गोरख पाण्डेयका दुई कविता

गोरख पाण्डेयका दुई कविता

भारतीय कवि गोरख पाण्डेय (सन् १९४५-१९८९) का कविता सरल भाषामा अत्यन्त गम्भीर कुरा भन्छन्। उनी जिन्दगीभर किसान र मजदुर आन्दोलनसँग जोडिए। सदा सत्ताको बर्खिलाप रहे। खासमा उनी आन्दोलनले बनाएका कवि थिए र उनीभित्रको आन्दोलित मान्छे कवितामा पोखिन्थ्यो, जो गरिखाने मान्छेहरूको पक्षमा हुन्थ्यो र उनीहरूकै जस्तो सरल र कुनै पनि क्लिष्टताले ठाउँ नपाउने भाषामा बोल्थ्यो। हिन्दी र भोजपुरी भाषामा लेख्ने उनको सिर्जनकर्मको एउटै सपना, एउटै ध्येय थियो- शोषणमुक्त सुन्दर संसार।

सायद सबैभन्दा धेरै ‘कोटेड’ उनको कविताको हरफ हो, ‘हजार वर्ष पुरानो छ उनीहरूको क्रोध’। शोषित, उत्पीडितको यही क्रोधलाई अभिव्यक्ति दिनमै उनले सारा जीवन खर्चिए। गोरख भन्ने गर्थे, ‘कविता र प्रेम- यी दुई चिजमा मलाई मान्छे हुनुको बोध हुन्छ। प्रेम म समाजबाट पाउँछु र म समाजलाई कविता दिन्छु।’

उनका ‘जागते रहो सोने वालों’, ‘स्वर्ग से बिदाइ’, ‘समयका पहिया’, ‘लोहा गरम हो गया है’ कविताकृतिका साथै ‘धर्म की माक्र्सवादी व्याख्या’ नामक वैचारिक गद्य प्रकाशित छन्।

कला कलाका लागि

कला

कलाका लागि होस्

जीवनलाई

सुन्दर बनाउनका लागि नहोस्

रोटी रोटीका लागि होस्

खानका लागि नहोस्

मजदुर मेहनत गर्नका लागि होस्

केवल मेहनत

पुँजीपति होस्

मजदुर सिर्जित पुँजीको

मालिक बन्नका लागि

अर्थात्, जो जे छ, रहोस् त्यस्तै

कुनै परिवर्तन नहोस्

मालिक होस्

दास होस्

दास बनाउनका लागि युद्ध होस्

युद्धका लागि फौज होस्

र, फौजका लागि युद्ध होस्

हाललाई कला शुद्ध रहिरहोस्

र, शुद्ध कलाको

पवित्र प्रभामण्डलमा

जल्लादहरू भइराखून्

मान्छेलाई

फाँसी चढाउनका लागि।

सात सुरमा बोलाउँछ प्रेम

आमा, म जोगीसँग जान्छु

शिरीषको रूखमुनि

भेटिएको थियो ऊ

उसको हातमा थियो फगत बाँसुरी एउटा

आँखामा थियो आकाशको सपना

पाउमा धुलो र घाउ

गाउँ-गाउँ

जंगल-जंगल

भौंतारिन्छ जोगी

मानौं, खोजिहिँड्छ गुमाएको प्रेम

बिर्सिएका याद र नामहरू

बाँसुरीको धुनमा समेट्दै

देख्नेबित्तिकै मैले मन पराएँ उसलाई

आमा, म जोगीसँग जान्छु

छैन उसको ठाउँ-ठेगाना

न छ जातपात

गाउँ र जंगलमा

वेदनाको राग गुञ्जाउँदै भौंतारिन्छ जोगी

के बह होला उसलाई, आमा

यो धर्तीमा उसले

कहिल्यै पाएन कि प्रेम ?

आमा, म जोगीसँग जान्छु

बिहेको दिन

मलाई लिन

आउनेछन् जन्ती

डोली, कलश, बाजागाजा लिएर

सुन्दर परिधानमा रवाफसाथ घोडामा सवार भएर

आउलान् दुलहा

मलाई नदेखेर उनीहरू रिसाए भने

संकोच नमान्नू, आमा

तिमीले धेरै सहेकी छौ

तिमीलाई थाहा छ-

स्त्रीको कलेजो कसरी पत्थर बन्छ

कसरी स्त्री

महलको खोपीमा सजाउनलायक

पत्थर बन्छे

म त हुँ हाडमासुकी स्त्री

हुन सक्दिनँ पत्थर

न हुन सक्छु बिक्रीको माल

तिमी सजाइदिनू डोली

राखिदिनू त्यसमा काठको पुतली

त्यसलाई घुम्टो पनि ओढाइदिनू

र, भनिदिनू उनीहरूलाई-

यही हो तिमीहरूकी दुलही !

म त जोगीसँग जान्छु, आमा

सुन, ऊ बाँसुरी बजाइरहेको छ

सात सुरमा मलाई बोलाइरहेको छ प्रेम

म कसरी उसलाई

नाइँ भन्न सक्छु ?       

उल्था ः विनोदविक्रम केसी @binodbikramkc


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.