भारत लैजान झाडीमा लुकाएको एक सय किलो गाँजा बरामद
राजविराज : करिब एक सय किलो गाँजा झाडीमा लुकाइराखेको अवस्थाबाट सशस्त्र प्रहरीले बुधबार बरामद गरेको छ ।
सशस्त्र प्रहरी निरीक्षक निरञ्जनराज कार्कीको नेतृत्वमा खटिएको सातजनाको गस्ती टोलीले सुरुङ्गा नगरपालिका–७ चकदहबाट १३ वटा पोकामा रहेको अन्दाजी एक सय किलो गाँजा बरामद गरेको जनाएको छ ।
बलान नदी नजिकै झाडीमा लुकाइराखेको अवस्थामा करिब एक सय किलो अवैध गाँजा बरामद गरिएको सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प कडरबोनाका सशस्त्र प्रहरी निरीक्षक कार्कीले बताए ।
प्रहरीका अनुसार कोशी नदी र बलान नदीमा रहेको सप्तरीको दक्षिण क्षेत्रका विभिन्न गाउँका घर, गोठ र झाडीमा गाँजा संकलन गरी भारततर्फ तस्करले गाँजा ओसार्ने गरेको पत्ता लागेको छ ।
भारततर्फ तस्करी गर्न झाडीमा लुकाएर राखेको गाँजा बेवारिसे अवस्थामा बरामद गरिएकाले तस्करहरु भने पक्राउ गर्न नसकिएको सशस्त्र प्रहरी निरीक्षक कार्कीले बताए ।
प्रतिक्रिया दिनुहोस !