फुट्यो ताल, टुट्यो सपना

फुट्यो ताल, टुट्यो सपना

बागलुङ : चट्टानसहितको पहिरोले गत वर्ष बडिगाड खोला थुनिर ताल बन्यो। ढोरपाटन-२ का गंगाबहादुर थापाको २५ मुरी धान फल्ने खेत डुब्यो। ताल फुटाएर निकास दिन अढाई महिनाजति उनले प्रयास गरे। केही उपाय लागेन। बरु बडीगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाका जनप्रतिनिधि ताललाई पर्यटकीय गन्तव्य बनाउन लागे। हिउँद लाग्दा तालमा डुंगा चल्न थाल्यो। थापासहित २७ कुमाल परिवारले डुंगा चलाएर आयआर्जन गरे। आन्तरिक पर्यटकको आवागमन बाक्लिँदै थियो। अन्य किराना, चनाचटपटको व्यापार बढ्दो थियो। तर, पर्यटक भित्र्याएर आम्दानी गर्ने स्थानीयको सपना ताल फुटेपछि चकनाचुर भएको छ।

स्थानीयवासी सुरुमा ताल सुकाउन लागेका थिए। जनप्रतिनिधि र अरूको कुरा सुनेपछि उनीहरूको सोच परिवर्तन भएको थियो। ‘तत्काल फुटाउने सम्भावना नदेखिएपछि यसलाई आम्दानीको स्रोत बनाउने सोच बनायौं’, स्थानीय चूडाबहादुर कुमालले भने, ‘अब त केही हुन्छ कि भन्ने आशा र सपना पलाउँदै थियो। तर, प्रकृतिले हामीमाथि पटक-पटक अन्याय गर्‍यो।’

नगरपालिकाले डुबानप्रभावितको आयआर्जनमा टेवा पुगोस् भनेर डुंगा किनिदिएको थियो। डुंगा चलाउन खर्चिएको   श्रम, सीप, समय र पैसा बालुवामा पानीजस्तो भएको ताल संरक्षण तथा जलयात्रा सञ्चालन समिति अध्यक्ष दिलबहादुर कुमालको भनाइ छ। ‘डुबानप्रभावित सबैलाई आयआर्जनको माध्यम हुने गरी विकल्प बनाउने प्रयासमै थियौं’, अध्यक्ष कुमालले भने, ‘यहाँ पर्यटक बढाउने, त्यसबाटै आत्मनिर्भर बन्ने सपना वर्षदिनमै टुट्यो। अब के गर्ने भनेर अन्योल र चिन्तामा छौं।’

अविरल वर्षापछिको बाढीले सोमबार बिहान ताल फुटेको हो। तटीय क्षेत्रमा कुनै क्षति भने भएन। ताल बनेर रहेको ७५ प्रतिशत पानी बगेको बडिगाड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीपचन्द्र सुवेदीले बताए। ‘ताल एक्कासि फुट्छ कि भन्ने ठूलो त्रास थियो’, उनले भने, ‘ठूलो बाढी आए पनि बिस्तारै खोलिँदै ताल बगेकाले तटीय क्षेत्रका बस्तीमा क्षति गरेन।’ ताल फुट्ने सम्भावना बढेपछि राति नै प्रहरीले बागलुङ र गुल्मीका तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेको थियो।

गत वर्ष भदौ २९ गते राति चट्टानी पहिरोले खोला थुनिएर ढोरपाटन र बडिगाडको सिमाना तुरतुरेमा ताल बनेको थियो। १ हजार २ सय मिटर लामो र १ सय मिटरभन्दा गहिरो ताल आकर्षक देखिन्थ्यो। ढोरपाटन र बडिगाडले केन्द्र, प्रदेश सरकारसँगको समन्वयमा यसलाई जिल्लाकै पर्यटकीय गन्तव्यस्थल बनाउने तयारी गरेका थिए। विपत्ति दुखद् भए पनि त्यसले सिर्जना गरेको ताललाई यस क्षेत्रकै सम्भावनाका रूपमा विकास गर्ने योजना बनाए पनि प्रयास विफल भएको बडिगाडका अध्यक्ष मेहरसिंह पाइजाले बताए।

ढोरपाटनका मेयर देवकुमार नेपालीले प्रकृतिले विपत्ति ल्याए पनि त्यसलाई सम्पत्ति बनाउने प्रयास असफल भएको बताए। ‘तालको सदुपयोग गर्नुपर्छ भन्ने हेतुले वरिपरि होमस्टे सञ्चालन गर्न प्रदेश सरकारसँग समन्वय गरेका थियौं’, उनले भने, ‘तालमा डुंगा चलाएर मात्र हुँदैन भनेर स्थानीयलाई माछापालनका साथै अन्य व्यावसायिक काममा अनुदान दिने योजना बनाएका थियौं।’

मध्यपहाडी लोकमार्ग बग्यो

तुरतुरे ताल फुटेपछि नजिकैको करिब २ सय मिटर मध्यपहाडी लोकमार्ग बगेको छ। बागलुङ-बुर्तिबाङ खण्डमा यातायात सञ्चालन अवरुद्ध भएको छ। बडिगाड, ढोरपाटन, निसीखोला, तमानखोला गाउँपालिकालगायत ठाउँ आउजाउ ठप्प भएको छ। अत्यावश्यक कार्यले यात्रा गर्नुपर्ने यात्रु लोकमार्गपारि मालारानीको घुमाउरो बाटो पैदल जान बाध्य छन्। सडक नखुले ढोरपाटन, तमानखोला र निसीखोला गाउँपालिकामा खाद्यान्नलगायत अत्यावश्यक सामग्री अभाव खड्किनेछ।

वैकल्पिक मार्ग प्रयोगका विषयमा छलफल भइरहेको बागलुङका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षत्रीले बताए। उनका अनुसार यसका लागि स्थानीय तहसँग समन्वय भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.