सिंहदरबारमा छोडेको बाँदर
विपिन आफ्नो परिचय दिँदै भन्छन्, ‘हजुर म फणीन्द्र, म बाबुराम विश्वकर्मा, म बिन्दु माझी।’ एउटा कलाकार एक छाडी अर्को चरित्रको नामले अमर हुनुजति ठूलो सफलता अरू के होला र ?
विपिन कार्कीले जीवनमा पहिलो पटक गरेको अभिनय धामीको थियो। तर, यो यस्तो अभिनय थियो जुन न स्टेजमा मञ्चन भयो न त सिनेमाको पर्दामा। यसमा विपिन आफैं कलाकार थिए अनि दर्शक पनि आफैं।
एसएलसीपछि धनकुटामा सीएमए गरेर विपिन अन दी जब ट्रेनिङका लागि बाहुनीको हेल्थपोस्टमा थिए। तर, फूर्तिफार्ती कुनै डाक्टरको भन्दा कम थिएन। अझ उनले छोएका बिरामी फ्याटफ्याट निको हुन थालेपछि त उनको ख्याति सर्वत्र फिँजिएको थियो। तर, एक दिन उनलाई के सनक चढ्यो कुन्नि उनले जिन्दगीमा नगरेको काम गर्ने निर्णय गरे।
मोरङ जिल्लाको विकट गाउँ। आजभन्दा १५/२० वर्ष पहिले। मानिसहरू उति बेला डाक्टरलाई भन्दा धामी–झाँक्रीलाई विश्वास गर्थे। अझ पशुका त डाक्टर हुन्छन् भन्ने पनि कसैलाई ज्ञान थिएन। विपिन बाटोमा टहलिइरहेका थिए। छिमेककी काकी आत्तिँदै लामालामा पाइला चालिरहेकी थिइन्। विपिनले शिष्टतावश सोधे, ‘कता काकी ? ’ काकीले चिन्तित स्वरमा जवाफ दिइन्, ‘धामीकहाँ जान लागेको। भैंसीले थुन छुनै दिएन। फुकफाक गर्दिन्छन् कि बोलाउन जान लागेकी।’
विपिनले काकीलाई रोक्दै आफैं त्यो काम गरिदिने आश्वासन दिए। काकीले पत्याइनन्, उनले विश्वास दिलाए। तर, यति गरुन्जेलसम्म पनि उनका लागि यो लहडभन्दा बढी केही थिएन। उनलाई न धामीले फुकेर भैंसी निको हुन्छ भन्ने थियो न आफूले। तर, काकीलाई रोकेपछि त्यो काम गर्नु नै थियो। उनी काकीको घर गए। अनुभवी धामीले झैं उनले काँसको थालमा चामल मगाए, तुलसाको मठबाट दूबो मगाए र नबुझिने गरी बर्बराउँदै चामलका दानामा फुकेको अभिनय गरे। यसरी फुकेका चामल उसैगरी बर्बराउँदै भैंसीको आङमा मिल्काए। धुपधुवार गर्न लगाउँदै उनले काकीलाई सम्झाए, ‘आज पाडालाई खान दिनु। भोलि बिहान भैंसी ठीक हुन्छ।’ काकीले अनुगृहित हुँदै विपिनलाई बिदा गरिन्।
भोलिपल्ट बिहानै काकीको स्वरले विपिनको निद्रा खुल्यो। काकी विपिनलाई धन्यवाद भन्न आएकी थिइन्। काकीको भैंसी विपिनले भनेझैं भोलिपल्ट बिहान सारसौंदो भएको थियो। यसपछि विपिन केही समय गाउँमा डाक्टरसँगै अड्कोपड्को धामी पनि बने। तर, सीएमए पढेको मान्छे धामी बनेको दिन नै हो विपिनले आफूमा अभिनयको खजाना भएको थाहा पाएको। जब आज उनलाई कसैले अभिनयको जरा कहाँ गाडिएको थियो भनेर सोध्छन्, उनको सम्झना त्यही गएर रोकिन्छ, जहाँ उनले आफूले गाउँठाउँमा देखेको एउटा धामीको अभिनय हुबहु गरेका थिए। तर, यो देख्ने सिर्फ उनी एक्लै थिए। विपिन दर्शक पनि आफैं कलाकार पनि आफैं।
