उपमेयर कप राष्ट्रिय महिला भलिबलको उपाधि एपीएफलाई
नुवाकोट : नुवाकोटमा सम्पन्न प्रथम उपमेयर कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि एपीएफ क्लबले जितेको छ। सोमबार भएको फाइनल खेलमा एपीएफले न्यु डायमन्ड एकेडेमीलाई २५–२१, २५–२०, २५–१२ को सोझो सेटले हरायो।
उपाधिसँगै एपीएफले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्यो। उपविजेता न्यु डायमन्डले ७५ हजार रुपैयाँ पायो। तेस्रो भएको त्रिभुवन आर्मी क्लबले ४० हजार रुपैयाँ प्राप्त गर्यो। आर्मीले नेपाल पुलिस क्लबलाई हराएको थियो।
फाइनल खेलमा एपीएफकी सरस्वती चौधरीले प्लेयर अफ दी म्याच घोषित भइन्। सर्वोत्कृष्ट खेलाडी पनि बनेकी सरस्वतीले पाँच हजार रुपैयाँ पुरस्कार पाइन्।
विजेतालाई सभासद् रामकुमारी झाँक्री, राष्ट्रिय खेलकुद परिषद्की सदस्य इन्दिरा निरौला, विदुर नगरपालिका मेयर सञ्जु पण्डित, जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङलगायतले पुरस्कार वितरण गरेका थिए।
प्रतिक्रिया दिनुहोस !