पाल्पामा जंगली च्याउ खाँदा मृत्यु हुने ६ पुगे
पाल्पा : पूर्वी पाल्पाको निस्दी गाउँपालिका–३ कार्कीडाँडामा जंगली विषालु च्याउ खादा मृत्यु हुनेको संख्या ६ पुगेको छ ।
गत जेठ २४ गते साँझ जंगली च्याउँ तरकारीको रुपमा खाएका ११ जनामध्ये मृत्यु हुनेको संख्या ६ पुगेको हो । आज शुक्रबार मात्र उपचारको क्रममा रहेका ८ जना विरामी मध्ये ४ जनाको मृत्यु भएको छ । उपचारको क्रममा रहेका ८ वर्षीय सुमन सिंह ठकुरी, १२ वर्षीया निशासिंह ठकुरी, ४५ वर्षीय पूर्णबहादुर खाम्चाको शिक्षण अस्पतालमा र १४ वर्षीया निरुता सिंह ठकुरीको काठमाडौं मेडिकल कलेजमा मृत्यु भएको हो ।
मृतक चारैजना चितवन मेडिकल कलेजबाट रिफर भइ थप उपचारको लागि काठमाडौं पठाइएको थियो । ९ वर्षीया निर्मला सिंह ठकुरीको जेठ २५ गते र ४ वर्षीय विष्णुसिंह ठकुरीको जेठ २६ गते भरतपुर मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको थियो ।
विरामी भएका २९ वर्षीया दानमाया सिंह ठकुरी,३० वर्षीया धनमाया सिंह ठकरी, ३६ वर्षीया चनमायाँ खाँम्चा र १५ वर्षीया विमला खाम्चाको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी कृष्णराज सापकोटाका अनुसार च्याउ खाइ विरामी परेका ८० वर्षीय प्रेमबहादुर खाम्चा भने अस्पतालबाट डिस्चार्ज भएका छन् ।
प्रतिक्रिया दिनुहोस !