०००
विपिन नेपाली फिल्म उद्योगले पछिल्लो समय पाएका सबैभन्दा प्रतिभाशाली कलाकारमध्ये एक हुन्। गत हप्ता राष्ट्रपति निवासमा बाँडिएको तीन सालको राष्ट्रिय पुरस्कारमा दुई सालको अवार्ड उनको पोल्टामा पर्नु उनको विशद् प्रतिभाको ट्रेलर मात्र हो। पूरा पिक्चर उनको फिल्मोग्राफीले देखाउँछ। छड्केको बिन्दु माझी होस् वा पशुपतिप्रसादको भष्मे डन वा जात्राको फणि, कुनै यस्तो चरित्र छैन जहाँ दर्शकले उनलाई मन नपराएका हुन्।
अरू त अरू लुरे ज्यानका विपिन नाकामा गोल्डी डन बनेको पनि कसैलाई बिझाउँदैन। विपिनभन्दा अघि भर गरेका कलाकारलाई रिपिटेसनको आरोप लागिरहँदा विपिन भने हरेक फिल्ममा नयाँ नयाँ चरित्रलाई अमर बनाइरहेका छन्। आखिर कसरी विपिनले आफ्नो भूमिका यति मज्जाले न्याय गर्छन् ? शान्त स्वभावका विपिन यसको जस आफ्ना अनुभवलाई दिन्छन्।
‘आरोहण गुरुकुलमा बसेर जे सिकेँ त्यही नै हो। त्योबाहेक अनुभव नै हो जसले मलाई आफ्नो भूमिका सेपअप गर्न मद्दत गर्छन्’, फारु बोल्ने विपिनको बुझाइ छ।
नेपालको व्यावसायिक सिनेमा अहिले दुई कलाकारको पछि छ— अनमोल केसी अनि विपिन कार्की। एक थरी फिल्मकर्मी छन् जो अनमोल केसीलाई लिएर मालामाल हुने फिल्म बनाउन चाहन्छन् अनि अर्कोथरी फिल्मकर्मी छन् जो विपिनलाई लिएर पैसा र इज्जत दुवै कमाउने फिल्म बनाउन चाहन्छन्। अझ ‘जात्रै जात्रा’ले अपत्यारिलो व्यापार गरेपछि विपिन बक्स अफिसका लागि पनि भरपर्दो कलाकार बनेका छन्। तर, एक समय थियो विपिन एउटा फिल्म खेलेपछि ‘खेल्दिनँ’ भनेर फिल्मसँग कट्टी गरेर बसेका थिए। तर, फिल्म र उनका बीचमा चाँडै सुलह भयो।
०००
नेपालमा ९० प्रतिशत मानिसको सपना देख्ने ल्याकत हुन्न। कसैले कक्षा कोठामा टिचरले सोध्दा फलानो थोक बन्छु भन्छ भने त्यो सपनामा उसको भन्दा ज्यादा उसको परिवारको अंश ज्यादा हुन्छ। विपिन पनि यस्तै परिवारमा हुर्केका थिए। ठूलो हुन्जेलसम्म पनि परिवारको एउटै चिन्ता थियो गरिखाने बनोस्। त्यसैले मोरङको बाहुनीबाट एसएलसी पास गरेपछि परिवारको शुभचिन्तकको सल्लाहमा विपिनले धनकुटा बसेर सीएमए पढे। तर, बीचैमा उनलाई थाहा भयो, नेपालमा सीएमए गर्नु भनेको पीएचडी गर्नु बराबर रैछ। त्योभन्दा माथि पढाइ नै नहुने।
