यसरी खेलिन्छ डन्डीबियो

यसरी खेलिन्छ डन्डीबियो

नेपालको राष्ट्रिय खेल भलिबल घोषणा हुनुभन्दा पहिले राष्ट्रिय खेल डन्डीबियो थियो। डन्डीबियो नेपालको ग्रामीण क्षेत्रमा प्राचीन समयदेखि खेलिँदै आएको खेल हो।

परम्परागत रूपमा खेलिने डन्डीबियोमा करिब दुई फुट लामो काठको डन्डी हुन्छ। बियोको लागि करिब ६ इन्च लामो काठको छोटो डन्डी प्रयोग गरिन्छ। डन्डीको एकातिर छेउ छड्के बनाइएको हुन्छ भने बियोको दुवैतिरको छेउ तिखो पारिएको हुन्छ।

डन्डीबियो दुई वा दुईभन्दा बढी खेलाडी मिलेर खेल्न सकिने खेल हो। यो खेल दुई समूह बनाएर पनि खेल्न सकिन्छ। मैदान, चौर, आँगन वा बाँझो खेत जहाँ पनि यो खेल खेल्न सकिन्छ। यो खेलका परम्परागत र आधुनिक नियम रहेका छन्।

परम्परागत नियम

परम्परागत रूपमा डन्डीबियो खेल्नको लागि सुरुमा बियोलाई जमिनमा बनाइएको करिब चार इन्च लामो र दुई इन्च गहिरो खाल्टोमा तेर्साे पारेर राखिन्छ। परम्परागत रूपमा खेल्दा डन्डीबियोमा खेलाडी संख्या तथा खेलमैदानको आकार निर्धारण गरिएको हुँदैन। यसरी खेल्दा खोपीदेखि बियोको अन्तिम स्थानको दूरी नाप्न आठ एकाई भएको गणना प्रयोग गरिन्थ्यो। एको, दुबो, तिबो, झारो, भाँचो, छैमल, सिठी, पिरे भन्दै एक पिरेसम्म गणना हुन्थ्यो। एक पिरे पुगेपछि आफ्नो अंक गणना सम्झिनको लागि एक ढुंगा राख्ने गरिन्थ्यो।

नयाँ नियम

२०५५ सालमा नेपाल डन्डीबियो संघको स्थापनापछि यसलाई वैज्ञानिक रूपमा नियमबद्ध गरियो। अन्तर्राष्ट्रियकरण गर्ने उद्देश्यले मैदानको बनावट, डन्डी र बियोको आकार, स्कोर सिट, खेलाडी विवरण तय गरेर नयाँ नियम तयार पारिएको छ। नियमानुसार यो खेलमा दुई समूहहरू रहन्छन्। ती समूहमध्ये कुन समूहले डन्डी रोज्ने र कुन समूहले बियो रोज्ने भन्ने निर्धारण दुवै समूहका कप्तानहरूको रोहबरमा एम्पाएरले गर्छ। दुवै पक्षका कप्तानको उपस्थितिमा सिक्का उफारी जुन पक्षले टस जित्छ त्यो पक्षले डन्डी समूह अथवा बियो समूह रोज्न पाउँछन्। दुवै समूह बजोडको संख्या रहने गरी सात÷सात जनाको दरले विभाजित हुनुपर्छ। दुवै समूहमा दुई÷दुई जनाको दरले अतिरिक्त खेलाडी रहन्छन्। स्थानको कमी भएको क्षेत्रमा अन्तिम आर्क हटाई अन्तिमभन्दा अघिल्लो आर्क बराबरको कायम गरी पाँच÷पाँच जनाको दरले खेल खेलाउन सकिन्छ।

डन्डी र बियोको नाप

डन्डीबियो खेलमा बियोलाई हिर्काउन, ठ्याक लगाउन र हुत्याउनको लागि ४५ सेन्टिमिटर लामो र १.५ सेन्टिमिटर अर्धव्यास भएको बेलनाकार काठको डन्डी आवश्यक पर्छ। डन्डी समात्ने छेउतिर पाँच सेन्टिमिटर लम्बाई र ०.५ सेन्टिमिटर लामो समाउने भाग हुन्छ भने अर्को छेउमा ०.५ सेन्टिमिटरको टुप्पा छोडिने गरी दुई सेन्टिमिटर भाग छड्के पारेर ताछिएको हुनुपर्छ। बियो खोपीबाट हुत्याउँदा ताछिएको पछाडिको भाग प्रयोग गर्नुपर्छ। त्यस्तै बियो १५ सेन्टिमिटर लामो र १.५ सेन्टिमिटर अर्धव्यास भएको बेलनाकार काठको डन्डी बनेको हुन्छ। बियोको दुवै छेउमा ०.५ सेन्टिमिटर परिधि रहने गरी ताछिएको हुनुपर्छ।

खेलाडीको किसिम

डन्डी समूह खेलाडी : हुत्याउने क्षेत्रमा रहने खेलाडीलाई डन्डी समूह खेलाडी भनिन्छ। डन्डी समूह खेलाडीहरूले खोपीबाट बियो हुत्याउँदा खुट्टालाई तोकिएको सीमा रेखाभन्दा बाहिर लैजान पाइँदैन। एउटा डन्डी खेलाडीले लगातार तीन पटकसम्म हुत्याउन पाउँछ।

बियो समूह खेलाडी : तोकिएको खेलमैदानमा रही बियो समाउने खेलाडीहरूलाई बियो खेलाडी भनिन्छ। बियो हुत्याउँदा वा ठ्याक लगाउँदा बियो खेलाडी र डन्डी खेलाडीबीचमा कम्तीमा पनि ४.५ मिटर (१० डन्डी) को दूरीमा कोरिएको पहिलो आर्कबाहिर रहनुपर्नेछ।

बियो हुत्याइसकेपछि यदि बियो खेलाडी दौडन सुरु गरेमा डन्डीमा हिट गर्न पोजिसन लिने क्रममा भने उक्त आर्कभित्र पस्न पाउँनेछ। पहिलो आर्कमा एकमात्र खेलाडी राख्नेबाहेक बियो खेलाडीका क्याप्टेनले तोकिएको खेल स्थलभित्र आफ्नै रणनीतिमा खेलाडीको स्थान कहाँ रहने भनेर निर्णय गर्न पाउँनेछन्।

(एजेन्सीको सहयोगमा)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.