त्यो फिल्म, त्यो बहस
तपाईंलाई अमेरिकाको ढोकैमा कसैले स्वागत गरिरहेको छ। तर यो आजको अमेरिका हैन। सन् १९३० तिर पुगेको सम्झिनुहोस्। ‘अलग तर बराबर’ सिद्धान्त टेकेर रंगभेदलाई वैधानिकता दिने ‘जिम क्रो ल’ चलिरहेको भूमिमा कसैले तपाईंलाई माला लगाइदियो। धन्न गलाले थेग्यो। माला नफुकाली अगाडि बढ्नुहोस्।
‘गोरा मात्र’ लेखिएका बोर्ड सार्वजनिक स्थानमा देखिन्छन्। नबस्नु। निग्रोहरूलाई जिउँदै जलाइएका घटना सुनिन्छन्। नसुन्नु। प्रहरी बिना कारण यातना दिइरहन्छन्। त्यता नहेर्नु।
तपाईंलाई स्वागत गरिरहेको ढोका आजको हैन। त्यसैले अलिक होचो छ। छिर्ने बेला टाउको निउराउनु।
हस्ताक्षरलाई ‘गृहयुद्ध रोक्ने लिङ्कनको चलाखी’ भन्नेको आवाज बजिरहेको छ। पहिला पनि थियो तर सुनिएको थिएन। संसारका कुनै पनि आवाज एकपल्ट बजेपछि रोकिन्नन्। हराए जस्तो लाग्ने त केवल अर्को बुलन्द आवाजले दबाएमा मात्र हो। बुलन्द आवाज लामो समय बजेन भने फेरी पुरानै आवाज सुन्न थाल्छन् मान्छेले। तपाईंले अहिलेसम्म के के आवाज सुन्नुभयो संझिनुभए हुन्छ।
‘समाधान भनिएको कुराले समाधान दिएन भने त्यो समाधान हुँदैन।’ कसैले चोकमा बसेर यस्तो भनिरहेका हुन सक्छन्। तीनका आँखामा नहेर्नुहोस्। कोही समाजबाट विभाजन हटाऊँ भन्दै सपनामा बोलिरहेको हुनसक्छ। सपनामा कोही बोलेको सुन्नुभएको छ ? जे होस् समाज समान होस् भनेर सपना देखेको नराम्रो हैन। तर देख्नेले आफ्नो सपना कसैलाई सुनाएका छैनन्। अरूलाई नसुआउन्जेल वा अरूले नसुनुन्जेल कुनै पनि सपनाहरू घातक हुँदैनन्। वा घातक लाग्दैनन्।
समस्या त तब हुन्छ जब मानिसहरू एक अर्कालाई आफ्नो सपना सुनाउन थाल्छन्। भोलि कसैले ‘आइ ह्याब अ ड्रिम’ भन्दै अरूलाई सुनाएमा नौलो नमान्नु होला। सपना एकपल्ट सुनाएपछी फैलन्छ।तपाईंलाई माला लगाइदिने कुनै अनुहार सपना देख्ने मान्छेको विरोधमा हुनसक्छ। उसको मुख नथुन्नु होस्। सपना त बुझ्नुहुन्छ। कि बिर्सिसक्नुभयो ?
तपाईंले माला लगाएको समय सन् १९३० आसपासको हो। अमेरिकामा भएर यति चाँडो भएको। आफ्नो देशमा १०० वर्ष पछि कल्पना गर्नुहोस्। आर्थिक मन्दीको चपेटा यत्रतत्र छ। महँगी बढेको छ। तपाईंको आँखामा भरिएको अन्योलता त्यसैको हो। विभेद भोग्दै देख्दै युवापुस्ता हुर्कँदो छन्। दुरी बढेको छ। त्यो दुरी तपाईंदेखि तपाईंसम्मको दुरी हो।
भन्नै बिर्सिएको। तपाईं एउटा फिल्मको सेटमा छिरिसक्नुभएको छ। फिल्मको कथा सुरु भइसकेको छ। विली कलेजमा हुनुहुन्छ। त्यहाँ एक शिक्षक पढाउँछन् जो राजनैतिक घटनाक्रमप्रति सचेत छन्। उनको नाम माल्विन बि टोल्सन जसले कलेजको डिबेट टिम बनाउन थालिसकेका छन्। हार्वर्डको टिमलाई हराउने लक्ष उनीहरूको छ। त्यो भन्दा पहिला अरू धेरैलाई जित्नु छ। शिक्षा, स्वास्थ्य, समानता, भोकमरी जस्ता विषयहरूमा उनीहरूले गरेको डिबेट तपाईं प्रत्यक्ष सुन्न पनि सक्नुहुन्छ। परिवार र समाजमार्फत टिमका सदस्यले भोगेका र देखेका चरम रंगभेदसँगै उनीहरूमा बढिरहेको राजनैतिक चेतनाको पोखरीलाई फिल्मले बेलाबेला चलाइरहन्छ।
