पहिरोलेले घर लगेपछि बिचल्ली

पहिरोलेले घर लगेपछि बिचल्ली

दैलेख : पहिराले गुराँस गाउँपालिका–२ बान्द्रेस्थित पुडेनी गाउँका १३ परिवार विस्थापित भएका छन्। दुई साताअघि पहिरो जाँदा ७० जनाको बास त्रिपालमुनि भएको छ। ५ सय मिटर माथिबाट खसेको पहिरोले एक घर बगाएको छ। गाउँका २४ घर उच्च जोखिममा छन्। ‘पहिरोले बस्ती भासिएको छ। गाउँभरि सग्लो जमिन भेट्टाउनै मुस्किल पर्छ’, स्थानीय लालमती सुनारले भनिन्, ‘कति बेला पहिरो खसेर पूरै गाउँ बगाउने हो भन्ने ठेगान छैन। घरबारी बगाउने चिन्ताले रातभर निद्रा लाग्दैन।’

उनका अनुसार पहिरोले गाउँ वरपर चारवटा खहरे खोला बनेका छन्। गाउँको माथिल्लो भागमा ठूलो ढुंगा आएर अडिएको छ। ‘ श्रीमान् भारतमा छन्’, उनले भनिन्, ‘घरमा तीन छोराछोरी छन्। दुई वर्षअघि बनाएको घरको ऋण नतिर्दै पहिरोले बगायो। घरमा भएको सबै अन्नपात र लत्ताकपडा बगायो। अब के गरी खाने हो।’ पहिरोले लालमतीको घरभित्र रहेका खाद्यान्न, लत्ताकपडा, नागरिकतालगायत कागजपत्रसहित नगद ६० हजार रुपैयाँसमेत बगाएको छ।

पहिरो खस्ने क्रम नरोकिएपछि पुडेनीवासी घरमा ताल्चा लगाएर बस्तीभन्दा ३ सय मिटर टाढा पाल टाँगेर बसेका छन्। एक वर्षअघि मात्रै घर बनाएकी ६६ वर्षीया गोल्मा वलीको व्यथा पनि उस्तै छ। ‘घर बनाउँदाको ऋण तिरेकै छैैन’, उनले भनिन्, ‘घरछेउमै पहिरो गएको छ। फर्किएर अब त्यहीं बसौंला भन्ने आस छैन। कहिलेसम्म त्रिपालमुनि रात काट्नुपर्ने हो ? ’

६६ वर्षीया धनसरा विकले गाउँमा पहिलो पटक यस्तो ठूलो विपत्ति आएको बताइन्। खेतीयोग्य जमिन पहिरोले बगाएपछि घर लगाउने जग्गासमेत नहुँदा सुकुम्बासीजस्तो त्रिपालमुनि बस्न बाध्य भएको उनको भनाइ छ। जीविकोपार्जन गर्न फलफूल खेती गरेका धिर्जबहादुरको घरबारी पहिरोले बगाएको छ। ‘केही आम्दानी गरौंला भनेर गाउँमै फलफूल खेती सुरु गरे। भएको सबै रकम त्यही खेतीमै लगानी गरेको थिएँ’, उनले भने, ‘बारीसँगै सबै खती बग्यो। अब पालमुनि बसेर यति ठूलो जहान कसरी पाल्ने हो ? ’

गाउँपालिकाले दिएको एउटा त्रिपालले रातभरि वर्षा थेग्न मुस्किल परेको स्थानीय बताउँछन्। पीडितको दीर्घकालीन व्यवस्थापनको पहल भइरहेको गाउँपालिका अध्यक्ष खेमराज ओलीले बताए। गाउँपालिकाले दुई वर्षअघि निर्माण गरेको कच्ची सडकका कारण गाउँमा पहिरो खसेको स्थानीय जगत वलीले बताए। गाउँपालिकाको गौरवको आयोजना भनिने मुख्य सडक र सहायक मार्गको वर्षाभल पुडेनी गाउँमा पस्दा पहिरो खसेको उनको भनाइ छ।

‘सिंगो गाउँ खहरे खोलामा परिणत भएको छ’, उनले भने, ‘स्थानीय सरकारले टोल–टोलमा सडक पुर्‍याउन डोजर चलाएपछि पहिरोको विपत्ति निम्तिएको हो।’ इन्जिनियर हीरासिंह थापाका अनुसार पहिरोको जोखिमले पुडेनी गाउँका अधिकांश घर बस्न योग्य छैनन्। पहिरोले विस्थापित गर्भवती महिला, बालबालिका र वृद्धवृद्धालाई थप सकस छ।

पहिरोको जोखिम

दार्चुला : पहिरोका कारण महाकाली नगरपालिकाको बडाली गाउँका १३ घर जोखिममा परेका छन्। बस्तीमुनि पहिरो खस्ने क्रम नरोकिएको सशस्त्र प्रहरी बल ५० नम्बर गुल्मका गुल्मपति डम्बरबहादुर विष्टले बताएका छन्। उनका अनुसार १३ घरका सामान अन्तै सार्ने काम भइरहेको छ।

लास्कु खोलाले बंगाबगडको तल्लो सडक बगाएको स्थानीय चक्रबहादुर बमले बताए। उनले दार्चुला–तिंकर सडकसम्म जोडिएको बंगाबगड–दल्लेख सडकखण्ड लास्कु खोलाले कटान गरेपछि यातायात सेवा ठप्प भएको बताए।

श्रीबगडस्थित अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयको पोस्टनजिकै काठे पुल बाढीले बगाएको छ। पोस्टसमेत जोखिममा परेको छ। पोस्टमा कार्यरत कर्मचारी सदरमुकाम झरेको कर्मचारी गोकर्ण अवस्थीले बताए।

महाकाली–२ बुढीचौराका बिरादत्त बडूको खेत बाढीपहिरोले बगाएको छ। विभिन्न ठाउँमा पहिरोका कारण महाकाली लोकमार्गअन्तर्गत पर्ने बैतडी–दार्चुला सडक अवरुद्ध छ। गोकुलेश्वर–खलंगा खण्डका विभिन्न स्थानमा पनि पहिरोका कारण सवारी साधन चल्न नसकेको यात्रु अकवरसिंह धामीले बताए। दार्चुलाबाट काठमाडांै, महेन्द्रनगर तथा धनगढीका लागि छुट्ने तथा जिल्ला भित्रिने सवारी साधन चल्न सकेका छैनन्। बंगाबगडमा पहिरो खस्दा दार्चुलाको खलंगा तथा बैतडीको गन्ना बसपार्कबाट छुट्ने तथा महेन्द्रनगर, धनगढी तथा काठमाडौंबाट भित्रिने सवारी साधन चल्न नसकेको यात्रु नवीन जोशीले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.