बाढीले आजित, सर्पदंशले त्रसित

बाढीले आजित, सर्पदंशले त्रसित

राजविराज : सप्तरीमा बढ्दो गर्मी, वर्षा र बाढीका कारण सर्पदंशका घटना बढ्दै गएको छ। बाढी प्रभावित क्षेत्रमा सर्पदंशका घटना बढेपछि उपचारका लागि अस्पताल आउने बिरामीको चाप थेगिनसक्नु भएको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजले जनाएको छ। सोमबार मात्रै अस्पतालमा पाँच जना सर्पदंशका बिरामी उपचारका लागि आएको अहेव सन्तोष दासले बताए।

सर्पले डसेर सर्पदंशका चार र बिच्छीले डसेर एक जना घाइते भई अस्पताल भर्ना भएका छन्। बाढीसँगै बगेर आउने सर्पले डसेर तिलाठी कोइलाडी गाउँपालिका–१ का ५० वर्षीय रामकिसुन सदा, मन्सापुरकी ४६ वर्षीया सीमादेवी मण्डल, महादेवा गाउँपालिका १ बल्थीकी २२ वर्षीया मजिदन खातुन, राजविराज १२ सिग्यौनका ३६ वर्षीय रामकुमार यादव र बिच्छीले डसेर रुपनी २ हरिरावाकी ५० वर्षीया चन्द्रकला चौधरी अस्पताल भर्ना भएका छन्।

सर्पदंशको उपचार हुने सर्पदंश उपचार केन्द्र कल्याणपुर, सशस्त्र प्रहरी दन्तकाली गण बरमझियाका साथै धरान, विराटनगरमा समेत सर्पदंशका बिरामी लैजाने गरिएकाले संख्या दुई गुणा बढी हुन सक्ने अहेव दासको अनुमान छ।

बाढीपछि सर्पले मानिसलाई डसेर उपचारका लागि अस्पताल आउने बिरामीको संख्या एक्कासि बढेको अस्पतालले जनाएको छ। अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दासका अनुसार पाँच दिनयता वर्षासँगै आएको बाढीले सर्प जमिनको दुलोभित्रबाट बाहिर निस्कँदा सर्पदंशका घटना ह्वात्तै बढेको छ। अस्पतालको तथ्यांकले पाँच दिनयता सर्पदंशका २८ जना बिरामी उपचारका लागि आएका छन्। वर्षा र बाढीअघि मुस्किलले साताको एउटा घटना आउने गरेकामा पाँच दिनयता दिनकै सात जनासम्म बिरामी आउने गरेको अहेव सन्तोष मेहताले बताए।

बाढी क्षेत्रमा एक्कासि सर्पको बिगबिगी बढेपछि बाढीले आजित बाढीपीडित थप त्रसित बनेका छन्। घरमा पानी पसेर बस्न–सुत्न र खाना खान समस्या भइरहेका बेला उनीहरू सर्पदंशको सिकार भइरहेकाले झन् समस्या भएको बाढी पीडितले जनाएका छन्।

बाढीको समस्या झेलिरहेका बाढीपीडित सर्पदंशको बढ्दो घटनाले थप त्रसित भएको तिलाठी कोइलाडी ५ का जुगत मुखियाले बताए। तर, हालसम्म सर्पदंशबाट कसैले ज्यान गुमाउनु नपरेको अहेव दास बताउँछन्।

यसैबीच, सर्पदंशका घटना बढेपछि अस्पतालले एन्टी स्नेक भेनम नामक औषधि पर्याप्त मात्रामा रहेको जनाएको छ।

 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.