तपाईंलाई यो सबै भन्ने मान्छेले त्यो फिल्म धेरैपल्ट हेर्यो। भविष्यमा नेता बन्ने मान्छे कुन बौद्धिक जगमा उभिएको हुनुपर्छ भन्नेसँगै फिल्मले हिंसा कि अहिंसा, बहुमतको दम्भ कि चेतनाको मन्थन ? अन्यायपूर्ण न्याय कि न्यायपूर्ण राज्य जस्तो पक्षमा बहस गरेको उसलाई मन पर्यो। मन परेको चिजलाई पटक पटक हेर्नुको मजा त बुझ्नुहुन्छ।
चरम विभेद खेपिरहेको समाजमा पनि डिबेटलाई त्यो रूपमा स्थापित गर्नमा विश्वविद्यालयले खेलेको भूमिका देखेर ऊ लोभिएको पनि छ। उसलाई विश्वविद्यालय निष्पक्ष बहस गर्ने ठाउँ भइदिइयोस् जस्तो लाग्छ। फिल्मका पात्रहरू समाजको समस्याबारे बोल्छन्। तर्क गर्छन्। उसलाई त्यो तर्क र वैचारिक मन्थन आफ्नो देशमा पनि सुनियोस् जस्तो हुन्छ। दलीय भागबन्डाले मक्किएका संरचनालाई कसैले थामिदियोस्, संसद्ले एक अर्कालाई सुनोस्, घमन्ड भरिएको ठूलो स्वर मत्थर होस्, परीक्षा पास गर्न नसकेर स्थायी हुने माग गरिरहेका शिक्षक थाकून्, चिट चोर्न नपाएको विरोधमा आन्दोलित विद्यार्थी सेलाऊन् . . . यस्तै यस्तै सोच्छ ऊ।
वरपर जे छैन त्यो भइदियोस् भन्ने कल्पनाले उसलाई सारै पिरोल्छ। पिर मेट्नलाई उ यो फिल्म हेर्छ र फेरी पिर गर्छ।
अब तपाईं फिल्मको अन्तिमतिर पुगिसक्नुभयो। थोरै ढिलो हुनुभयो नि। हतार गरेर छिर्नुहोस्। ला ! माला लगाएरै जानुभएको ? खोलेर आउनुभएको भए पनि हुने। ठिकै छ अब बस्नुहोस्।
विली कलेजको टिम हार्वर्डस्थित अडिटरियमको स्टेजमा छ। नागरिक अवज्ञा नैतिक हो भन्ने पक्षमा तर्क राख्न तयार छ। हार्वर्ड विश्वविद्यालयको टिम त्यसको विपक्षमा बोल्न उत्सुक छ। ‘हार्वर्ड पो त, जितिहालिन्छ नि’ भन्दैछन् तीनका आँखा। तपाईंमा पनि यस्तै दम्भ त छैन नि ? विली कलेज यति ठुलो स्टेजमा पहिलोपल्ट बोलिरहेको छ। त्यसबेलाको रेडियो स्टेसन डिबेटलाई देशभर सुनाउन उत्सुक छन्। जेम्स फार्मर जुनियर उठ्छन्। पहिलो तर्क प्रस्तुत गर्ने माइक बन्छन्। उनको अनुहारमा लाइट बढ्छ, दर्शकदीर्घामा घट्छ। उनी अँध्यारो ठाउँको तर्क उज्यालो स्टेजमा उभिएर भर्खरै अँध्यारो बनेको ठाउँमा बसेका दर्शकसमक्ष सुनाउन गइरहेका छन्।
जेम्स फार्मर जुनियर
न्यायको लडाइँमा नागरिक अवज्ञा सबैभन्दा शक्तिशाली नैतिक हतियार हो। तर अवज्ञा पनि नैतिक हुन्छ र ? खासमा शब्दलाई कसरी बुझिन्छ वा परिभाषित गरिन्छ भन्ने कुरामा धेरै थोक निर्भर हुन्छ। दुईवटा कथा सुनाउँछु। सन् १९१९ ताका भारतको अम्रितसरमा १० हजार भन्दा धेरै मानिसहरू ब्रिटिस निरंकुशताको विरोध गर्दै भेला हुन्छन्। ड्युटीमा रहेका जनरल डायरलाई असह्य हुन्छ। उनी उक्त भिडलाई कोर्टयार्डमा थुनेर १० मिनेटसम्म गोली चलाउन आदेश दिन्छन्। पुरुष, महिला र बालबालिका गरी ३७९ जनाको मृत्यु हुन्छ। प्रतिक्रिया दिँदै उनी भन्छन्, ‘मैले ती सबैलाई नैतिक पाठ पढाएँ।’ गान्धी र उनका समर्थकले त्यसको जवाफ हिंसाबाट नभई सङ्गठित असहयोग अभियानबाट दिन्छन्। सरकारी कार्यालयहरू घेरिन्छन्। गल्लीहरू भरिन्छन्। पुलिसले कुटे पनि कोही रोकिँदैनन्। गान्धी पक्राउ पर्छन्। तर उनलाई छोड्नका लागि ब्रिटिस साम्राज्य बाध्य हुनुपर्छ। गान्धीले त्यसलाई ‘नैतिक विजय’ भन्छन्।
