आकासियो सुनको भाउ, बिहीबार ५ सयले बढ्यो
काठमाडौं : नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ।बिहीबार तोलामा ५ सयले वृद्धि भएर ७० हजार रुपैयाँ कायम भएको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
बुधबार सुन तोलामा १५ सयले बढेर ६९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। चाँदी तोलामा १५ रुपैयाँले बढेर ८२५ रुपैयाँमा कारोबार भइरहेको छ।
साउन ३ गतेदेखि उकालो लागेको सुनको भाउ साउन १६ गतेसम्म घट्ने र बढ्ने क्रम जारी रह्यो।साउन १७ गतेदेखि सुनको भाउ निरन्तर वृद्धि भइरहेको छ।१७ साउनमा ८ सय रुपैयाँले बढेर सुन तोलाको ६५ हजार ८ सय रुपैयाँमा कारोबार भयो।
यस्तै, साउन १९ गते फेरी तोलामा ५ सय रुपैयाँले बढेर ६६ हजार ३ सय रुपैयाँमा कारोबार भयो। एकै दिन १५ सय रुपैयाँले बढेर साउन २० गते सुन तोलाको ६७ हजार ८ सय कायम भयो।
यस्तै, मंगलबार फेरि सुन तोलामा २ सय रुपैयाँले बढेर ६८ हजार रुपैयाँमा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यका अनुसार अमेरिका-चीन व्यापार युद्धका कारण सेयर र डलरका लगानीकर्ता सुनतर्फ आकर्षित हुँदा सुनको मूल्य आकासिएको हो। सुन भाउ निरन्तर बढ्न थालेपछि नेपाली बजारमा सुनको कारोबार ठप्प भएको र सुन खरिद गर्ने भन्दा पुराना गहना बिक्री गर्ने ग्राहकको संख्या बढेको उनले बताए।