सप्तरीमा ३५ सय घर डुबानमा, कम हुँदै पानीको बहाव

सप्तरीमा ३५ सय घर डुबानमा, कम हुँदै पानीको बहाव

राजविराज : चार दिनदेखिको अविरल वर्षाका कारण विभिन्न खोलामा आएको बाढीले ठाउँ–ठाउँमा बाँध भत्काउँदा सप्तरीको साढे तीन हजार घर डुबानमा परेका छन्।

सप्तकोशी, त्रियुगा, खाँडो, महुली, जिता, बलान, भलुवाही, सुन्दरी, खडक, चापिनलगायतका नदी र खोलामा आएको बाढीले तीन हजार ५०० घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

३०० भन्दा बढी घर परिवार विस्थापित हुँदा १२ हजार मानिस प्रभावित भएको एसपी मनोजकुमार यादवले बताए। जिल्ला प्रहरी कार्यालयका अनुसार ५० घरमा पूर्ण रुपले क्षति भएको छ भने डुबानका कारण ३०० घरका मानिस विस्थापित भएका छन्।

बाढीको पानीले घेरिएका ८०० जनालाई प्रहरीले रबर बोट, डोरी, लाइफ ज्याकेट प्रयोग गरी उद्धार गरेको छ। विस्थापित परिवार नजिकैको उच्चस्थलमा रहेको विद्यालय र बाँधमा पाल टाँगेर आश्रय लिएर बसेका छन्।

पानीले घेरिएको तिलाठी कोइलाडी गाउँपालिका ५ टिकुलियामा बाढीको तीब्र बेगका कारण डोरीको सहाराले आवतजावत गर्दै स्थानीय। 


सप्तरीका ९ नगरपालिका र ९ गाउँपालिका कुनै न कुनै रुपमा बाढीले प्रभावित रहेको जनाउँदै एसपी यादवले हनुमाननगर कंकालिनी र सप्तकोशी नगरपालिका तथा तिलाठी कोइलाडी र तिरहुत गाउँपालिका अति प्रभावित बनेको बताए। राजविराज र बोदे बर्साइन नगरपालिका, महदेवा र खडक गाउँपालिकाका केही वडा बढी प्रभावित भएका छन्।

हनुमाननगरदेखि डलवासम्म मात्र ११० घरपरिवार विस्थापित भएको सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट बर्साइनका इन्स्पेक्टर बिनुप श्रेष्ठले जानकारी दिए। विस्थापित परिवारका अधिकांश बुहारी माइत गएका छन्। अन्य मानिस उच्च बाँधमा आएर बसेको तिलाठी कोइलाडी ५ का लखन रायले बताए।

आइतबार बिहानदेखि वर्षा केहीबेर रोकिँदै पुनः सुरु हुने गरेकाले विस्थापितको संख्या बढ्न सक्ने प्रहरीको अनुमान छ। बाढीबाट हुने क्षति न्यूनीकरण तथा राहतका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रभावित क्षेत्रमा परिचालित रहेको तथा अहिलेसम्म कुनै मानविय क्षति नभएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए।

बाढीले त्रियुगा, खाँडो, महुली खोला लगायतले भत्काएको बाँध सेना, प्रहरी र स्थानीय मर्मतसम्भारमा जुटेका छन्। खाँडो नदीमा बाढीको भेल अत्यधिक रहेकाले तिलाठीमा भने बाँध मर्मत कार्य सम्भव हुन नसकेको तिलाठी कोइलाडी गाउँपालिका १ नम्बर वडा अध्यक्ष दिनेश्वर मिश्रले बताए।

यता सप्तकोशी नदीमा आइतबार साँझ पानीको बहाव घटेर दुई लाख १७ हजार दुई सय ८४ क्विसेक प्रतिसेकेन्ड रेकर्ड गरिएको कोसी ब्यारेज कन्ट्रोल रुमले जानकारी दिएको छ। सप्तकोशी नदीमा पानीको बहाव उच्च भई ओभरफ्लो हुन थालेपछि राति सबा १२ बजेदेखि तीन घण्टासम्म कोसी ब्यारेजका ५६ वटै ढोका खोलिए पछि पानीको बहाव कम भएको स्थानीय आकाशराज भण्डारीले बताए।

पानीको वहाब कम भएपछि अहिले २७ वटा ढोका मात्र खोलिएको कन्ट्रोल रुमले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.