रूखका मुढामा कुँदिए बुद्ध
बुटवल : बुद्ध मावली देवदहको उद्यानमा चार दिनअघिसम्म यत्रतत्र छरिएका मुढाहरू बाहेक केही थिएनन्। अहिले स्वरूप फेरिएको छ। बुद्धको मावलीमा बुद्ध मात्रै होइन उनकी आमा मायादेवी, सानीआमा प्रजापति गौतमी, श्रीमती यशोधरासमेत सँगै छन्। जमिनमा अलपत्र छरिएका काठका ठुटा र मुढामा बुद्ध र उनको परिवारका सदस्य सहजै देखिन्छन्।
बुद्धको परिवारलाई मावलीमा ल्याउने १७ जना मूर्तिकार हुन् जसले काठका ठुटा र मुढामा बुद्ध र उनको परिवार खोजिरहे। काष्ठकलाका मूर्तिकारको कलाले देवदहलाई साँच्चिकै बुद्ध मावलीको झल्को दिलाएका छन्। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले यो अवसर जुटाएको थियो। स्थानीय बुद्ध सामुदायिक वनले सहजीकरण ग¥यो।
उद्यानमा पल्टिएका र ठड्याइएका काठका ठूलाठूला मुढामा १७ मूर्तिकार आकृति कुँद्न व्यस्त छन्। उनीहरूलाई जेठको चर्को गर्मीको पर्वाह छैन। काठको मुढामा आरा र बोसिला चलाउँदा चलाउँदै आकृति देखियो। तिनै फालिएका काठका मुढा फोटो खिच्ने स्वरूपमा आए। अहिलेसम्म १८ मूर्तिको आकृति आइसकेको छ।
मूर्तिकार लालकाजी लामा बुद्ध जन्मिँदाको मूर्ति कुँदिरहेका छन्। मायादेवीले लुम्बिनीमा सालको बोट सामातेको अवस्थाको आकृति उनले काठको मुढामा दिएका छन्। ‘यो निकै सजग भएर बनाउने कला हो, बिग्रियो भने सबै गयो’, उनले भने। कपिलवस्तुको तिलौराकोटबाट सुत्केरीका लागि देवदह आउँदै गर्दा मायादेवीले लुम्बिनीमा सिद्धार्थ गौतमलाई जन्म दिएकी थिइन्। त्यही आकृति लामाले काठमा उतारे।
दुई दशकदेखि मूर्तिकलामा काम गरिरहेका बुटवलका यमबहादुर थापाले प्रजापति गौतमीले बुद्धलाई काखमा राखेको बुद्धको आकृति बनाए। ‘बुद्ध र उनका परिवारको आकृति कुँद्नुको अर्कै आनन्द हुन्छ’, उनले भने, ‘काठका मूर्तिमा सबैभन्दा रोजाइमा बुद्धकै मूर्ति हुन्छ। मुढा देख्दा त केही हुँदैन, जब सेप आउन थाल्छ आनन्द मिल्छ’, उनले भने।
बुद्धको मावली देवदहको काष्ठकलाको माध्यमबाट प्रवद्र्धन गर्ने उद्देश्यले काष्ठकला कार्यशालाको आयोजना गरिएको हो। गौतमबुद्ध सामुदायिक वन उपभोक्ता समूहले देवदहलाई पर्यटकीय नगरको विकास गर्ने गरी विगत तीन वर्षदेखि गौतम बुद्ध राष्ट्रिय उद्यान निर्माण गरिरहेको छ।
यो कार्यशाला जेठ १६ गतेसम्म चल्नेछ। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्यसमेत रहेका मूर्तिका थापाले देवदहको इतिहास बुद्धसँग जोडिएकाले बुद्धसँग सम्बन्धित मूर्ति निर्माण गरिएको बताए।
ललितकला प्रज्ञा प्रतिष्ठान मूर्तिकला विभागले प्रदेश नं. ५ का लागि काष्ठकला कार्यशाला गर्ने योजनासहित देवदह छनोट गरेको थियो। सोही अनुरूप बुद्ध मावली देवदहमा काष्ठकला कार्यशाला आयोजना गरिएको उनले बताए। देवदह भगवान गौतम बुद्धको मावली स्थल रहेकाले देवदहलाई पर्यटकीय नगरको रूपमा विकास गर्न कार्यशालाले महŒवपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
कार्यशालामा प्राज्ञ परिषद्का लालकाजी लामा, गोविन्द चौधरी, यमबहादुर थापा, भुवन थापा, मूर्तिकार राजन काफ्ले, लक्ष्मण भुजेल, राजु पिठाकोटो, राज वज्राचार्य, बुद्ध चौधरी, भीमबहादुर श्रेष्ठ, हरिराम अधिकारी, दिनेश्वर महतो, केडी याक्खा, अनमारी तामाङ, विशाल सारु, कुमार थापा र हरिबहादुर बयाम्बूले कोलिय सभ्यता झल्किने मूर्ति निर्माण गरिरहेका छन्।
ड्रिम देवदह युनिटी फर चेन्जका संयोजक सिद्धिचरण भट्टराई बुद्धकालीन प्राचीन कोलिय गणराज्यको पहिचानका लागि कार्यशाला कोशेढुंगा बन्ने बताउँछन्। ‘यहाँको उत्खनन र प्रचार हुन सकेको छैन’, उनले भने, ‘यस्तै गतिविधिले आन्तरिक र बाह्य पर्यटक ल्याउनेछन्।’ कार्यशालाबाट निर्माण गरिएका मूर्ति गौतम बुद्ध राष्ट्रिय उद्यानमा आन्तरिक तथा बाह्य पर्यटकले हेर्न मिल्ने गरी राखिनेछ। कार्यशालामा रूपन्देही, काठमाडौं, झापा, चितवनलगायत जिल्लाका मूर्तिकार सहभागी छन्।