गर्मीमा ‘हाँडीको दही’
विराटनगर : दिनप्रतिदिन गर्मी बढ्दै गएपछि मोरङका ग्रामीण क्षेत्रमा उत्पादन गरिएको हाँडीको दहीको माग पनि बढ्न थालेको छ। गाउँमै पालेका गाई र भैंसीको दूधलाई माटोका भाँडा (हाँडी) मा राखेर जमाएको दही मिठो र स्वास्थ्यवर्धक हुने भएकाले गर्मी मौसममा यसको माग बढेको हो।
‘गर्मीमा चिसो दही खाँदै शीतलता अनुभूति गर्नुको मज्जा बेग्लै हुन्छ, गाउँमै उत्पादन गरेको दही सेवनले स्वास्थ्यमा समेत धेरै फाइदा पुर्याउने भएकाले गर्मीमा धेरैले यो दही खोज्ने गरेका छन्’, सुनवर्षी नगरपालिका ८ का स्थानीय भेगल साहले भने। उनका भनाइअनुसार ग्रामीण क्षेत्रमा पेटको समस्या देखिए यही दही खाने गरिएको छ। त्यसमा पनि माटोको भाँडामा जमाएको दही अझै मिठो हुने उनको भनाइ छ। ‘अन्य भाँडामा जमाएको भन्दा माटोको भाँडामा जमाएको दहीको स्वाद फरक हुन्छ, एकपटक खाएपछि फेरी खाउँ खाउँ लाग्ने ग्राहक बताउँछन्, बिक्री पनि राम्रो हुने गरेको छ’, उनले भने।
पछिल्लो समय डेरी उद्योगहरूले उत्पादन गरेको दहीले बजार ओगटे पनि यसको माग भने नघटेको स्थानीयको भनाइ छ। माटोको भाँडामा जमाउँदाको स्वाद र शुद्ध दूधबाट बनाएकै कारण नै यसको मागमा कमी नआएको नगरपालिकावासी सुमिन्द्रादेवी मण्डल बताउँछिन्। ‘दैनिक २ देखि ३ वटासम्म हाँडीको दही बिक्री हुन्छ, यो बेचेर गाईको चोकर र तरकारी किन्ने पैसा पनि जुट्छ, माग पनि कहिल्यै घटेको छैन’, मण्डलले भनिन्। घरमा पालेको गाई र भैसीको दूधबाट हाँडीमा जमाएको दहीले नै गर्मीको समयमा राम्रो आम्दनी हुने गरेको स्थानीय बताउँछन्।
मोरङमा सबैभन्दा बढी सुनवर्षी नगरपालिका क्षेत्रका स्थानीयले हाँडीको दही जमाएर ग्रामीण क्षेत्रमा लाग्ने हाटबजारमा बिक्री गर्दै आएका छन्। सदरमुकाम क्षेत्रबाट पनि हाँडीकै दही खान ग्रामीण हटियासम्म ग्राहक पुग्ने गरेको बिक्रेताको भनाइ छ। डेरीभन्दा हाँडीकै दहीमा प्राकृतिक स्वाद पाउने भएकाले त्यसतर्फ उपभोक्ताको आकर्षण बढेको स्थानीय भेगल साहले बताए। उनले दैनिक दुई लिटर दूधमा तीन हाँडी दही जमाएर हटियामा बेच्ने गरेको सुनाए। उनले भने, ‘प्रतिहाँडी एक सय रुपैयाँको दरले बेच्ने गरेको छु, आम्दानी पनि राम्रो छ अनि माग पनि उच्च छ।’ दैनिक ४ देखि ५ वटा दहीको हाँडी बेचेर बेलुका घर फर्किने गरेको उनले बताए। उनले भने, ‘आम्दानीबाट भैंसीको लागि चाहिने चोकर, पिना किन्ने गरेको छु।’ हाँडीकै दही बेचेर आएको रकमले छोराछोरीको पढाइ खर्चसमेत टार्न पुग्ने सोही स्थानकी सुमिन्द्रादेवी मण्डलले बताइन्।
प्रतिक्रिया दिनुहोस !