फ्रान्सेली महिला खोलामा बेपत्ता
नुवाकोट : खोलाले बगाएर नेपाल–चीन सीमा रसुवागढी नजिकै एक फ्रान्सेली महिला बेपत्ता भएकी छन् । काठमाडौंबाट नुवाकोट हुँदै रसुवा प्रवेश गरेकी ७१ वर्षीया फ्रान्सेली नागरिक हरतिङ्गेर इल्फ्रेड बिहीबार बिहान पौने ११ बजे खुट्टा धुन खोलामा जाँदा बगाएर बेपत्ता भएकी हुन्।
काठमाडौंबाट रसुवागढी हुंदै चीनको मानसरोवर जाने क्रममा इल्फ्रेड टिमुरेको घट्टेखोलाबाट बिहीबारदेखि बेपत्ता भएको र उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रवक्ता तथा प्रहरी निरीक्षक ओमप्रकाश वाग्लेले जानकारी दिए ।
उनी साथीहरुसँग रसुवागढी हुँदै चीनको मानसरोवर जाँदै थिइन् । घट्टेखोलामा फ्रान्सेली नागरिक बगाएर बेपत्ता भएको जानकारी पाएपछि उद्धारका लागि सीमाक्षेत्रको सुरक्षामा तैनाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना तथा स्थानीयवासी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिए ।
गृह मन्त्रालयमासमेत सो घटनाको जानकारी गराइएकाले हेलिकप्टरमार्फत खोजी उद्धार हुने भएको छ । ठाडो खोलामा वर्षायामको पानीको बाहव तीब्र रहेको र घटनास्थल भोटेकोशी नजिकै गहिरो खोच र भौगोलिक विकटजस्ता समस्या भए पनि सुरक्षाकर्मीद्वारा तदारूक्ताका साथ खोज्ने काम भइरहेको प्रजिअ भण्डारीले बताए ।
ती महिला काठमाडौंको सत्यम टुर एण्ड ट्रावलमार्फत मानसरोवर जाँदै गरेकी प्रहरीले बताएको छ । रसुवागढी हुँदै मानसरोवर जाने यात्रीका लागि छोटो दुरी भएका कारण सोही मार्ग प्रयोग भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस !