स्वास्थ्य जाँच गराउँदैनन् गर्भवती
जुम्ला : गुठिचौर गाँउपालिका–२ की २२ वर्षीया बेलमती ऐडी गतवर्ष डिल्लीचौर स्वास्थ्य चौकीमा सुत्केरी भइन्। तर प्रसुति हुँदा बच्चा उल्टो निस्कीयो। समयमै शल्यक्रिया नहुँदा बच्चाको निस्सासिएरै मृत्यु भयो। तर गाँउमा भूतप्रेतका कारण बच्चाको मृत्यु भएको हल्ला फैलियो।
अहिले पनि उनको कोखमा आठ महिनाको गर्भ छ। तर अहिलेसम्म उनले गर्भको जाँच गराएकी छैनन्। प्रसुति हुने दिन नजिकिँदै गर्दा अस्पताल पुगेर प्रसुति सेवा नै नलिने बेलमतीको अडान छ। उनी जस्तै मुडुरी गाउँकी गंगा ऐडी लगायत आठ जना गर्भवती महिलाले एकपटक पनि स्वास्थ्य जाँच गराएका छैनन्। स्वास्थ्यचौकी पुगेर नियमित गर्भ जाँच नगराउने र स्वास्थ्य संस्थाबाट प्रसुति सेवा नलिनेको संख्या गुठिचौर र पातारासी गाउँपालिकामा धेरै छ।
यसको मुख्य कारण नै अन्धविश्वास हो। स्वास्थ्य संस्थामा गर्भ जाँच गराउँदा वा प्रसुति हुँदा पेटको बच्चालाई भूतप्रेतले खाने र अपांग हुने जस्ता भ्रमहरु फैलाइएको छ। गर्भवती भएको बेला खोला तर्नु हुँदैन भन्ने डर अँझै ग्रामिण क्षेत्रमा कायमै छ। गाउँभित्रै स्वास्थ्य चौकी भएमा मात्रै महिलाहरु गर्भ जाँचका लागि जाने गर्दछन्। बाटोमा कुनै खोला, नदी वा देवी देवताका मन्दिरहरु भएमा उनीहरु त्यो बाटोमा हिँड्नसमेत डराउँछन्।
स्वास्थ्य संस्थामा जाँदा भूत लागेर गर्भ तुइने र बच्चा खाइदिने भ्रमका कारण गर्भवती हुँदा गाउँबाट बाहिर पनि निस्कँदैनन्। भूतकै डरले स्वास्थ्य संस्थासम्म जाँचका लागि आउन अनकनाउने गरेको गज्र्याङकोट स्वास्थ्यचौकीकी इन्चार्ज शुस्मा शाहले बताइन्। ‘गर्भवती हुँदा गाउँबाट बाहिर निस्कँदा पेटको बच्चा भूतले खान्छ भन्ने भ्रम छ। अँझ गाउँबाहिर माइती हुने महिलाहरु बच्चा नजन्मिदासम्म माइतीसमेत जाँदैनन’ उनले भनिन्। समयमा गर्भजाँचका लागि नआउँदा आमा र बच्चा दुवैको ज्यान जाने खतरा रहेको उनी बताउँछिन्।
यस्तै डिल्लीचौर स्वास्थ्य चौकीकी अनमी शोभा खड्काले भूतप्रेतको डरले स्वास्थ्य संस्थामा नआउने महिलालाई लक्षित गरी जनचेतना फैलाउन गाउँपालिकासँग समन्वय गर्ने बताइन्। ‘घरका मुख्य व्यक्ति र धामीझाँक्रीकै डरले गर्भवतीको ज्यान जोखिममा पर्दै आएको छ। अब हामी धामी र परिवारका सदस्यलाई नै सहभागी बनाएर गर्भवती सुरक्षा अभियान थाल्नेछौं’ उनले भनिन्।
प्रतिक्रिया दिनुहोस !