‘गुटबन्दीमा फसेरै कमजोर भइयो’
सुर्खेत : आफ्नै पार्टीभित्रको गुटबन्दीका कारण दुई तिहाइको सरकारले बाटो बिराएको कांग्रेस शीर्ष नेताहरुले बताएका छन् ।
पार्टीभित्रको गुटबन्दीबाट फाइदा लिँदै बहुमतको दम्भ देखाएर सरकारले बाटो बिराएको नेताहरुको भनाइ छ । पार्टीभित्र गुट–उपगुट गर्ने चलनले कांग्रेस पार्टी नै एकजुट हुन नसक्दा दुई तिहाइको कम्युनिस्ट सरकारसँग लड्न समस्या भएको नेताहरुको तर्क छ ।
केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित महाधिवेशन प्रतिनिधिका लागि कर्णाली प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमका सहभागी कांग्रेस शीर्ष नेताहरुले पार्टीभित्रको गुटबन्दीकै कारण कांग्रेस कमजोर बनेको स्वीकार गरेका हुन् ।
‘पार्टीभित्र न्याय, निश्पक्ष र पारदर्शी हुन नसकेकै कारण गुटबन्दी छ, यो ठीक होइन, छलफल र बहसबाट गुटबन्दीको अन्त्य हुनुपर्छ’ कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले भने, ‘हामी कांग्रेस–कांग्रेस एकजुट हुन नसक्दा त्यसको फाइदा कम्युनिस्ट सरकारलाई छ’
नेपालमा बहुमतको कम्युनिस्ट सरकार बन्नुमा पनि कांग्रेस नेताहरुको कमजोरी रहेको उनले बताए । ‘पार्टीभित्रै एउटा गुटले अर्को गुटले जित्नुभन्दा बरु कम्युनिस्टले नै जितोस् भन्ने दुश्मनी भावना छ । यस्तो सोचाइ अब अन्त्य हुनुपर्छ । गुटबन्दी हटाउनुपर्छ तब मात्रै कम्युनिस्ट सरकारलाई घुँडा टेकाउन सकिन्छ,’ नेता पौडेलले भने ।
कांग्रेस उपसभापति तथा नेता बिमलेन्द्र निधिले बाटो बिराएको कम्युनिस्ट सरकार संघीयता र संविधान विरोधी भएर हिँडिरहेको आरोप लगाए । उनले भने, ‘संघीयता र संविधान कार्यान्वयन कांग्रेसकै हातमा छ, बाटो बिराएको कम्युनिस्ट सरकार, प्रहरी, प्रशासन, अदालत र पत्रकारमाथि हमला गर्न थाल्यो, अब देश बचाउन कांग्रेस सरकार आउनुपर्छ ।’

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले समाज धेरै अघि बढेको बेला पार्टी गुटबन्दीको झमेलाबाट मुक्त नहुनुले निर्वाचनमा पछि पर्नुपरेको स्वीकार गरे । केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश संसदीय दलका नेता जीबनबहादुर शाहीले सधैँ अर्कोलाई गाली गरेर मात्रै अघि बढ्न नसकिने भन्दै जनभावना अनुसार पार्टीले काम गर्नुपर्ने बताए ।
केन्द्रीय सदस्य हृदयराम थानीले पाटीभित्रकै नेताको व्यवहार, आचरण र जीवनशैलीमा सुधार नआएसम्म जनताको मन जित्न कठिन हुने तर्क गरे । बिहीबारदेखि सुर्खेतमा सुरु भएको प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय शीर्ष नेतादेखि कर्णाली प्रदेशका महाधिवेशन प्रतिनिधि तथा कांग्रेस नेताहरुको सहभागिता छ ।
प्रतिक्रिया दिनुहोस !