विश्वकै अग्लो स्थानमा मार्सी रोपियो

विश्वकै अग्लो स्थानमा मार्सी रोपियो

जुम्ला : सामान्यतया अन्य जिल्लामा असारमा मात्रै धान रोपिन्छ । तर जुम्लामा भने जेठमै धान रोप्ने चलन छ । चिसोका कारण असारमा रोपेको धान समयमै नपाक्ने भएकाले यहाँ जेठमै धान रोप्ने गरिएको हो । 

यतिखेर जुम्लाका कृषकलाई कालीमार्सी धान रोप्ने चटारो छ । जसअनुसार सोमबार विश्वकै अग्लो स्थान पातारासी गाउँपालिकाको छुमचौर ज्युलो (खेतहरु) मा कृषकले मार्सी रोपेका छन् । पछिल्लो समय बजारमा मार्सी चामलको माग उच्च रहे पनि यसको उत्पादन घट्दै गएकाले मार्सी लोप हुन नदिन पातारासी गाँउपालिका र कर्णाली कला केन्द्रको आयोजनामा छुमचौर ज्युलोमा सामुहिक रोपाइ गरिएको हो । मार्सी संरक्षणका लागि छुमचौरमा महोत्सवको आयोजना गरिएको थियो ।  

जेठमा धान नरोपे असोजमा पर्ने तुसारोका कारण यँहा धान पाक्दैन । कृषिविज्ञ बालकराम देवकोटाले भने, ‘धान रोपेपछि पाक्नलाई आवाश्यक पर्ने एक सय ५० देखि एक सय ६५ दिन हो, असारमा धान रोपे कार्तिकसम्म पाक्दैन, त्यसैले परम्परादेखि जेठमै धान पर्ने चलन छ ।’ गिनिजबुक अफ द वल्र्ड रेकर्डका अनुसार समुन्द्री सतहदेखि दुई हजार सात सय ९० मिटर उचाइ जो विश्वकै अग्लो स्थान जुम्ला छुमचौर ज्युलोमा मार्सी फल्ने गर्दछ । पछिल्लो समय मार्सी लोप हुँदै गएपछि यसको संरक्षणमा कृषकदेखि स्थानीय सरकार लागि परेका छन् । 

बजारमा मार्सीको माग बढ्दो छ । तर ब्लास्ट रोगको संक्रमण र असिना पानीले मार्सी झर्न थालेपछि यसको उत्पादन निरन्तर घट्दै गइरहेको छ। 

कृषि विज्ञान केन्द्रका अनुसार जिल्लाको १३ सय हेक्टरमा मार्सी खेती हुँदै आएको छ । यो धान शितोष्ण हावापानीको लागि उपयुक्त मानिन्छ । पातारासी गाँउपालिकाको छुमचौर ज्युलो बाहेक अन्य गाँउका नागरिकले करिब एक दशकअघिदेखि मार्सी रोप्न छोडेका छन् । मार्सी संरक्षण र जिल्लाको पहिचानका लागि पनि यसको खेती छाड्न नहुने पातारासीका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले बताए । 

मार्सीको इतिहास

जुम्ली कालीमार्सी धानको उत्पति १२ औँ शताब्दीमा भएको उल्लेख छ । सन् १३०० सालमा गुरु चन्दननाथ स्वामीले भारतको कास्मीरबाट कालीमार्सी धानको बिउ ल्याइ तातोपानीमा लछालकृति पैकलालाई तालिम दिइ धान खेती बिस्तार गरेको इतिहास छ । मार्सीधानको सफल परीक्षणपछि चन्दननाथ मन्दिरको शेरा ज्युलोमा खेती गरेर किसानलाई वितरण गरिएको थियो । अहिले पनि मार्सीधानको चामल चन्दननाथ मन्दिरमा सिक दिने प्रचलन छ ।   

मार्सी धान खेतीले नेपालमा हुलाक स्थापना गर्न प्रेरणा दिइएको किम्बदन्ती छ । जुम्ली किसानले उत्पादन गरेको मार्सीधानको चामल तत्कालीन राजा रजौटालाई हुलाकबाटै पठाउन थालिएको थियो । जंगली धान भएकाले काली मार्सी भनिएको जुम्लाका संस्कतविद् रमानन्द आचार्यले बताए । जुम्लामा धान खेती बेसी क्षेत्र (समुद्र सतहबाट दुई हजारदेखि २२ सय मिटर) र उच्च क्षेत्र (समुद्र सतहबाट २८ सय देखि तीन हजार मिटर) मा हुने गरेको छ ।    
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.