नेपाली धावक निमेशलाई चीनमा तेस्रो स्वर्ण
काठमाडौं : चीनमा जारी वर्ल्ड पुलिस फायर गेम्समा नेपाली धावक निमेश गुरुङले तेस्रो स्वर्ण पदक जितेका छन्। सिंगापुर पुलिस फोर्समा कार्यरत उनले आइतबार भएको १० हजार मिटर ट्रयाक एन्ड फिल्डमा स्वर्ण पदक जितेका हुन्।
विश्वका आर्मी र पुलिस संगठनका धावकहरूले प्रतिस्पर्धा गर्ने वर्ल्ड पुलिस फायर गेम्सको जारी संस्करणमा निमेशको यो तेस्रो स्वर्ण पदक हो। उनले जारी प्रतियोगितामा यसअघि हाफ म्याराथन (२१.५ किलोमिटर) र १० किलोमिटर क्रस कन्ट्रीमा पनि स्वर्ण पदक जितेका थिए।
दुई वर्षअघि अमेरिकाको लसएन्जलसमा भएको वर्ल्ड पुलिस फायर गेम्समा समेत प्रतिस्पर्धा गरेका निमेशले त्यसबेला पनि हाफ म्याराथन र १० किलोमिटर क्रस कन्ट्रीमा दुई स्वर्ण जितेका थिए। उनले स्वर्णका लागि सहभागी ५५ देशका प्रतिस्पर्धीलाई पछि पारेका थिए।
निमेशले निर्धारित दूरी ३१ मिनेट १७ सेकेन्डमा पूरा गरे। आयोजक चीनका नुफेङ दाई दोस्रो र भारतका गोभा राम दोस्रो भए। नुफेङले निर्धारित दूरी ३१ मिनेट ३५ सेकेन्ड र गोभा रामले ३२ मिनेट २१ सेकेन्डमा पूरा गरेका थिए।
पछिल्लो झण्डै एक दशकदेखि सिंगापुर पुलिस फोर्सबाट नियमित अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागीता जनाउँदै आएका निमेशले अहिलेसम्म दर्जन बढी ठूला प्रतियोगिता जितिसकेका छन्।
प्रतियोगितामा निमेशले सिंगापुर पुलिस फोर्सबाट सहभागिता जनाएपनि नेपाली पासपोर्ट भएकाले उनको परिचय नेपाल नै उल्लेख छ। पछिल्लो समय नियमित रुपमा अन्तर्राष्ट्रिय प्रतियोगितामा सफल भएपछि निमेशले देशका लागि खेल्ने इच्छा व्यक्त गरेका छन्।