सल्यानको कुपिण्डेतालमा बेपत्ता युवा तीन दिनसम्म भेटिएनन्
सुर्खेत : सल्यानको कुपिण्डेतालमा डुबेर बेपत्ता भएका एक युवक तीन दिनसम्म भेटिएका छैनन्। गत सोमबार बेलुकी तालमा पौडी खेल्न गएका बनगाड कुपिण्डे नगरपालिका ८ का ३६ वर्षीय गोकुल बुढा पौडी खेल्ने क्रममा तालमा डुबेर बेपत्ता भएका थिए।
जिल्ला प्रहरी प्रमुख डीएसपी वीरेन्द्र बहादुर शाहीले भने, ‘बेपत्ता युवाको खोजीकार्य जारी छ, तर भेटिएका छैनन्, बेपत्ता युवाको शव खोज्न गोताखोरको टोली नै मगाउनुपर्ला जस्तो छ।’
गोकुल बुढासँगै अन्य तीन जना साथीहरू तालमा पौडी खेल्न गएका थिए। गोकुलसँगै नुहाउन उनका भान्जा पूर्णबहादुर बुढामगर, मेघराज पुन र प्रेम रोका पनि तालमा गएका थिए। उनीहरूले पनि तत्काल उद्दार गर्न सकेनन्।
उनीहरूका अनुसार बेपत्ता युवा तालमा डुबेपछि तत्काल उद्धार गर्न कठिनाई भएको थियो। झण्डै ३४ मिटर गहिरो कुपिण्डेतालमा पछिल्लो पटक दुई दर्जन डुंगा संचालनमा छन्।
३० हेक्टर क्षेत्रफलमा फैलिएको कुपिन्डे ताल भौगालिक रुपमा अफ्ठ्यारो भएकोले पौडीको लागि जोखिमपूर्ण मानिन्छ।
प्रतिक्रिया दिनुहोस !