हराउँदै चिरचिर कराउने चरा

हराउँदै चिरचिर कराउने चरा

कुश्मा : दुर्लभ मानिने चिरकालिज पछिल्ला कही वर्षयता उचित वातावरणको अभावमा लोप हुने अवस्थामा छ। केही वर्ष अघिसम्म पर्वतका उच्च पहाडी भेगमा प्रशस्तै पाइने चिरकालिज पछिल्लो समय मुस्किलले देख्न पाइन्छ। चोरी सिकार, वनजंगलमा आगलागी, बासस्थानको ह्रास र जनचेतनाको अभावमा यो पन्छी हराउँदै गएको हो।

बिहान सूर्योदय हुनुअगाडि र साँझ सूर्यास्त भएपछि दिनको दुई पटक मात्र चिरचिर गरेर कराउने भएकाले यसलाई चिरकालिज भनिएको हो। चिरकालिजको अवस्था, बासस्थान, संख्या र लोप हुनाको कारणबारे अनुसन्धान हुन सकेको छैन। ‘क्याट्रस वालिची’ वैज्ञानिक नाम रहेको यो पन्छीलाई अंग्रेजीमा चिरफेजेन अर्थात् नेपालीमा चिरकालिज र सुदूरपश्चिमा चेडु चराको नामले चिनिन्छ।

यो पन्छी नेपाल वन्यजन्तु संरक्षण ऐनमा संरक्षित पन्छीको सूचीमा सूचीकृत छ। नेपालमा यो पन्छी समुद्री सतहबाट एक हजार चार सय मिटरदेखि तीन हजार ६ सय मिटरसम्मको भूभागमा पाइने लामो समयदेखि पर्वतमा वनजंगलको क्षेत्रमा काम गर्दै आएका हाल म्याग्दी डिभिजन वन अधिकृत हरिशचन्द्र सापकोटाले बताए। नेपालका विभिन्न जिल्लामा दुईदेखि तीन हजारको हाराहारीमा रहेको यो पन्छी पर्वतका उच्च पहाडी क्षेत्रमा देखिन्छ। उत्तरी पर्वतको शालिजा, लेखफाँट, हम्पालको लेकलगायत पञ्चासेको लेक, डहरेदेउराली, गोल्र्याङ, चिसापानीलगायतका जंगलमा पाइने उनले बताए।

सामान्य कालिजजस्तै यो तल्लो तटीय क्षेत्रमा पाइँदैन। यो चरा झट्ट हेर्दा कालिजको पोथीजस्तै देखिए पनि कालिज र चिरकालिजमा धेरै भिन्नता छ। यो कालिजको भालेको पुच्छर लामो, आँखाको रङ पनि रातो हुने, शरीरमा सेतो थोप्लामा कालो बुट्टा हुन्छ भने आकारमा पोथी भालेभन्दा सानो र पुच्छर पनि छोटो हुन्छ। यसले विशेष गरी चैतदेखि जेठसम्म मात्रै फुल पार्ने र बच्चा कोरल्ने गर्छ।

यो पन्छी मुख्य गरी मध्य पहाडको माथिल्लो भेगका जंगल नभएको खुला भीर, खरबारी र अलिअलि झाडी भएको ठाउँमा पाइन्छ। ठूलाठूला जंगलको पुछारमा हुने खर्कहरूमा यसलाई देख्न सकिने पर्वतको राम्जादेउरालीका रमेश शर्माले बताए।

भीरमा नै बासस्थान बनाउने यो पन्छीले एक पटकमा सातदेखि १५ वटासम्म फुल पार्छ। पर्वतमा यो कालीगण्डकी नदी, मोदीखोला र पातीखोलाको किनारमा पनि पाइने वन अधिकृत सापकोटाले बताए। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनले २०२९ सालमै यसलाई लोपोन्मुख प्रजातिका रूपमा सूचीकृत गरे पनि यस क्षेत्रमा यसको थप अनुसन्धान र खोज हुन नसकेको वन डिभिजन कार्यालय पर्वतका प्रमुख अशोक श्रेष्ठले बताए।

समुदायबीच सचेतना कार्यक्रम, चोरी सिकार नियन्त्रण, बासस्थानको संरक्षण तथा बासस्थानबीचको बाटो निर्माणका साथै थप अनुसन्धान गर्ने हो भने यो पन्छीको संरक्षण गर्न सहज हुने श्रेष्ठले बताए।

पछिल्लो समय गण्डकी प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको वन विभागले रैथाने वनस्पति तथा चराचुरुंगी तथा कालिज प्रजातिको खोज, अनुसन्धान र संरक्षणका लागि कार्यक्रम ल्याउने तयारी गरेको छ। गण्डकी प्रदेशका सबै जिल्लामा कालिज प्रजातिको संरक्षणका लागि सरकारले पहल गर्ने उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले जानकारी दिए।

कालिजको चोरी सिकार बढ्दै

पहाडी जिल्ला पर्वतमा प्रशस्त मात्रामा पाइने कालिज पछिल्लो समय चोरी सिकारका कारण मासिन थालेको छ। जिल्लाका ग्रामीण क्षेत्रमा सुरक्षा निकायको पहुँच छैन। त्यस्ता ठाउँमा जंगली कालिजका लागि पासो थाप्ने तथा बास बसेको ठाउँ पहिचान गरी राति बन्दुक पड्काएर कालिज मार्ने क्रम बढेको छ।

‘कालिज सिकार गर्नेहरू जंगलभरि प्रशस्त भेटिन्छन्’, पर्वतको कुश्मा नगरपालिका–१२, ठूलीपोखरीका राम सापकोटाले भने, ‘कतिपयले कालिज मारेरै बजारमा बिक्री गर्ने गरेको भेटिएको छ।’

सम्बन्धित वन कार्यालय, सामुदायिक वन तथा स्थानीय सरकारले कालिजको संरक्षणमा ध्यान नदिएका कारण कालिज लोप हुने अवस्थामा पुगेको उनको भनाइ छ। प्रायः चिसो समयमा स्वास्थ्यमा समेत कालिजको मासु र झोलले राम्रो फाइदा दिने तथा सामान्य रुघाखोकी, बाथजस्ता चिसोका कारण लाग्ने रोगहरू सन्चो हुने विश्वासले कालिज मार्ने क्रम बढेको स्थानीयवासी बताउँछन्।

बिनाअनुमति वन्यजन्तु तथा पन्छीहरूको सिकार दण्डनीय अपराध हो। तर पनि वन कार्यालयमा कुनै उजुरी नपर्ने गरेका कारण आफूहरूले कालिज मार्नेलाई कारबाही गर्न नसकेको डिभिजन वन अधिकृत अशोक श्रेष्ठले बताए। पछिल्लो समय कास्कीलगायतका जिल्लामा कालिजको व्यावसायिक फार्म बनाएर पालनसमेत सुरु गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.