यति थाहा भएपछि विपिन मुस्किलले सीएमए सकाएर काठमाडौं हानिए। काठमाडौंमा उनका साक्खै दाजु अर्जुन कार्की हिरो बन्न संघर्ष गरिरहेका थिए। द्वन्द्व निर्देशक महर्जनको चेला अर्जुन फिल्ममा कहिले राजेश हमाल त कहिले कुन हिरोको कुटाइ खाइरहन्थे। दाजुकै कारण फिल्मी दुनियाँसँग परिचित थिए तर कुनै दिन यसैलाई गन्तव्य बनाऊँला भन्ने कल्पना गरेका थिएनन्।
‘दाइले खेलेको फिल्म भनेर फिल्म हेर्न गइन्थ्यो तर राम्रै लाग्दैनथ्यो। अझ अभिनय फिटिक्कै चित्त नबुझ्ने। यस बेलासम्म पनि मलाई अभिनय गर्ने रहर थिएन’, विपिनले विगत सम्झँदै भने। तर, यसैबीचमा विपिनको गुरुकुलमा हिमचिम बढ्यो। आरोहण गुरुकुलमा कमलमणि नेपाल, सौगात मल्ल, दयाहाङ राई, राजन खतिवडा, सरिता गिरी, अरुणा कार्कीसँगै पहिलो ब्याचका विद्यार्थी थिए र विपिनका गाउँले। इटहरीमा बसेर पढ्ने ठूलाघरेका छोरा कमलमणिको बाहुनीमै पनि ठूलो रवाफ थियो। उनैलाई भेट्न भनेर विपिन बेलाबेलामा गुरुकुल जान्थे र त्यहाँको माहोल देखेर लोभिन्थे।
कमलमणिले नयाँ नाटक मञ्चन हुने बेला विपिनलाई सम्झन्थे। विपिन सानपट्टीका लागि आफूसँगै दुईचारजना साथीलाई पनि लिएर जान्थे। यसरी जाँदाजाँदै उनलाई अनुभव भयो, फिल्म हेर्दा जे बिझाउँथ्यो नाटक हेर्दा त्यही कुरामा मज्जा आउँछ। नेपाली फिल्ममा नपाएको सन्तुष्टि उनले नाटक हेर्दा पाए। त्यसपछि त फुर्सद भयो कि विपिन गुरुकुलमा समय बिताउन थाले। नयाँ नाटक भएका बेला विपिन बाटोमा बसेर आगन्तुकलाई पार्किङ देखाउने, हल देखाउने, काउन्टर देखाउने आदि गर्न थाले। सुनिल पोखरेलले विपिन कार्कीलाई कमलमणिको गाउँले भाइ भनेर चिन्थे। मेहनत गरेको देखेपछि एक दिन सबैका अगाडि भनिदिए, ‘ल यो विपिनलाई नाटक हेर्न पैसा नलिनू।’ विपिन त्यो दिन कम्ता खुसी भएनन्। विपिन गाउँ छाडेर काठमाडौं आएपछि पहिलो पल्ट भित्रभित्रै यति धेरै खुसी भएका थिए।
०००
विपिन सीएमए छाडेर गाउँबाट काठमाडौं आएका थिए। आफैं कमाएर खानुपर्ने बाध्यता थियो। यही बाध्यताले उनलाई रेडियो अडियोमा मार्केटिङको जागिरे बनाएको थियो। तर, गुरुकुलमा नाटक हेर्न थालेपछि उनी भित्रको कलाकार जुर्मुराउन थालेको थियो। उनलाई रेडियोमा बज्ने विज्ञापनमा आफ्नो स्वर खाप्न मन लाग्थ्यो तर नपाउने। तर, एक दिन उनले जुक्ति निकाले। उनले रेडियो अडियोका मालिक दीपेन्द्र खनियाँलाई विज्ञापनदाताले विपिनले आफैंले बोले मात्र विज्ञापन दिने वाचा गरेको बताए। ‘बोल्दा यसरी बोल्नु भन्या’छ’, विपिनले विज्ञापनमा बोल्ने कुराको डेमो पनि दिन्थे। विपिनको कुरा पो काट्नु, विज्ञापनदाताको कुरा कसरी काट्नु ? साहुका लागि पनि धर्मसंकट थियो। यसपछि विपिनले जुन विज्ञापन खोजेर ल्याउँथे, त्यसमा आवाज पनि आफैं भर्थे। यसरी विज्ञापन खोजेबापत उनले पाउने रकम थियो, महिनाको आठ हजार रुपैयाँ। ‘यो कामले मलाई आवाजको भेराइटीका बारेमा जानकारी गरायो’, विपिनले सम्झिए, ‘पछि गुरुकुलमा बसेर मैले यसमा साँध लगाएँ।’ सायद यसैको असर हो, विपिनले निर्वाह गरेका चरित्रलाई आवाजले ठूलो भर गरेका छन्। चाहे त्यो भष्मे डन बन्दा होस् वा फणीन्द्र बन्दा।
