योजनाले मिलायो छिमेकीको झगडा,सिंचाइ सहज हुँदा किसान दंग

योजनाले मिलायो छिमेकीको झगडा,सिंचाइ सहज हुँदा किसान दंग

ओखलढुंगा : गाउँमा सिंचाइका दुई आयोजना बनेपछि दुई गाउँलेबीच वर्षौंदेखि हुँदै आएको विवाद अन्त्य भएको छ। सिद्धिचरण नगरपालिका-१० हरिबोले खोलाको भुलभुले मुहानबाट पानी लाने विषयमा सहमति भएपछि सोही स्थानको आम्जानी र रुप्सेका बासिन्दाबीच वर्षौंदेखि चल्दै आएको विवाद टुंगिएको हो। 

दुई गाउँको सिंचाईको मुहान एउटै भएपछि गाउँलेबीच बारम्बार पानी खोसाखोस हुने गरेको थियो।पानीकै कारण चर्किएको विवाद प्रहरी प्रशासनसम्म धेरै पटक पुगिसके पनि समाधान भएको थिएन।

तर, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले दुवै गाउँका लागि पक्की कुलो निर्माण गरिदिएपछि गाउँलेबीच बराबरी पानी बाड्ने सहमति भएको छ। 

यसअघि अस्थायी कुलोबाट गाउँमा पानी पुर्‍याउँदा मुहानबाट फर्काएको पानी खेतसम्म नपुग्दै अर्का गाउँका बासिन्दाले उतै फर्काउने गर्दा दैनिक हुने झगडा बन्द भएको रुप्सेका स्थानीय लालकुमार थापामगर बताए। दुवै गाउँमा सिंचाइ आयोजनाबाट बराबर पानी बाड्ने सहमतिले लामो समयदेखिको विवाद समाधान भएकाले आपसी सद्भाब बढेको उनको भनाइ छ।  

यो योजनाले आपसी विवाद मात्रै मिलाएको छैन, व्यवसायिक तरकारी खेतिमा योगदान पुर्‍याएको छ। आपसी विवाद गर्दै आएका दुई गाउँ सिद्धिचरण नगरपालिका-१० स्थित आम्जानी र रुप्सेका बासिन्दा अहिले दंग छन्। जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालय ओखलढुंगाको करिब १ करोड २० लाख लागतमा दुईवटा सिचाई योजना निर्माण भएपछि व्यावसायिक तरकारी खेति गर्दै आएका किसान दंग परेका हुन्।

यो आयोजनाले सामाजिक रुपमा समेत सद्भाव कायम गरेको कार्यालयका प्रमुख महेश यादव बताउँछन्। स्थानीयलाई सिंचाइ योजनाले व्यवसायिक बन्न र सामाजिक रुपमा मिलेर काम गर्न सहयोग पुर्याएको उनको भनाइ छ। 

कुलोमार्फत गाउँघरमै नियमित पानी पुगेपछि पानीका लागि छिमेकीबीच हुने झैझगडा बन्द भएको र तरकारी खेति गर्न सहज भएको सिद्धिचरण नगरपालिका १० का स्थानीय तुक्चीमाया मगरले बताइन्। उनले समाजमा दैनिक हुने वादविवाद हुन छाडेको जानकारी दिइन्। उनले भनिन्, 'पानीका निहुँमा धेरै झगडा हुन्थे अब सबैले सहज रुपमा पाउने भएपछि झगडा बन्द भएको छ।'
 
दुई गाउँमा कुलो सञ्चालनमा आएपछि उत्पादन दोब्बर हुने स्थानीयको दावी छ। सिंचाइ कूलोबाट कुल ४० हेक्टर खेतलाई सिंचाई पुगेको छ। आम्जानी तर्फको 'कात्तिके सिंचाई योजना'मा १९ हेक्टर र 'भुलभूले सिंचाई योजना'तर्फ २१ हेक्टर खेतलाई सिंचाई पुगेको हो। कुलोको सिंचाईबाट जम्मा १ सय ४५ घरधुरी लाभान्वित भएका छन्।
 
पोखरीले सहज  

यस्तै सिद्धिचरण नगरपालिका ८ सल्लेरीमा पक्की सिंचाइ पोखरी निर्माण भएपछि तरकारी खेतीमा सहज भएको छ। जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालय ओखलढुंगाको ३१ लाख ६९ हजार ४ सय लागतमा पक्की पोखरी निर्माण भएपछि तरकारी खेती सहज भएको हो।

१ हजार पाँच सय मिटर पाइपमार्फत स्थानीय ढाँडखोलाबाट पोखरीसम्म पानी पुर्‍याइएको छ। उक्त सिंचाई योजनाबाट सल्लेरीस्थित करिब ५० घरधुरी लाभान्वित भएका छन्। पोखरी निर्माण पश्चात् स्थानीयले आलु, लसुन, प्याज, काउली लगायतका तरकारी खेती गर्दै आएका छन्।

पोखरी निर्माण भएपछि तरकारी उत्पादनमा वृद्धि हुनुका साथै स्थानीयको माग पुरा हुने स्थानीय अगुवा कृषक रामबहादुर गुरुङले बताए। नयाँ प्रविधिमा आधारित ढाँडखोला सिंचाई योजनाअन्तर्रगत सल्लेरीमा पोखरी निर्माण गरिएको हो। उक्त पोखरी ११.५ मिटर लम्बाई, ६.५ मिटर चौँडाई र २.२ मिटर गहिराइको छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.