पर्वत-बेनी सडक दैनिक आठ घन्टा बन्द हुने
बागलुङ : बागलुङको बांगेचौर र पर्वतको पाङ अदुवाबारी जोड्ने झोलुंगे पुल निर्माणका क्रममा दैनिक साढे ८ घण्टा बन्द गरिने भएको छ। कालीगण्डकी नदीमाथि निर्माण हुने पुलको पर्वत खण्डमा लठो तान्नका लागि सहायक जग निर्माण गर्नुपर्ने हुँदा सम्भावित दुर्घटनाप्रति सजगताका लागि पर्वत-बेनी खण्डको सडक बन्द गर्ने निर्णय गरिएको हो।
भाद्र ५ गते बिहीबारदेखि १३ गतेसम्म बिहान ७ देखि ९ बजे र त्यसपछि बिहान १० देखि अपरान्ह साढे ४ बजेसम्म पर्वतको कुश्मा नगरपालिका १ मालढुंगादेखि जलजला गाउँपालिकाको डमुवाखोलासम्म सडक बन्द गरिने बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलले जानकारी दिए।
जिल्ला प्रशासन कार्यालय बागलुङ, पर्वत र म्याग्दीका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, स्थानीय तहका जनप्रतिनिधि, उद्योग बाणिज्य सघं, पत्रकार महासंघका अध्यक्षलगायतको उपस्थितिमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । यस क्रममा पर्वतको मालढुंगा, जलजला हुँदै बेनी म्याग्दी, मुस्ताङ आवत जावत गर्ने सवारी साधनलाई बागलुङ बजार, म्याग्दीको रत्नेचौरको बैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।
सडक व्यस्त हुने समयलाई ध्यानमा राखेर समय तालिका तय गरिएको मेयर पौडलेले बताए।हिमशिखर कन्ट्रक्सनले निर्माण जिम्मा लिएको पुलको अहिले फाउण्डेशनको काम भइरहेको छ। यो झोलुंगे पुल हाल सम्मकै सबैभन्दा लामो ५ सय ६७ मिटर र १ सय ३८ मिटर उचाइको हुनेछ।
प्रतिक्रिया दिनुहोस !