नेपाल भाषाको पाठ्यक्रम बनाउँदै काठमाडौं महानगर
काठमाडौं : काठमाडौं महानगरपालिकाले नेपाल भाषाको पाठ्यक्रम बनाउने भएको छ। पाठ्यक्रम बनाउन बुधबार दुई वटा समिति गठन भएका छन्। महानगरपालिकाका मेयर एवं महानगर शिक्षा समितिका अध्यक्ष विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको बैठकले पाठ्यक्रम बनाउने निर्णय गरेको हो।
कक्षा १ देखि ८ सम्म नेपाल भाषाको पाठ्यक्रम निर्माणका लागि काठमाडौं महानगरपालिकाका शिक्षा अधिकारी निर्मला केसीको अध्यक्षतामा एउटा समिति बनेको छ। त्यसमा प्रा.डा. चुन्दा बज्राचार्य, हरिभक्त श्रेष्ठ सदस्य तथा मोतिराज खनाल सदस्य सचिव रहेका छन्। नेपाल भाषा ऐक्षिक विषय रहने छ।
अंग्रेजी र नेपाली भाषाका लागि अर्को समिति बनेको छ। उक्त समितिको अध्यक्ष पनि केसी नै छन् भने सदस्यमा चुन्दा बज्राचार्य, प्रा. मदनराज मानन्धर, माधव घिमिरे, नातिकाजी महर्जन र ज्ञानबहादुर अधिकारी छन्। समितिको सदस्य सचिवमा महानगरपालिका शिक्षा विभागका अधिकृत तारापति खरेल रहेका छन्।
यी समितिलाई काठमाडौं महानगरपालिका भित्र चल्ने सामुदायिक र संस्थागत विद्यालयको कक्षा एकदेखि कक्षा ८ सम्मको पाठ्यक्रम निर्माणको जिम्मेवारी दिइएको महानगरपालिकाले जानकारी दिएको छ।
‘कक्षा १ देखि ८ सम्म नेपाल भाषालाई ऐक्षिक विषयका रुपमा पाठ्यक्रम निर्माण गर्ने निर्णय बैठकले गरेको छ,’ काठमाडौँ महानगरपालिका शिक्षा अधिकारी निर्मला केसीले भनिन्।
समितिलाई ६० दिनको समय तोकिएको छ।
प्रतिक्रिया दिनुहोस !