विपिन नाटक र फिल्म दुवैमा अन्डरडग कलाकार हुन्। सुरुमा उनलाई न सुनिल पोखरेलले नाटकका लागि पत्याएका थिए न त कुनै निर्देशकले फिल्मका लागि। उनले नाटकमा कोरसबाट अभिनय सुरु गरेका थिए भने उनले गरेको पहिलो फिल्ममा उनलाई उनी आफूबाहेक अरू कसैले चिन्दैन। तर, नाटक र फिल्म दुवैमा जोड्ने सेतु थिए, सौगात मल्ल।
गुरुकुलले ५५ ठाउँ देखाउने सडक नाटकको काम पाएको थियो। नाटकमा सौगात मुख्य भूमिकामा थिए। सहायक भूमिकामा थिए, रामहरि ढकाल। तर, दुईतीन ठाउँ काम गरेपछि ढकालको स्वर बस्यो। कसैले सुनिल पोखरेललाई ‘विपिन छ नि’ भनेर सम्झायो। सुनिल पोखरेल, निशा शर्मा भएर अडिसन लिए। उनले आफ्नो भागको डाइलग बोले। निशा शर्माले भनिदिइन्, ‘थ्रो नै पुगेन।’ नाटक खेल्ने सपना ठाउँका ठाउँ तुहिन लागेको थियो तर दोस्रोपल्ट विपिनले सच्याए। यसपछि विपिनले पहिलो पल्ट नाटकमा काम पाए। ५५ ठाउँमा देखाएको नाटकबाट उनले प्रत्येक सोको एक सयका दरले ५५ सय रुपैयाँ पाए।
यो ‘थ्रो’को चक्करले विपिनलाई ‘लुट’बाट पनि झन्डै भगाएको थियो। यहाँ पनि उनले दोस्रो पटकमा आफूलाई सच्याए। गुरुकुलकै दावाली प्रवीण खतिवडाको आग्रहमा विपिन ‘लुट’ खेल्न गएका थिए। तर, पहिलो दिन नै फिल्मका छायाकार पुरुषोत्तम प्रधानले सातो खाए। ‘त्यहाँ पनि बोलेको संवादमा ‘थ्रो’ पुगेनछ। कहाँबाट लेराएको यस्तो कलाकार भनेर झनक्क रिसाए’, विपिनले हँस्यौली गर्दै सुनाए, ‘पहिलो फिल्मको पनि खास राम्रो अनुभव थिएन। दोस्रोमा पनि पहिलो दिन नै लफडा प¥यो। तर, नाटकवाला ‘थ्रो’को अनुभव यहाँ काम लाग्यो। दोस्रो टेकमा खोजेजस्तै बोलिदिएँ।’
दोस्रो फिल्मको अनुभव ठीकै भए पनि विपिनले गरेको पहिलो फिल्मको अनुभव सुखद थिएन। उनी जिन्दगीभर फिल्म नखेल्ने कसम खाएर बसेका थिए।
‘कागबेनी’बाट हिरो भएका सौगात ‘आचार्य’का कास्टिङ निर्देशक थिए। विपिनलाई पनि फिल्मको अनुभव लिन मन थियो। सौगातलाई भने ‘दाइ, मलाई पनि एउटा रोल है।’
