माया ओ माया...
जेठ २२ गते बुधबार उनको घर पुग्दा वरपर सुनसान थियो। कैलालीको गौरीगंगा नगरपालिका–११, कटान बस्तीमा रहेको उनको घरमा बुवा हर्कबहादुर बिक एक्लै टोलाइरहेका थिए। आमा देउसरा बिक फेरि कुवेत उडेको दुई महिना भइसकेछ। उनका दुई भाइ कमाउन भारततिर गएका रहेछन्।
आफ्नी एक्ली छोरी २१ वर्षको उमेरमा सामूहिक बलात्कृत भएर गएपछि बाबुको मनोदशा कस्तो होला ? उनका बुवा केही बोल्न सकेनन्। बोल्न चाहेनन्। टिलपिल टिलपिल आँखा लिएर हेरिरहे।
जंगल र खोलाछेउको अलि तलको यही गाउँ हो, मायाको संसार र संहार गर्ने पनि। यहीँ उनी नाच्दै खेल्दै हुर्किइन्, बढिन्। अनि आफ्नो यही सुन्दर संसार नै उनका लागि राक्षस भइदियो। वरपरकै मान्छे, अफिसकै मान्छेबाट यसरी मारिइनुपर्ला भनेर उनले किन र कसरी सोचिहोलिन् र ?
माया पढाइमा राम्रो विद्यार्थी भनेर चिनिन्थिन्। चार वर्षअघि यो दलित बस्तीमा एसएलसी उत्तीर्ण गर्ने उनी पहिलो महिला थिइन्। माया एसएलसी पास हुँदा गाउँलेहरू खसी काटेर रमाएका थिए। गाउँका मान्छेले पैसा उठाएर खसी किनेथे। मायाको घरमा पकाएर खाएथे।
माया आफ्नो समुदायमा फरक खालकी थिइन्। उनी होली, माघी, दसैंमा नाटक रच्थिन्। नाटक छुवाछूतसँग सम्बन्धित हुन्थे। महिला हिंसासित सम्बन्धित हुन्थे। उनी नाटकमा आफैं अभिनयसमेत गर्थिन्। अरूलाई पनि सिकाउँथिन्। नारी दिवसजस्ता उत्सवहरूमा उनी गाउँको अगुवाइ गरेर प्रस्तुति लिएर सहर जान्थिन्।
उनी पढाइमा साह्रै नै तीक्ष्ण थिइन्। कहिल्यै फेल भइनन्। स्कुलबाट आएपछि आफू टिचर बनेर ससाना केटाकेटीलाई जम्मा गरेर पढाउँथिन्। आफूले सिकेको कुरा सिकाउँथिन्। उनी असल स्वभाव भएकी फरक थिइन्। तर, मायाको यही प्रतिभा, क्षमता, निडर स्वभाव नै अभिषाप भइदियो। हिंस्रक, परपीडक, पुरुषवादी सोच र समाजबीच उनी सिकार भइन्।
प्लस टुको परीक्षा दिएर गौरीगंगा नगरपालिकामा सामाजिक परिचालिकका लागि २०७५ जेठ अन्तिम साता उनले आवेदन दिइन्। अन्ततः माया असार ३ गते सो पदमा छनोट पनि भइन्। असार ५ देखि काम सुरु गरेकी माया पहिलो महिनाको तलबले आमालाई ‘सरप्राइज’ दिने योजनामा थिइन्।
आफ्नो खुसीका लागि कुवेतमा रहेकी आमालाई उनले जाागिरमा छनोट भएपछि धेरै नै मिस गरिन्। फोन गरेर सुनाइन्। आमाछोरीबीचको त्यो खुसी–संवाद कति मीठो थियो होला, म कल्पना मात्र गर्छु। उनी आमालाई घर फर्काउन चाहन्थिन्। तर मायाको यो योजना योजनामै सीमित रह्यो।
मायाले गौरीगंगा नगरपालिकाअन्तर्गत वडा कार्यालयमा तथ्यांक सर्वेक्षणका लागि करारमा काम गर्न थालेको ६ दिन मात्र भएको थियो। मात्र ६ दिन।
तथ्यांक संकलनका लागि भनेर घरबाट निस्केकी माया एकाएक बेपत्ता भइन्।
असार १२ देखि बेपत्ता भएकी २१ वर्षीया मायाको खोजी भयो। कहीँ केही पत्तो लागेन। गाउँलेहरू खोजिमेलीमा लागे। मायाकी आमा यहीँ भएकी भए कति रुन्थिन् होला, तर उनी त छोरीले जागिर पाई भन्ने रमाइलोमा थिइन् उता।
