कवितालाई शूली
बन्दुकजस्तो आवाज निकालेर पट्किन्न कविता
कविताको आवाज।
निर्धारित सीमाको कोर्रा लगाउँदैमा
कहाँ खुम्चेका छन् आजसम्म शब्दहरूको शक्ति ?
न त प्रदेशको सीमांकन खोजेर
उरालेका छन् चिच्याहटका कर्कश ध्वनि।
कविताहरूले जुन दिन बिर्सन्छन् नि
कवित्व क्षमता,
त्यो दिन शब्दले नै उठाउने छ औंला
आफ्नो अस्तित्व निर्धारणका लागि।
कहिलेकाहीँ पोखिन्छन् शब्दहरू
विरोधको विद्रोहमा।
शासकहरू नकमाउनू आफ्नो आत्मबल
र देश निकाला नगर्नू कवितालाई।
कविताको सीमा हुँदैन,
कविताको देश, रङ र जात पनि छैन आजसम्म।
शासकत्व जानेको नाममा
सहज स्वीकार गर्छ भन्ने ठान्दै
चढायौ भने कवि र कवितालाई शूली
विचार्नू, तिम्रो विचारको तुषारापातले
तिमीलाई नै सिध्याउनेछ,
जसरी सकिएका थिए हिजोका कालपुरुषहरू।
तिम्रो नियतमा जस्तो क्रूरता हुँदैन शब्दसँग
न त विभेदको विश्वासमा विस्तारित छ
कविताको आयाम।
फेरि यो नठान्नू,
मुर्दाशान्तिको अर्को नाम हो कविता।
पख,
कवि र कविताले शूली चढ्नुपरे पनि
सकिन्न शासकको शक्तिजस्तो कविताको शक्ति।
शोकलाई शक्तिमा बदल्छ।
बन्दुकजस्तो आवाज निकालेर पट्कन्न कविता
तर बुलेटभन्दा बुलन्द हुन्छ
कविताको आवाज।