आरुबोटे हत्याकाण्ड : फर्कियो अनुसन्धान टोली

आरुबोटे हत्याकाण्ड : फर्कियो अनुसन्धान टोली

फिदिम : आरुबोटे हत्याकाण्ड अनुसन्धानमा खटिएको प्रहरी टोली पहिलो चरणको स्थलगत अनुसन्धान सकेर आइतबार फर्किएको छ। घटनासम्बन्धी सबै प्राविधिक परीक्षण रिपोर्ट प्राप्त भएपछि मात्र अनुसन्धानका विवरण सार्वजनिक गर्ने प्रहरीले जनाएको छ। ‘घटनास्थलबाट अनुसन्धान टोली प्रारम्भिक रिपोर्ट लिएर फर्किएको हो’, पाँचथरका डीएसपी नरेन्द्र कुँवरले भने, ‘तीन कोणबाट प्रारम्भिक अनुसन्धान गरिएको छ।’ अनुसन्धानमा प्रत्यक्ष, अप्रत्यक्ष रुपमा घटनासँग जोडिएका १६ जनालाई सोधपुछ गरिएको उनले जानकारी दिए।

हत्याकाण्ड अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरोका एसपी उमाप्रसाद चतुर्वेदी नेतृत्वमा टोली खटिएको थियो। पाँच दिन स्थलगत अनुसन्धान गरी टोली फर्किएको हो। त्यस्तै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको टोली र जिल्ला प्रहरी कार्यालय पाँचथरको टोली पनि अनुसन्धानमा खटिएका छन्।

पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा सोमबार राति बमबहादुर फियाक र उनका माहिला ज्वाई धनराज शेर्माको घरमा रहेका नौ जनालाई धारिलो हतियार प्रयोग गरी हत्या गरिएको थियो। हत्यामा बमबहादुरका कान्छा ज्वाई मानबाहदुर माखिमको संलग्नता रहेको प्रहरीको अनुमान छ। ‘अहिलेसम्मको सवुत प्रमाणका आधारमा माखिमले नै हत्या गरेको हुन सक्ने देखिएको छ’, डीएसपी कुँवरले भने, ‘उनलाई अरु कसैले साथ दियो कि भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ।’

मिक्लाजुङ–८ को जंगलमा झुण्डिएको अवस्थामा माखिमको शव प्रहरीले फेला पारेको थियो। उनले प्रयोग गरेको फोन रेकर्ड हेर्दा ससुराली खलकको हत्या उनले नै गरेको प्रहरीको भनाइ छ। माखिमले झापामा रहेका एक आफन्तलाई फोन गरी अरुलाई मारेर आफू पनि मर्दा कसैलाई सजाय हुन्छ कि हुँदैन ? भनेर सोधेको प्रमाण फेला परेको पाँचथरका प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीले जानकारी दिए। ‘प्राप्त प्रमाणलाई हेर्दा माखिमले हत्याकाण्ड मच्चाएको देखिन्छ’, वस्तीले भने।

हत्याकाण्ड हुनुभन्दा दुई साताअघि सोही स्थानमा सिसाकाण्ड भएको थियो। खाजामा सिसा मिसाएपछि खाजा खाने आठ जना बिरामी भएका थिए। नुनमा सिसाको टुक्रा मिसाएकाले खाजा खानेजति बिरामी परेका थिए। सिसा मिसाउने व्यक्ति माखिम नै भएको भन्दै स्थानीयले प्रहरीलाई उजुरी दिएका थिए। तर, सिसाकाण्ड भएको बेला माखिम त्यो स्थानमा नभएको पाइएको प्रहरीको दाबी छ।

‘सिसाकाण्ड भएको बेला माखिम त्यो लोकेशनमा नभएको पाइएको छ’, कुँवरले भने, ‘सिसाकाण्ड अर्कैले मच्चाएको हुनसक्छ। त्यो विषयमा पनि अनुसन्धान भइरहेको छ।’ सिसाकाण्ड मच्चाउने अरु नै हुनसक्ने प्रहरीले अनुमान गरेपछि घटना थप रहस्यमय बन्दै गएको छ। स्थानीयले भने सिसाकाण्ड मच्चाउने विरुद्ध जाहेरी दिँदा पनि प्रहरीले वास्ता नगर्दा हत्याकाण्ड भएको भन्दै आक्रोसित छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.