तीन दिनपछि थाहा भयो— सामूहिक बलात्कार गरेर मायाको हत्या गरिएछ।
मायाको हत्यापछि झन्नै एक वर्षपछि म उनको आँगनमा छु। बुवा मौन हुनुहुन्छ। गाउँलेहरू जम्मा भए।
मायालाई सम्झिन थाले।
कुरैकुरामा कमल विश्वकर्मा खुर्र दौडेर आफ्नो घर गए। डायरी लिएर आए। उनले पढेर सुनाए—
मरेँ मम्मी, मरेँ बुवा, मरेँ दाजुभाइ
बचाउन कोही आएन म अभागीलाई
दलित छोरी भएर हो कि न्यायमा विभेद किन
केन्द्र सरकार आँखा खोलोस् समान न्याय दिन
(हेर्नुस् मायाबारे लेखिएका केही रचना र डायरी)
कमलले यस्ता हरफ धेरै लेखेका छन्। उनी मायाको सम्मानमा पुस्तक नै निकाल्ने सोचमा छन्। भन्छन्, ‘तर, न्याय नदिने सरकार, सुरक्षा नदिने सरकार, केटी देख्न नहुने समाजले साहित्य के देख्ला र ? मायालाई सम्झेर हामी सधैं भावविह्वल छौं। उनीजस्तो चेतनशील, अगुवा छोरीलाई हामीले गुमायौं।’
माया केही फरक सोच्थिन्। उनलाई किताबमा पढेका समाजसेवी जीवनले खिच्थ्यो। उनी छुवाछूत भोगिरहेको समाजमा केही गर्न चाहन्थिन्। चरम गरिबी र अभावमा बाँचेकी उनमा केही गरौं भन्ने भावना थियो।
गाउँलेहरु एक वर्षपछि यसरी भावुक र आतंकित मुद्रामा जम्मा भए। अनाहकमा यातना सही, सही मर्नुपर्ने, यो कस्तो विडम्बना होला ? आफू बाँचेकामा म आफैँप्रति धन्य हुन्छु। बाँच्दैमा मात्र खुसी हुनुपर्ने यो कस्तो खुसी !
जिल्ला प्रहरी कार्यालय कैलालीले असार १५ गते चपरथली सामुदायिक वनमा मायाको लास भेट्टायो। साइकल भेटिएको एक किलोमिटर पर अर्धनग्न अवस्थामा लास भेटिएको थियो। धनगढीबाट सोही गाउँमा ससुराली गएका एक युवाले यो देखेका थिए।
आमाबुवालाई मायाले उच्च शिक्षा पढेको देख्ने ठूलो धोको थियो। मायालाई पढाउन मायाकी आमा देउसरा कुवेत गएकी थिइन्। बिरामी श्रीमान् र ससाना दुई छोरा अनि एक छोरी छोडेर कुवेत उडेकी थिइन् उनी।
ससाना बालबच्चा छोडेर बिदेसिनुपर्ने आमाका दुःख, सन्तानका दुःख यो समाजले कहिले बुझ्ला ?
आमा कुवेत जाने आउने गरेको पाँच वर्ष भइसकेको थियो। छोरीले एसएलसी पास गरिन्। छोरीलाई उच्च शिक्षा पढाउने भनेर आमा पुनः विदेश गइन्।
दलित समुदायले भरिएको छ, मायाको बस्ती। चरम गरिबीका कारण यहाँका प्रायः अभिभावक कामको सिलसिलामा भारत र खाडी मुलुक जाने गर्छन्। गाउँमा मेलमिलाप एकदमै राम्रो छ।
कसैलाई दुःख पर्दा सहयोग गर्ने र खुसीमा सँगै रमाउने कटान बस्तीमा माया बिकको जन्म भएको थियो। तर यही एकान्त बस्तीले उनलाई निलिदियो। कवि, लेखकहरुलाई पो एकान्त मन पर्छ र भावुक भएर बस्नु–रमाउनुहुन्छ, रचना सिर्जना गर्नुहन्छ— आहा एकान्त भनेर। तर, छोरीको जातलाई एकान्त कति अभिषाप छ भन्ने पुरुष, धनीमानी, सहरिया कवि–लेखकलाई के थाहा ?
