अवैज्ञानिक सडकले विपत्ति

अवैज्ञानिक सडकले विपत्ति

पाँचथर : असार ११ गतेको पहिरोले पाँचथरको याङवरक २ फलैँचामा एक घर भत्कायो। पहिरोका कारण करिब दर्जन घरका परिवार विस्थापित भए। गाउँसम्म सडक विस्तार गरेपछि सामान्य वर्षा हुँदा पनि पहिरो गएको स्थानीय बताउँछन्। ‘सडक आसपासबाटै पहिरो सुरु भएको छ,’ स्थानीय कृष्ण प्याकुरेल भन्छन् ‘सडक खनेको ठाउँमा जताततै पहिरो गएको छ।’

मिक्लाजुङ गाउँपालिका–५ कुरुम्बामा शुक्रबार पहिरोले टीकाराम लावतीको घर भत्कायो। घर मुन्तिरबाट खनिएको सडकबाट सुरु भएको पहिरोले लावतीको घर भत्काएको वडाध्यक्ष अविसन लावतीले जानकारी दिए। मिक्लाजुङका विभिन्न स्थानमा सडक आसपासबाटै पहिरो जान सुरु भएको उनको भनाइ छ।

तीन वर्षअघि घरदेखि दुई कान्ला मुन्तिरबाट विस्तार गरिएको सडकमा हर्न बजाउँदै गाडी गुड्दा फालेलुङ–३ ताङ्लेपाको स्कुल टोलका ६२ वर्षीय विष्णुभक्त लावती खुसीले गद्गद् थिए। तर, उनको त्यो खुसी वर्ष दिन नपुग्दै विपत्तिमा परिणत भयो। ०७४ साउन २६ गते रातिदेखि चार दिनसम्म निरन्तर परेको वर्षातपछि घरछेउकै सडकबाट सुरु भएको पहिरोले उनको घर भत्काइदियो। २७ साउनको बिहान घर मुन्तिरबाट विस्तार गरिएको सडक भित्तादेखि पहिरो जान थाल्यो। जसोतसो भागेर ज्यान बचाएका उनी र उनको परिवारले हेर्दाहेर्दै घर र बारी पहिरोमा परिणत भयो। उनको घरसहित अन्नबाली लगाएको २० रोपनी जमिन पहिरोले लग्यो।

०७४ साउन २७ गते बिहानको पहिरोले फालेलुङ–१ चुक्पादिनका ८३ वर्षीय तिलोचन विकको ज्यान लियो। विकसहित यहाँका चार घरलाई सडकमाथिबाट आएको पहिरोले पुर्‍यो। स्थानीय भन्छन्, ‘पाखो परेको भिरालो जमिनमा डोजर (स्काभेटर) लगाएर जथाभावी सडक खनेकै कारण सडक आसपासबाट अहिले पनि दर्जनौं स्थानमा पहिरो गएको छ।’

गाउँसम्म गाडी गुड्ने भएपछि स्थानीय सरकारले विकासको नाममा सडकलाई प्राथमिकता दिँदा यस्तो अवस्था आएको स्थानीय बुद्धिजीवी बताउँछन्। विकासको नाममा विकट गाउँमा पनि डोजर चलाइएको छ। सडक विस्तार गर्ने नाममा जताततै डोजर चलाएर पहाडका भिराला पाखा चिरा–चिरा बनाएको छ। केही महिनामै गाउँमा सडक विस्तार भएपछि स्थानीय आफूलाई पायक पर्ने गरी व्यक्तिगत लगानीमा पनि सडक विस्तार गरिरहेका छन्। आफ्नो घरसम्म सडक लैजान गाउँमा हुनेखानेहरूको होडबाजी नै चल्ने गरेको छ। जसले गर्दा भिराला पाखामा पहिरोको जोखिम बढेर गएको छ।

पहाडी क्षेत्रको तीव्र रूपमा विकास गर्ने नाममा डोजर प्रयोग गरी अन्धाधुन्ध सडक विस्तार गरिँदै छ। अवैज्ञानिक रूपमा ग्रामीण सडक तीव्र विस्तार गरिएकै कारण भूकम्पले हल्लाएको भिरालो र पाखो जमिनमा पहिरो गएको हो। ठुल्ठूला मेसिन प्रयोग गरेर विस्तार गरिएको सडकलाई नै आधार बनाएर पाँचथरका विभिन्न क्षेत्रमा पहिरो गएको छ। सडकको छेउ या भित्ताबाट गएको पहिरोले नै गाउँमा विपत्ति निम्त्याएको फालेलुङ–७ का वडाध्यक्ष शेरबहादुर केरुङ बताउँछन्। उनी भन्छन्, ‘सडक खनिएको ठाउँमा पहिरो गएको छ। विकास गर्ने नाममा डोजर प्रयोग गरी पहाडलाई चिरा–चिरा पारियो। विकासको नाममा जथाभावी खनिएको सडकले विनाश निम्त्यायो।’

जिल्लाका अधिकांश बस्तीमा नयाँ सडक विस्तार गरिएको छ। यसरी विस्तार गरिएका सडकमा नालीको व्यवस्था छैन। सडकबाट डोलिएर ठूलो आकार लिएको भेलले उचित निकास नपाउँदा बस्तीमा पहिरो गएको हो। ‘डोजरले जथाभावी जमिन हल्लाएको छ,’ फालेलुङ–५ का वडाध्यक्ष भन्छन्, ‘वर्षातका कारण सडकमा डोलिएको पानी व्यवस्थापन गर्न नसक्दा थिलथिलो भएको जमिनमा पहिरो जान थालेको हो।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.