पाल्पामा नि:शुल्क स्वास्थ्य परीक्षण : अधिकांशको तौल आवश्यकताभन्दा बढी
तानसेन : प्रजातन्त्र दिवसको अवसरमा जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । स्वास्थ्य शिविरमा सुगर, ब्लड प्रेसर, मृगौला परीक्षण तथा उचाई र तौल नाप जाँच गरिएको हो ।
नेपाल सरकार स्वास्थ्य मन्त्रालयले नसर्ने रोगको प्रारम्भिक पहिचान, तथ्याङ्क संकलन र रोकथामका लागि देशभर फागुन महिनाभरी ३० वर्षमाथि उमेर समूहका सबै व्यक्तिमा स्क्रिनिङ्ग कार्यक्रमलाई सफल बनाउन प्रजातन्त्र दिवसको अवसरमा शिविर सञ्चालन गरिएको हो ।
अहिले नेपालमा नसर्ने रोग अन्तर्गत मधुमेह, उच्च रक्तचाप, मृगौला तथा उच्च तौल भएका रोगीहरूको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । सरकारले नसर्ने रोगलाई न्युनिकरण गर्नका लागि पाल्पाका १० वटै पालिकाका स्वास्थ्य चौकी, अस्पताल, जिल्ला तथा क्षेत्रीय अस्पतालमा नि:शुल्क सुगर, ब्लड प्रेसर, मृगौला परीक्षण तथा उचाई र तौल नाप जाँच गर्दै आएको छ ।
नागरिकहरूको परीक्षण तथा चेकजाँच दर बढाउन यो अभियानमा सफल बनाउन पज्रातन्त्र दिवसका अवसरमा समेत जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले परीक्षण डेक्स स्थापना गरी चिकित्सकको सहभागितामा नि:शुल्क स्वास्थ्य जाँच गरेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख टुक प्रसाद पोखरेलले बताए ।
पाल्पा दरबार परिसरमा सञ्चालन गरिएको चेकजाँच तथा परीक्षण कार्यक्रममा राजनीतिकर्मी,कर्मचारी,नागरिक समाज, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरू,सुरक्षाकर्मी तथा सरवसाधारणहरूको सहभागिता रहेको थियो ।
चेकजाँचमा अधिकांश व्यक्तिको आवश्यकता भन्दा बढी तौल भएको,केहीमा सुगर तथा प्रेसर बढी भएको देखिएको परीक्षण कार्यमा सहभागी पाल्पा अस्पतालकी चिकित्सक डा.मिनुका कुमारी रजतले बताए। स्थानीय स्वास्थ्यकर्मीहरूले सेवाग्राहीहरूको स्वास्थ्य परीक्षण गर्दै आवश्यक सल्लाह सुझाव प्रदान गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस !