प्रधानमन्त्री रोजगार कार्यक्रम: झार उखेलेर दिन काट्दै युवा, भन्छन्, ‘बजेट त सक्नु पर्याे’
गोरखा : प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत गोरखा नगरपालिकामा रोजगार पाएकाले झार उखेलेर र घाँस काटेर दिन काट्ने गरेका छन्।
गोरखा नगरपालिका ६ बाट रोजगारीका लागि छनोट भएकाले बिगत तीन दिनदेखि दिनभर रानीपोखरी आसपास झार उखेलेर र घाँस काटेर बिताएका हुन्। उनीहरुजस्तै गोरखा नगरपालिकाभित्र दुई सय ५२ जनाले बुधबारदेखि घाँस काट्ने, झार उखेल्ने, नाला सफा गर्ने काम गरिरहेको रोजगार संयोजक गीता बस्नेतले जानकारी दिइन्।
‘सकेसम्म प्रभावकारी काम गरौं भनेको हो। तर, सकिएन’, उनले भनिन्, ‘समय छोटो रह्यो, बजेट सक्नु पर्ने बाध्यता रह्यो। यो अवधिभित्र निर्माणको काम गराउन सकिएन। त्यसैले सरसफाइ र मर्मतसम्भार गर्न लगाइएको हो।’ उनीहरुले १५ दिनसम्म यस्तै काम गर्ने उनको भनाइ छ।
दिनभर काम गरेबापत प्रतिव्यक्ति सात सय रुपैयाँका दरले ज्याला पाउने व्यवस्था रहेको बस्नेतले जानकारी दिइन्। प्रधानमन्त्री रोजगार कोषले गोरखा नगरपालिकामा सो कामका लागि ४९ लाख रुपैयाँ पठाएको छ। उनीहरुले काम गरेको रेखदेख गर्न टोली नेतासमेत खटाइएको छ। यो अवधारणा राम्रो भए पनि काम प्रभावकारी नभएको भन्दै चौतर्फी आलोचना भइरहेको छ।