सौगातले शंकर होटलमा भइरहेको अडिसनमा एक दिन बोलाए। प्रशान्त रसाइली, सत्यराज आचार्य, स्वरूपराज आचार्य आदि अडिसनमा थिए। कुनै सिचुएसन दिएका थिए। अनुभव खिपेर प्रस्तुत गरे। तर, धेरै दिनसम्म छानिएको नछानिएको खुट खबर आएन। बीचमा सौगातलाई सोध्दा उनले जवाफ दिएका थिए, ‘तिम्रो राम्रै मान्या छन्। खबर गर्छन् होला।’ तर, फिल्मको सुटिङ सकिन लाग्दासम्म पनि खबर आएन। उनले ‘आचार्य’ खेल्ने सपना लगभग माया मारिसकेका थिए तर एक दिन अचानक सौगातले बोलाए। दंग पर्दै गए तर रोल सुनेर खिस्रिक्क भए।
भट्टी पसलमा भक्तराज आचार्यलाई कुट्ने केही केटाका लागि सौगातले उनलाई सम्झिएका रहेछन्। उनलाई यो रोल ‘दिनभरको सिकार र कान्छा बाउको अनुहार’जस्तै भयो। यो रोल त गरे, तर यही फिल्मबाट फिल्मसँग उनको मन कुँडियो। काम गरेको पैसा पनि पाएनन्। मनमनै फिल्म नगर्ने अड्डी कसेर बसेका थिए। तर, पछि प्रवीणले ‘इमोसनल ब्ल्याकमेल’ गरेर ‘लुट’मा लिएर गए। यो फिल्मबाट सौगात, दयाहाङ राई, ऋचा शर्मा सबै रातारात स्टार भए। विपिनको फिल्ममा खास रोल पनि थिएन र रिलिजपछि केही हुँदा पनि भएन। तर, यही फिल्ममा उनले निगम श्रेष्ठलाई भेटे जो ‘छड्के’को बिन्दु माझीका मानसपिता थिए। ‘लुट’का मुख्य सहायक निर्देशक निगमले ‘छड्के’ निर्देशन गर्न लाग्दा सबैभन्दा पहिला साइन गरेका कलाकार नै विपिन थिए। बिन्दु माझी चम्किएपछि नै हो, विपिनको अभिनयले मूलबाटो समातेको।
अभिनय सिक्नका लागि विपिन सधैं चनाखो हुन्छन्। गुरुकुल हुँदा नै हो प्रकृति, जनावार, पशुपक्षी हरेकबाट केही सिक्न सकिन्छ भन्ने ज्ञान भएर आफू वरिपरिका हरेक कुरामा चनाखो हुने गरेको। यही चक्करमा विपिनले एक समय बाँदर पाले र यसले उनलाई हुनसम्मको पाठ सिकायो।
गुरुकुल विस्थापित भएपछि सौगात मल्ल त्यही ठाउँ छेउ फ्ल्याट लिएर बस्थे। ‘लुट’बाट स्टार बनेका सौगात मल्ललाई फिल्मको कमी थिएन। तर, गुरुकुलमा छँदा नै जनावरबाट अभिनयमा पनि धेरै गुण सिक्न सकिन्छ भन्ने भावनाले प्रेरित भएर पशुपतितिरबाट सौगातले बाँदरको सानो बच्चो ल्याएर पालेका थिए। विपिनहरू बेलाबेलामा बाँदर हेर्न भनेर नै जान्थे। धीत मरुन्जेल खेलेर फर्कन्थे।
विपिन भने यति बेला शंखमूलमा बस्थे। गुरुकुल उखेलिएपछि आफन्त हुने आफन्तकहाँ गए, कोठा लिन सक्नेले कोठा लिए, कोठा लिन नसक्ने विपिन गुरुकुलकै सामानको चाङमाथि एक्लै सुत्थे। एक दिन सौगातले विपिनलाई फोन गरेर आफू सुटिङका लागि दस दिन बाहिर जानुपर्ने भएकाले बाँदर हेरिदिन आग्रह गरे। विपिनले नाइँनास्ती गर्ने कुरै थिएन। दंग पर्दै बाँदर आफूसँग लिएर आए।
