बजेट सक्न ओखलढुंगामा अनावश्यक ठाउँमा पर्खाल
ओखलढुंगा : सहरी विकास तथा भवन कार्यालयले आर्थिक वर्षको अन्त्यमा बजेट सक्न अनावश्यक ठाउँमा पर्खाल निर्माण गरेको छ। सिद्धिचरण राजमार्गको ड्रेन समेत भत्काएर भित्तामा पर्खाल निर्माण गरेको हो।
सिद्धिचरण नगरपालिका ११ को जालपा मन्दिर, मालपोत परिसरमा अघिल्लो वर्ष लगाएको ग्याविङ समेत भत्काएर मेसिनरी पर्खाल लगाइएको छ। पहिरो जाने र भत्किएको ठाउँमा लगाइने मेसिनरी पर्खाल अनावश्यक ठाउँमा व्यक्तिको जग्गा समेत मिचेर निर्माण गरिएको भन्दै स्थानीयले उजुरी गरेका छन्।
पर्खाल निर्माण गर्न राजमार्गको पानी बग्ने ड्रेन भत्काएर मिचिएको छ भने मन्दिर वरपरको सडकको भित्ता खनेर पर्खाल लगाइएको छ। उक्त पर्खाल लगाइएको ५० मिटर वरपर पहिरोले सडक नै भत्काएको छ। तर भत्किएको ठाउँ छाडेर उक्त सुरक्षित स्थानमा भइराखेका पर्खाल समेत मासिएको छ।
वडा कार्यालय, उपभोक्ता र भवन कार्यालयको मिलेमतोमा उक्त काम भएको भन्दै स्थानीयले जिल्ला प्रशासन कार्यालयको समेत ध्यानाकर्षण गराएका छन्। प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले पहिरो गएका स्थान छाडेर अनावश्यक ठाउँमा पर्खाल लगाएको पाइएको बताए। स्रोत दुरुपयोग गर्ने नियत देखिएको आचार्यको भनाइ छ। उनले यसबारे लिखित उजुरी आए छानविन हुने बताए।
स्थानीय श्याम श्रेष्ठ लगायतले आफ्नो घडेरीमा अनुमतिबिनै उपभोक्ता समूह र कार्यालयले पर्खाल लगाएको भन्दै रोक्न प्रशासन कार्यालयमा उजुरी गरेका छन्। उजुरीपछि अहिले काम रोकिएको सहरी विकास तथा भवन कार्यालय (संघ) का इञ्जिनियर भूपाल मगरले बताए।
उनले उजुरी परेकाले यो वर्षको काम स्थगित भएको र काम अनुसारको भुक्तानी हुने जानकारी दिए। यो योजना असार १५ पछि सुरु गरिएको थियो। उपभोक्ता समितिमार्फत गरिएको ५० लाखको उक्त योजनामा अनियमितता भएको स्थानीयबासीको आरोप छ।
प्रतिक्रिया दिनुहोस !