नैतिकको परिभाषा के ? डायरको पाठ कि गान्धीको विजय ? तपाईं छान्नुहोस्।
हार्वर्ड टिम सदस्य १
सन् १९१४ देखि १९१८ सम्ममा संसार हरेक मिनेट युद्धरत थियो। प्रत्येक मिनेटमा ४ जनाले जीवन गुमाउँथे। ४ वर्षसम्म हरेक दिन र रातका हरेक घण्टामा २४० जना बहादुर मान्छेले मृत्युवरण गरे। ३५,००० घण्टामा ८२ लाख भन्दा धेरैको हताहती। (विपक्षीतिर हेर्दै) एक घण्टामा २४० (दोहोर्याउँदै) २४०। अम्रितसरमा भएको भन्दा कहीँ ठुलो नरसंहार त उ बेलै भएको थियो। जसले पुरै युरोपलाई दास बनाउनबाट जर्मनीलाई रोक्नेबाहेक केही पनि गरेन। नागरिक अवज्ञा नैतिक छैन किनकि यो अहिंसात्मक छ। आफ्नो देशको लागि हिंसासहित लड्नु अनैतिक हुनै सक्दैन। चाहे त्यसले जीवनको बलिदान नै किन नमागोस्। अहिंसात्मक आन्दोलन त नागरिक अवज्ञाले आफ्नो वास्तविक ‘अराजक’ अनुहार लुकाउन लगाएको मकुन्डो मात्र हो।
सामान्ता ब्रुक
गान्धी भन्थे, चाहे ती हार्वर्डका विपक्षी बक्ता नै किन नहुन् हामीले आफ्नो विपक्षीलाई पनि माया र सद्भावको व्यवहार गर्नुपर्छ। (दर्शक हाँस्छन्) गान्धीलाई यो पनि विश्वास थियो कि कानुन उल्लंघन गर्नेहरू बदलामा हुनसक्ने प्रतिक्रिया भोग्न पनि तयार हुनुपर्छ। यसलाई अराजक भनिनुपर्ने कारण के छ ? नागरिक अवज्ञा हामीले डराउनुपर्ने विषय हैन। आफैले जन्माएको अवधारणासँग अमेरिका किन डराउनु ? सबैलाई थाहा छ गान्धी कुनै हिन्दु धर्मग्रन्थबाट हैन हेनरी डेबिड थोरोबाट प्रेरित थिए। जो यही हार्वर्ड युनिभर्सिटीमा पढ्थे र नजिकैको तलाउ छेउ बस्थे।
हार्वर्ड टिम सदस्य २
मेरो प्रतिपक्षी मित्रले भनेझैँ थोरो हार्वडमै पढेका हुन् तर उनी पनि मै ठिक भन्ने रोगबाट मुक्त थिएनन्। उनले एकपल्ट भनेका थिए ‘हरेक मान्छे जो उसको छिमेकीभन्दा धेरै सही छ उसले बहुमत निर्माण गर्छ।’ तर ती आदर्शवादी विद्वान्लाई के थाहा कि एक दिन हिटलर आफ्नो विचारसँग सहमत हुनेछन्। प्रजातन्त्रको सुन्दरता भन्ने कि बोझ, कुनै विचार बहुमतको समर्थन बिना स्थापित हुँदैन। एक मतले हैन बहुमतले आजको नैतिक मुद्दा निर्धारण गर्छ।
सामान्ता ब्रुक
बहुमतले के सही वा के गलत छुट्टयाउन सक्दैन। यो त चेतनाको काम हो। एक सचेत नागरिकले विधायकको अगाडी आफ्नै चेतनाको आत्मसमर्पण किन गर्ने ? हामीले कहिल्यै पनि बहुमतको निरंकुशतासँग घुँडा टेक्नु हुँदैन।
हार्वर्ड टिम सदस्य २
