२० वर्षपछि सोमबार नागपञ्चमी : के के हुन्छ लाभ?
काठमाडौं : चट्याङ, अग्नि र सर्पको भयबाट मुक्ति दिलाउने पर्व नागपञ्चमी यसपटक २० वर्षपछि सोमबार परेको छ। संस्कृतिविद् श्रीकृष्ण अधिकारीले दुई दसकपछिको सोमबारका दिन नागपञ्चमी परेको जानकारी दिए।
संस्कृतिविद् अधिकारीले भने, 'प्रत्येक १९/१९ वर्षको चक्र हुन्छ। मध्यमान अनुसार यस वर्ष २० वर्षमा सोमबार नागपञ्चमी परेको हो।'
नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष रामचन्द्र गौतमले सोमबार नागपञ्चमी पर्नुको महत्व विशेष हुने बताए। उनले भने, 'सोमबार नागपञ्चमी पर्नु संयोगमात्र होइन, अत्यन्तै राम्रो कुरो हो। नागको पूजा गरी नागको चित्र वा फोटो घरमा टाँसे चट्याङ, अग्नि, बिजुली, बिच्छी, खजुरा र सर्प आदिको भय हुँदैन।'
जसले नागपञ्चमीमा नागको तस्बिर घरमा टाँस्दैनन् त्यस्ता मान्छेकै घरमा चट्याङ परेको पाइएको र यसमा वैज्ञानिकता पनि रहेको उनको भनाइ छ।
गौतमले शिवजीको प्रिय गहना नाग भएको बताउँदै भने, 'नाग सम्पूर्ण जीवजन्तुको रक्षाका लागि सिर्जना गरिएको हो। यसले दुषित वातावरणलाई शुद्ध पार्ने काम गर्छ।' संस्कृतिविद् डा. गोविन्द टण्डनले आक्कल झुक्कल सोमबारका दिन नागपञ्चमी पर्ने र नागपञ्चमी र सोमबार एकै दिन परे त्यसको अझ बढी महत्व हुने बताए।उनले भने, 'कृषिप्रधान देश नेपालमा नागपञ्चमीको झनै बढी महत्व छ।नागले जीवन र जगतप्रति नै गुन लगाएकाले नागप्रति आजको दिन विशेष श्रद्धाभाव बढाउनु राम्रो हुन्छ।'
नागपञ्चमीका दिनदेखि बर्खा सकिएर हिउँद सुरु भएको मान्यता रहेको उनको भनाइ छ।