जीप दुर्घटना हुँदा पाँच घाइते, तीनको अवस्था गम्भीर
रुकुम पूर्व : सिस्ने गाउँपालिका–६ को पाखागाउँमा जीप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् भने तीनको अवस्था गम्भीर रहेको छ । गएराति १२ बजे रुकुमकोटबाट मुसीकोटतर्फ जाँदै गरेको लु १ ज ४११५ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) का प्रहरी निरीक्षक वीरबहादुर सुनारले जानकारी दिए।
उनका अनुसार दुर्घटनामा पुथा उत्तरगङ्गा गाउँपालिका–५ हुकामका १८ वर्षीया कोपिला बुढा, १७ महिनाकी सुहाना मगर, आठबिसकोट नगरपालिका १० रुकुम (पश्चिम) का २३ वर्षीय सुरेन्द्र वलीको अवस्था गम्भीर छ।
दुर्घटनामा पुथा उत्तरगङ्गा गाउँपालिका १० की २६ वर्षीया ललिता बुढामगर र २० वर्षीया सुस्मिता बुढामगर पनि घाइते भएका छन् । गम्भीर घाइते भएकी सुहाना ललिताकी छोरी हुन् । घाइतेको अहिले जिल्ला अस्पताल सल्ले रुकुम (पश्चिम) मा उपचार भइरहेको छ।
जीप सडकबाट १५ मिटर तल खसेको प्रहरीले जनाएको छ । गाडी चालक आठबिसकोट नगरपालिका–११ रुकुम (पश्चिम) का २२ वर्षीय राजेन्द्र विक प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक सुनारले बताए ।
प्रतिक्रिया दिनुहोस !