हामी कुन नियम मान्ने वा कुनलाई नमान्ने भनेर छान्न सक्ने भए म कहिल्यै पनि रेड लाइटमा रोकिने थिइनँ। म मेरो पुलिस अफिसर बुवालाई सम्झिन्छु जो हामी र अराजकताको भुमध्यरेखामा उभिनुभएको छ। उहाँको सहकर्मी तथा अति प्रिय साथीलाई ड्युटीकै बेला कसैले गोली हानि ढालिदिएको थियो। घटनालाई प्रत्यक्ष देखेर फर्किएका उहाँका लाचार आँखा अहिले पनि मेरो मस्तिष्कलाई घुरिरहेछन्। (रिसले भरिएर) चाहे जे सुकै होस् वा हामी जे नाम दिऊँ, कानुनी राज्यलाई लत्याउने कुनै पनि काम नैतिक हुन सक्दैन।
जेम्स फार्मर जुनियर
टेक्ससमा उनीहरू निग्रोलाई जिउँदै जलाउँछन्। जङ्गलको बाटो भएर जाँदै गर्दा म र मेरो टिमका सदस्यले एउटा मान्छेलाई घाँटीमा झुण्ड्याएर तलबाट आगो लगाइरहेको देख्यौँ। गाडी रोक्यौँ। कतै उनीहरूले हामीलाई त देखेनन् ? डराउँदै सिटमुनि लुक्यौँ। मैले टोलीका साथीहरूको आँखामा हेरेँ। त्यहाँ डर थियो। र त्यो भन्दा धेरै थियो लाज।
त्यो निग्रोको अपराध के थियो जसको कारण बादल लागेको साँझ, जङ्गलछेउ, बिना कुनै मुद्दा झुण्ड्याइनु पर्यो। के ऊ चोर थियो ? हत्यारा ? वा केवल निग्रो ? के जमिनदार थियो ? पादरी थियो ? वा केवल निग्रो ? उसलाई घरमा बच्चाहरूले पर्खिरहेका पो थिए कि ?
अनि त्यहाँ केही नगरी लुकेर बसेका हामी को थियौँ ?
चाहे उसले जे नै गरेको होस्, त्यो भिड अपराधी थियो। तर कानुनले केही पनि गरेन। केवल हामीलाई माथिका प्रश्न सोधिरह्यो। मेरो प्रतिपक्षी मित्र भन्छन्, ‘जसले कानुनी राज्यलाई मान्दैन त्यो कुनै पनि हालतमा नैतिक हुन सक्दैन।’ तर जिम क्रो साउथमा कुनै कानुन छैन। निग्रोलाई घरबाट निकालिँदा, स्कुल र अस्पतालहरूबाट खेदाइँदा र कसैलाई जिउँदै जलाइँदा पनि केवल मुकदर्शक बनिरहन्छ। ‘अन्यायपूर्ण कानुन त कानुन नै हैन।’ भनेर सेन्ट अगस्टाइनले भनेका छन्। त्यसैले यो अन्यायको विरुद्धमा बोल्नु मेरो अधिकार र जिम्मेवारी दुइटै हो। कि त हिंसाले कि त नागरिक अवज्ञाले।
प्रार्थना गर्नुभए हुन्छ, म दोस्रो छान्छु।धेरै बेर ताली बज्छ। तपाईंलाई पनि ताली मन पर्छ हैन ?
यस्तो लाग्थ्यो ती हात त्यो पलमा त्यसरी बज्न पर्खिरहेका थिए। लगभग विजेता घोषणा गरिदिनेगरी बजेको तालीसँगै विली कलेजले ट्रफी उचाल्यो। ऐतिहासिक हलमा जित निकालेपछी पनि रोकिएन। हार्वर्डको टिमलाई जितेपछिका १० वर्षसम्म कलेजको कुनै पनि टिमले अमेरिकामा भएको कुनै पनि डिबेट हारेन। जेम्स फार्मर जुनियरले सन् १९४२ मा कंग्रेस अफ रेसियल इक्वालिटी भन्ने अभियान नै सुरु गरे। धन्यवाद सेरम्यान। हाम्रोमा पनि यसरी नै फिल्म बन्न लायक विषय कति होलान् ?
चर्चित फिल्म ‘दि ग्रेट डिबेटर्स’मा भएको अन्तिम डिबेटको नेपाली उल्था हो यो। यो फिल्म टोनी सेरम्यानले अमेरिकन लिगेसी नामको जर्नलका लागि १९९७ मा विली कलेज डिबेट टिमको बारेमा लेखेको लामो लेखको आधारमा सन् २००७ मा बनाइएको हो। साहित्यका विद्यार्थी @SurajWritesNP २विशेषतः दृश्य–साहित्यका पारखी हुन्।