एउटै कोठामा चार वडा
डोल्पा : ठूलीभेरी नगरपालिकामा एउटै कोठामा चार वटा वडाको काम भइरहेको छ। भौतिक संचरनाको अभावले वडा नम्वर एकदेखि चारसम्मका सबै कामकारबाही एउटै कोठाबाट गर्नुपरेको छ।
सदरमुकाम दुनैमा अवस्थीत चार वटै वडा कार्यालय साँघुरो एउटा कोठाबाट सेवा प्रदान गरिरहेका छन्। कोठा अभावका कारण वडा कार्यालय र नागरिक दुवैलाई सेवा लिन सकस भएको छ। ‘दुई वर्षदेखि एउटै कोठाबाट सेवा दिनुपर्दा गाउँमा सिंहदरबार आएको अनुभुति भएकै छैन’ तीन नम्वर वडा अध्यक्ष अर्णबहादुर न्यौपानेले भने, ‘पहिलो आर्थिक वर्ष नगरापालिका केन्द्र विवादमै बित्यो, अहिले वडा कार्यालय स्थापनाको ठेगान छैन।’
वडा नम्बर १ का अध्यक्ष बागबहादुर महताराका अनुसार पहिलो आर्थिक वर्षमा कार्यालय व्यवस्थापनका लागि खरिद भएका फर्निचरहरु अलपत्र छन्। नगरप्रमुख गणेशबहादुर शाहीले काम गर्न नसक्दा वडा कार्यालय व्यवस्थापन हुन नसकेको उनको आरोप छ। नगरपालिकाको केन्द्र विवादका कारण वडा कार्यालय स्थापना हुन नसकेको हो। सरकारले राजपत्रमा नगरपालिकाको केन्द्र जुफाललाई तोके पनि विवाद टुंगिएको छैन। नगर उप–प्रमुख योगेन्द्रबहादुर शाहीले वडा कार्यालय स्थापनाका लागि पहल भइरहेको बताए।
एउटै कोठाबाट अहिले चार वटै वडा अध्यक्षहरु चार कुनामा कुर्चि राखेर बस्ने गरको दुई नम्वर वडा अध्यक्ष देबि रोकायाले बताए। आवश्यकताअनुसारको फराकिलो कार्यालय नहुँदा नागरिकलाई झोलाबाटै सेवा दिनुपरेको उनको भनाइ छ। नगरपालिकाको केन्द्र अँझै टुंगो नलाग्दा विकासे काममासमेत नराम्रो प्रभाव परेको छ।
जनप्रतिनिधिको आन्तरिक कलहले पालिकाबाट प्रवाह हुने सेवा सुविधा नागरिकले उपभोग गर्न पाएका छैनन्। केन्द्र विवादले नगरप्रमुख र उप–प्रमुख दुई खेमामा विभाजित बनेका छन। केन्द्र टुंगो लगाउने विषय सर्वोच्व अदालतमा विचाराधिन छ।