मायाको मिलनसार व्यवहारले गर्दा गाउँमा स्वतस्फूर्त खुसी बाँडिएको थियो, उनी एसएलसी पास हुँदा खसी काटेर।
मायालाई गाउँले, छिमेकीहरू कतिसम्म माया गर्थे भने प्लस टु पढ्नलाई सोही बस्तीका समुदायहरूले अलि अलि पैसा उठाएर मायालाई कलेज भर्ना गरेका थिए। माया दुई वर्षमै प्लस टु पनि पास भइन्।
माया दलित बस्तीकै छोरी थिइन्। र त गाउँका गरिब, सोझा, सीधासाधा सारा दलित अभिभावककी उनी विश्वास, भरोसा र अपेक्षा थिइन्। उनीहरू हाम्री छोरीले पनि पढेकी छ, जागिर खाई भनेर खुसी हुन्थे। परिआए धाक पनि दिन्थे, कस्तो गज्जब पारिवारिक हार्दिक आत्मीय वातावरण थियो र छ गाउँमा।
मायाका दुवै भाइले चरम गरिबीका कारण १० सम्म पनि पढ्न पाएनन्। काम गर्न थालिहाले उनीहरूले। जग्गा यही घर भएको जति मात्र हो। अभाव हुँदा पेट पाल्नु परिहाल्यो। प्रतिभा छ भने ढुंगा फोरेर पनि पीपल उम्रन्छ भन्नेलाई हाम्रो प्रश्न छ— मायाजस्ता हजारौं गरिब दलित, थारूहरू उम्रन सकेनन्, के उनीहरू प्रतिभा नभएका हुन् ?
गाउँभरिका मान्छे जंगलमा लास खोज्दै जाँदा मनोज बोगटी नामको एक युवक पनि आफन्तसँगै लास खोज्न सहभागी भयो। लास खोज्न सहयोग गर्दै ऊ भन्थ्यो— प्रहरीको अनुसन्धान कहीँ कतै फेल नखाओस्, शंका गरेको व्यक्तिमाथि प्रहरीले न्यायपूर्ण अनुसन्धान गरोस्।
यो पंक्तिकारले घटनालगत्तै गाउँ गएर बुझेको, भेटेको थियो।
कुवेतबाट लगत्तै फर्केकी मायाकी आमाले भनेकी थिइन्, ‘म रुँदै दोषीलाई मेरो छोरीको हालत गर्छु भन्दा पीडक मनोजले लास फेला पर्यो किन लम्ब्याउने ? भन्दै हामीलाई थामथुम पार्न खोज्दै थियो। मैले भक्कानिएर यो मेरो छोरी हो ! मेरो छोरीको यस्तो अवस्था बनाउनेलाई कुनै पनि हालतमा छोड्दिनँ भन्दा ऊ भाग्योे।’
पीडित परिवारले बलात्कार गरेर हत्या भएको आशंकामा जिल्ला प्रहरी कार्यालय कैलालीमा मुद्दा दर्ता गरे। जिल्ला प्रहरी कार्यालय कैलालीका तत्कालीन एसपी विनोद घिमिरेले अनुसन्धानका लागि मायाको घरसम्म एउटा टोली पठाए। त्यसको अर्को दिन आफैं घटनास्थल पुगे।
घटनास्थलबारे अनुसन्धान गर्दै जाँदा नजिकको प्रहरी चौकी (मसुरिया चौकी)मा रहेको रेकर्ड फाइल हेरेर शंकास्पद व्यक्तिलाई पक्राउ गरी अनुसन्धान थालियो।
त्यही क्रममा एक जना भाग्यो भन्ने खबर जिल्ला प्रहरी कार्यालयमा पुगेको एसपी घिमिरले बताए।
भाग्ने व्यक्ति उही मनोज बोगटी रहेछ।
मनोजकी श्रीमतीले मोबाइल देखाइन्। ऊ मोबाइल छोडेर भारत गएको रहेछ।
प्रहरीले मनोजकी श्रीमतीलाई काउन्सिलिङ गर्यो। मनोजलाई घरसम्म ल्याउन श्रीमतीको सहयोग लियो, प्रहरीले। प्रहरीले उनकै सहयोगमा मनोजलाई पक्राउ गर्यो र अनुसन्धान गर्यो।
मनोजले अनुसन्धानका क्रममा घटनाको सबै बेलीविस्तार सुनायो ः
मायालाई गणेश बडुवालले अघिल्लो दिन नै सेक्सको प्रस्ताव राखेको थियो तर मायाले इन्कार गरेपछि बडुवालले बलात्कार गर्ने योजना बनायो। बडुवालले मायाकै कपडाले हातखुट्टा बाँधेर एक जनालाई टाउको, एक जनालाई खुट्टा समात्न लगाई बलात्कार गर्यो।
मनोजले पालैपालो चारजनाले सामूहिक बलात्कार गरेको स्वीकार गर्यो।
पाँचौं व्यक्तिले रेप गर्न खोज्दा मायाको प्राण गइसकेको थियो।
मनोजले बयान दिएपछि सबैले अपराध स्वीकार गरे।
मायालाई बलात्कार गर्ने बेला मुखभरि कागज, सालको पात कोचिएको थियो। यसले गर्दा उनलाई सास फेर्न गाह्रो भएको थियो।
अपराध गर्ने व्यक्ति गौरीगंगा नगरपालिकाका ३० वर्षीय गणेश बडुवाल, २७ वर्षीय मनोज बोगटी, २१ वर्षीय सुरज चौधरी, २० वर्षीय भुवन खाती र १९ वर्षीय तपेन्द्र बोगटी हुन्। उनीहरू हाल कैलाली कारागारमा सजाय भोग्दै छन्।
गणेश बडुवाल उही व्यक्ति हो, जो मायाको सहकर्मी थियो। मायासँगै करारमा नाम निकालेको थियो, उसले। जागिर सुरु गरेको छ दिनमै, पहिलो तलब नै बुझ्न नपाई गइन् माया।
पहिलो तलब बुझ्दा उनी कति खुसी हुँदी हुन् ! एसएलसी पास हुँदाझैँ गाउँमा फेरि खसी काटिँदो हो ! कुवेतमा आमा कति हाँस्दी हुन् !
तर, पढेलेखेको सहकर्मीबाटै उनी पटकपटक मारिएर अन्ततः मारिइन्।
न्यायका लागि पनि आन्दोलन
मायाका गाउँले छोरी बलात्कार गरेर हत्या गर्ने अपराधीलाई हदैसम्मको कारबाही होस् भन्दै नारा जुलुस गर्दै सडकमा आए। तर, कैलालीका संघसंस्थाले त्यो आन्दोलनलाई प्राथमिकतामा राखेनन्। दलित तथा महिलाको क्षेत्रमा काम गर्ने केही संस्थाबाहेक कसैले चासो दिएनन्। मिडियाले पनि अरू घटनामा जसरी यसमा चासो दिएन।
हत्या गर्नेहरू एक साताभित्रै प्रक्राउ त परिहाले। संघसंस्था पनि अपराधीहरू प्रहरीको फन्दामा परिसक्यो भनेर चुप लागे।
मायाबारे कमल विश्वकर्माले लेखेका डायरी सिर्जना
अस्ति म मायाको घर पुग्दा उनीहरू छुट्ने हल्ला र त्रास रहेछ। गाउँलेहरू आतंकित छन्। उनीहरूले भने— हामीलाई एक पैसो चाहिएन। हत्याराहरूलाई छोड्न भएन।
घटना भएको ११ महिना पुगिसक्यो, मायाको घरमा केही पत्रकार र दुईचारजना अधिकारकर्मीबाहेक कोही पुगेका छैनन्।
मायाका आमाबुवालाई सान्त्वना दिनेहरू उनै गाउँवासी मात्रै हुन्।
मायाका बुवाले यतिचाहिँ भने, ‘हामीलाई कानुनका बारेमा केही जानकारी छैन। माथिल्लो तहसम्म हाम्रो पहुँच पनि छैन। हामीलाई कुनै बहानामा अन्याय नहोस्।’
क्षतिपूर्तिमा विभेद
स्थानीय सरकारले मायाको काजकिरियास्वरूप एक लाख रुपैयाँ दिने घोषणा त गर्यो तर हालसम्म सो रकम उनीहरूले पाएका छैनन्।
मायाको हत्यालगत्तै नजिकैको जिल्ला कञ्चनपुरमा निर्मला पन्तको पनि यस्तै हत्या भयो। निर्मलाको हत्या प्रकरणले ठूलो रूप लियो, माया हत्या प्रकरण भने नेपथ्यमा कतै छुट्यो। अपराध, हत्या उस्तै हो तर त्यसलाई हेर्ने हाम्रो नजर भने फरक देखियो।
निर्मलाको केस बढी प्रचार भयो, धेरै हल्ला भयो भन्ने मेरो तर्क हुँदै हैन। जति हुनुपथ्र्योे त्यति निर्मलाको केसको पनि छानबिन, कारबाही, न्याय केही भएन।
मेरो कुरा हो, माया विकको किन उसै गरी कभरेज भएन ? के दलित भएर ? गरिब भएर ?
