तारजाली प्रविधिबाट सुरक्षित घर

तारजाली प्रविधिबाट सुरक्षित घर

दोलखा : तारजाली प्रविधि अपनाएर दोलखामा धमाधम सुरक्षित घर पुनःनिर्माण भइरहेका छन्। चर्को मूल्य खर्च गरेर पक्की घर बनाउन नसकेका दोलखाका भूकम्प प्रभावितले सस्तो मूल्यको तारजाली प्रविधि अपनाएर घर बनाउन थालेका हुन्।

यातायातको सहज पहुँच नभएको उच्च पहाडी क्षेत्रमा सिमेन्ट, बालुवा, रड लगायतका निर्माण सामग्री पुर्‍याउन कठिन हुने स्थानहरुमा पुनःनिर्माण प्राधिकरणले तारजाली प्रविधिबाट घर निर्माणका लागि सिफारिस गरेको थियो। राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन (भवन) इकाई दोलखाका इन्जिनियर भोगेन्द्र शाहले सिमेन्ट रड उपलब्ध गराउन नसकिने दुर्गम क्षेत्रमा तारजाली प्रदान गरिएको बताए। आर्थिक रुपमा कम खर्चिलो, निर्माणमा सहज, सामग्री ढुवानीमा समस्या नहुने तारजाली प्रविधिको घर निर्माणप्रति स्थानीयको आकर्षण बढेको इन्जिनियर शाहले दाबी गरे।

तारजाली प्रविधिबाट घर बनाउँदा ढुंगालाई ग्यावियन वायरले बुनेर गाह्रो लगाउने र बाहिरबाट परम्परात अनुसारको रङको माटोले लिप्ने गरिन्छ। चार कोठाको २ तले घर बनाउन करिब एक क्विन्टल ग्यावियन तार खर्च हुने गरेको यूएनडीपीका प्राविधिक बताउँछन्। संयुक्त राष्ट्रसंघिय विकास कार्यक्रम (युएनडीपी)को आर्थिक तथा प्राविधिक सहयोगमा तारजाली प्रविधिको घर दोलखाको शैलुङ गाउँपालिका–५, काटाकुटी र भीमेश्वर नगरपालिका–८ बोचमा गरी ८७ ओटा घर निर्माण भइरहेका छन्। यस्तै सोही प्रविधिबाटै सिन्धुपाल्चोकमा पनि ५० र गोरखामा २७ ओटा घरको पुनःनिर्माण भएको यूएनडीपीले जनाएको छ।

बुधबारसम्म अनुदान सम्झौता गरेका ६७ हजार ५ सय ५९ मध्ये ७७ प्रतिशत अर्थात ५१ हजार ९ सय ७८ घर निर्माण भइसकेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण आयोजना कार्यान्वयन ईकाई दोलखाले जनाएको छ। भूकम्पपछि करिब ३ वर्षसम्म जस्तापाताले बनेको टहरामा बस्दै आएको शैलुङ गाउँपालिका–५, काटाकुटीकी यज्ञकुमारी खड्काले बताइन्। तारजाली प्रविधिबाट सुरक्षित घर बनेपछि एकसातअघि मात्रै नयाँ घरमा सरेको उनको भनाइ छ।

‘पक्की घर बनाउने धेरै रकम थिएन, तारजाली प्रविधि अपनाउँदा ऋण खोज्नु परेन’ उनले भनिन्। तारजाली प्रयोग गर्दा चार कोठाको दुई तले घर निर्माण गर्न ६ लाख रुपैयाँ खर्च भएको उनको भनाइ छ। यस्तै, भीमेश्वर नगरपालिका–८, बोचकी एकल महिला याङडोल्मा तामाङको घर यूएनडीपीले प्रविधि हस्तान्तरण कार्यक्रममार्फत नमुनाको रुपमा निःशुल्क निर्माण गरिदिएको छ। सडक र पहिरो रोकथाममा मात्र ग्यावियन तार प्रयोग गरेको देखेकी तामाङले आफ्नै घर सुरक्षित ढंगले तारजालीबाट बनेको देख्दा छक्क परेको बताइन्।

‘मलाई त यो भूकम्पले कटेरोबाट सुरक्षित घरमा बस्ने बनाइदिएको छ’ उनले भनिन्। प्रविधि हस्तान्तरण कार्यक्रममार्फत निःशुल्क घर निर्माण गर्न वडा कार्यालयबाट तामाङको नाम सिफारिस गरिएको थियो। सोही प्रविधि सिकेर अरु ठाउँहरुमा पनि घर निर्माण सुरु गरेको डकर्मीहरु बताउँछन्। प्राविधिक रुपमा सस्तो र फरक ढङ्गले बनेका सुरक्षित घरको अध्ययन तथा अवलोकन गर्न जिल्लाभरबाट धेरै भूकम्प प्रभावितहरु शैलुङ गाउँपालिकाको काटाकुटी आउने गरेको शैलुङ गाउँपालिकाका अध्यक्ष भरत दुलालले बताए।

भूकम्पपछि यूएनडीपीले नेपालमै पहिलोपटक दोलखामा तारजालीको घर बनाउने प्रविधिको सुरुवात गरेको थियो। उसले सुरु गरेको यो प्रविधि सर्वसुलभ, सुरक्षित र यातायातको पहुँच नपुगेको ग्रामिण क्षेत्रको लागि उपयुक्त रहेको प्राविधिक सुनोज जोशीले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.