई त्यहाँ लगेका थिए। जनताप्रतिको मेरो आस्था पुनः जगाइदिएकोमा म उहाँहरूलाई धन्यवाद व्यक्त गर्छु। विर्षा मुन्डा होस् वा सिंगुर र नन्दीग्रामका जनता हुन्, म सधैं उनीहरूसँग सँगसँगै हिँड्ने वचनबद्धता व्यक्त गर्छु। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.