सुरुको एकदुई दिन ठिकै थियो, तेस्रो दिनदेखि बाँदरले आफ्नो ‘स्वभाव’ देखाउन थाल्यो। कहिलेकाहीँ खेल्नजस्तो कहाँ सजिलो हुन्थ्यो बाँदर ? एकदुई दिनमै बाँदरले विपिनलाई वाक्क बनायो। उनले मुस्किलले दस दिन कटाए। सौगात आएपछि खुरुक्क फर्काउने मनसुवा थियो। तर, दस दिन त के महिना दिन भइसक्दा पनि सौगात फर्किएनन्। उनले अरूबाटै सौगात काठमाडौं फर्किएको थाहा पाए। फोन गरे, तर सौगातले फेरि बाहिर जानुपर्ने बाध्यता सुनाए। यतिन्जेलसम्म विपिनले बुझिसकेका थिए, सौगात फेरि बाँदर फिर्ता लैजान चाहन्नन्।
केही समय बिताएपछि जसको पनि माया लाग्छ। विपिनलाई बाँदरको पनि माया लाग्थ्यो। तर, यसको बेहोरा माया गरिरहने खालको पनि थिएन। जहाँ जे भेट्यो त्यही खरानी पाथ्र्यो। गुरुकुलका सिट च्यातेर केही बाँकी राखेन। अझ केही दिनपछि त महिला देख्यो कि बेपत्तासँग जिस्किने। अलिकति दायाँबायाँ ग¥यो कि उम्केर छिमेकीका घरमा उधुम गर्ने। विपिनलाई बाँदरले हैरान बनायो। एक मन त उनले पशुपतिमा लगेर छाडिदिने विचार गरेका थिए। तर, उनले सुनेका थिए, बथान छाडेको गएको बाँदर पछि फर्केर गयो भने उनीहरूले नै कुटी कुटी मार्छन्। विपिन यो पनि चाहन्नथे। तर, राख्न सक्ने अवस्था पनि थिएन।
एक दिन उनलाई के सुझ्यो कुन्नि, पशुपति हैन सिंहदरबारमा बाँदर छोड्न निर्णय गरे। अघिल्लो दिन गएर रेकी गरे, अनि भोलिपल्ट साथीको गाडी मगाएर बाँदरलाई लिएर गए। तर, छाड्नुअघि उनले आफूले हातमा लगाएको माला उसको घाँटीमा लगाइदिए। योजना अनुरूप नै हनुमानथान छेउबाट अनुसन्धान विभागको भवन भएको साइडमा उनले बाँदर छाडिदिए। केही बेर गाडीमै बसेर हेरे। फर्केर आउला कि भन्ने डर पनि थियो तर विपिनको हातबाट फुत्किएको बाँदरले एक पटक पनि पछाडि फर्केर हेरेन। पर्खालबाट तल झरेर अलप भयो।
यो घटना भएको धेरै वर्ष भइसक्यो। विपिन बारम्बार यो बाटो हिँडिरहन्छन् तर जहिले यो बाटो हिँड्छन्, बाँदर छाडेको ठाउँमा केही बेर टक्क रोकिन्छन्। एकैछिन भेटेको मान्छेको त कहिलेकाहीँ बेपत्तासँग माया लाग्छ, योसँग त झन् विपिनले झन्डै छ महिना बिताएका थिए। उनी आफ्नो माला लगाएको बाँदरको मायामा–खोजीमा छन्, भेट्नुहुने महानुभावले तु सम्पर्क गरिदिनुहोला !
स्टार हुनुको दुःख हो फिल्म मात्र हैन, जीवनशैली पनि झकिझकाउ बनाउनु। विपिनलाई यसको पीर छैन। मन लागेको ठाउँ जान्छन्, मन लागेको खानेकुरा खान्छन्। उनलाई चिन्दा पनि समस्या छैन अनि नचिन्दा पनि। यति हुँदाहुँदै पनि उनको रूपान्तरणको विशेषता के हो भने कति मानिस उनलाई कतै देखेजस्तो गर्छन् तर ठ्याक्कै सम्झन सक्दैनन्। यस्तो बेलामा विपिन आफ्नो परिचय दिँदै भन्छन्, ‘हजुर म फणीन्द्र, म बाबुराम विश्वकर्मा, म बिन्दु माझी।’
एउटा कलाकार एक छाडी अर्को चरित्रको नामले अमर हुनुजति ठूलो सफलता अरू के होला र ?