निर्मलालाई अझै न्याय दिइएको छैन। उनको आत्मालाई शान्ति दिनुपर्छ।
प्रदेश र संघीय सरकारले निर्मलालाई क्रमशः पाँच लाख र १० लाख रुपैयाँ गरी १५ लाख रुपैयाँ दिने घोषणा गर्यो। स्थानीय सरकारले तीन लाख रुपैयाँ दिने घोषणा गर्यो। निर्मलाको परिवारले सबै पाउनुभयो जस्तो लाग्छ।
तर कैलालीमा दलित अधिकारको क्षेत्रमा काम गर्ने केही संस्थाको पहलमा मायाको परिवारलाई पनि राहत दिनुपर्ने भनेर ज्ञापनपत्र बुझाएपछि मात्र प्रदेश सरकारले पाँच लाख रुपैयाँ दिने घोषणा गर्यो। तर हालसम्म मायाको परिवारले कुनै रकम पाएको छैन।
हालसम्म नेता, सांसद, मन्त्रीहरूको पाइला मायाको घरमा टेकिएको छैन। घटना उही हो, तर निर्मलाको घर नपुग्ने सायद कोही बाँकी छैनन् होला। यसो भनिरहँदा, निर्मलाको न्यायमा मैले दखल दिन खोजेकी पटक्कै होइन। तर घटना उही, जात मात्रै त फरक हो ? र पनि हाम्रो सामाजिक व्यवहार किन फरक ?
अपराध गर्ने व्यक्तिले जेल सजाय भोग्दैमा पीडित परिवारले सम्मानपूर्वक न्याय पाएको महसुस गर्नुपर्ने हो ? के पीडित परिवारप्रति सान्त्वना, सुरक्षा, सम्मानजस्तो केही दायित्व राज्य र सरकारको हुँदैन ?
मायाका छिमेकी खडक विश्वकर्माले भने, ‘हामीलाई राज्यको व्यवहार देखेर धेरै चिन्ता लाग्छ। यत्रा घटना हुँदा भोट माग्न आउनेहरू कोही आएनन्। के हामी यो देशका नागरिक होइनौं ? ’
कैलाली जिल्लामा ०७५÷७६ मा जजक (जबर्जस्ती करणी) भएका ६० घटनामध्ये नौ जना दलित महिला छन्। यसले बलात्कारको पनि जात, वर्ग हुन्छ भन्छ कि ? समाजमा जातीय रूपमा अवहेलित र वर्गीय रूपमा निम्नहरूकै हत्या र बलात्कार भइरहेको देखिन्छ। पहुँचविहीनलाई जे गरे पनि हुन्छ भन्ने मानसिकता नै प्रबल देखियो। कैलालीमै ०७५÷७६ मा जजकउ (जबर्जस्ती करणी उद्योग) का ३१ घटनामध्ये सात दलित महिला छन्।
तीन तहका सरकारसित यसबारे ठोस योजना के छ ? सरकारहरूमा हुनेहरू ! यहाँहरूलाई आफ्ना छोरीचेलीको जीउज्यानको जति माया लाग्छ, के दलित र गरिबका बाआमालाई आफ्नो सन्तानको उस्तै माया लाग्दैन होला र ? माया र निर्मलाहरुलाई न्याय कहिले ?
लेखक क्रियाशील पत्रकार महिला कैलाली जिल्ला-अध्यक्ष हुन्।
यो पनि पढ्नोस >>> टिप्पणी : सामाजिक क्रान्तिको कवाज