वाइन चुस्कीमा तीजको दर ! बूढी आमा भन्छिन् : कस्तो चलन आयो बा !

वाइन चुस्कीमा तीजको दर ! बूढी आमा भन्छिन् : कस्तो चलन आयो बा !

काठमाडौं :  भदौं ८ गते शनिबार । मध्यान्ह हुँदै थियो । राजधानीको एउटा पार्टी प्यालेसमा तीजको भाका घन्किन थाल्यो टोल नै थर्किने गरी । सजिएका दिदीबहिनीले एकछिनमै पार्टी प्यालेस हाउसफुल भयो अनि सुरु भयो तीजको दर पार्टी। 

रातो साडी, छड्के तिलहरी र अनि सुनले सजिएका दिदीबहिनीले पार्टी प्यालेस रंगिन थियो। टोलका दिदीबहिनीले प्रतिव्यक्ति हजार रुपैयाँका दरले पैसा उठाएर दर कार्यक्रमको आयोजना गरेका रहेछन्।

हल्का कोल्ड ड्रिंक्सपछि एक घन्टा जति दिदीबहिनीले तीजका नेपाली गीत मै 'डान्स' गरे। त्यसपछि बाँडियो दरको स्‍न्याक्स । मेन्युमा थियो, चिकेन फ्राइ, मटन फ्राइ, म:म,  प्राउन,पापड अनि केही थरी वाइन र बियर । प्राय: सबैका हातमा थियो ग्लास । ग्लासमा थियो वाइन । वाइनको चुस्कीसँगै दिदीबहिनी दर पार्टीमा निकै चम्किएका थिए।

पार्टी प्यालेसका संचालक भन्दै थिए, स्‍न्याक्स भन्दा पनि वाइनकै डिमान्ड बढी। पुर्‍याउनै गाह्रो। बढी नै खपत हुन थालेपछि ट्रे मा वितरण गर्न छोडियो। अनि दिदीबहिनी फेरि बारतिर झुम्मिए। 

वाइनको नसाले रमाएका युवती भन्दै थिइन् ' ह्‌या यार, कति तीजकै मात्र गीत बजाएको। अब राम्रो बजाउनु पर्‍यो, अलि हट चाहियो। 

अनि डिजे भाइ पनि हल्का मुस्कान दिँदै टाउको कन्याउन थाल्यो । युट्यूबमा सर्च गरेर हट आइटम बजायो। मुन्‍नी बदनाम हुइँ डार्लिङ तेरे लिए... हट गीतले पार्टी प्यालेस गुन्जिन थाल्यो। एकछिन अघिको तीजको दर पार्टी 'अब मुन्‍नी बद्‍नाम हुइँ...तिर मोडियो । म्युजिक र त्यहाँको माहोल हेर्दा लाग्थ्यो रातमा रंगिएको एउटा क्लब। 

यो त एउटा दरपार्टीको सामान्य चित्र हो। तीजको मुखमा राजधानीका पार्टी प्यालेसमा दर पार्टी प्राय: यस्तै हुने गर्छन्। मेन्युमा वाइन र बियर अनि हिन्दी र अंग्रेजी रिमिक्स त अनिवार्य जस्तै भएको छ।

तीजको स्वरूप पनि फेरिदै गएको छ। घरको भान्सामा दर पाक्न छोडेको छ। होटल तथा पार्टी प्यालेसमा दर पाक्न थालेको छ। प्यालेसमा भोजभतेर आयोजना गर्ने, महंगो गरगहना, पहिरनमा प्रतिस्पर्धा गर्ने, माछामासु र मदिराजन्य परिकार खाने प्रवृत्ति बढेको छ।

गीत सुन्दा उराठ लाग्छ

तीजको गीत र नाचमा मौलिकता हराउँदै गएकोमा  बुढापाका चिन्तित छन्। राजधानीको थलीकी ७८ वर्षीया सीता थापाले तीजको मौलिकता अहिलेका पुस्ताले बिर्सेको भन्दै दु:ख व्यक्त गरिन्। 'अहिलेका तीज गीतमा नत माइतीका कुरा समेटिएका छन् न त दिदीबहिनीका,' उनले भनिन्, 'तीजका गीत सुन्दा उराठ लागेर आउँछ।'

आफ्ना पालामा दर खाएको संझिदै भनिन्, 'दरका दिन सबै दिदीबहिनी एक ठाउँमा भेला हुन्थ्यौं। आफै गीत गाउँथ्यौं, आफैं मादल बजाउथ्यौं, आमाले पकाएका मीठा परिकार दरका रुपमा खान्थ्यौं। कम्ति रमाइलो हुँदैनथ्यो।'

उनले हिजोआज आफ्नो घरमा दर पाक्न छोडेको भन्दै दुखेसो पोखिन। 'आफू बुढो भइयो, भान्सा जान सकिदैन, खान मन लागेर के गर्नु,' उनले भनिन्,' घरमा तीज दर नपाकेको धेरै भयो। बुहारी जागिरे। बाहिरै खाएर आउँछन्। दर खाने दिनमा पनि होटलबाट दर मगाउँछन्। त्यही खान्छौं।'

अनामनगरकी बिना शर्मा भन्छिन्, 'उहिले दरका रुपमा चोखो परिकार खाने गरिन्थ्यो। तीजको अघिल्लो दिन मात्र दर खाने चलन थियो। अहिले त महिना दिनअघि छोरी बुहारीलाई भ्याइ नभ्याइ हुन्छ।'

जमानामा फेरिएको भन्दै उनले थपिन्,'कस्तो चलन आयो बा कस्तो। हाम्रा पालाको तीज त हरायो। यस्तै रह्यो भने अब तीज एकादेशको कथा हुनेछ।'

संस्कृतिमाथि प्रहार

भड्किलो फेसनले तीजको सांस्कृतिक महिमा ओझेलमा पर्दै गएको चिन्ता संस्कृतिवद्को छ। संस्कृतिविद् गोविन्द टण्डनले पछिल्लो समय तीज पर्वमा विकृति विसंगति भित्रिदै गएको भन्दै चिन्ता व्यक्त गरे। उनले भने,' तीजको मौलिकता गुम्दै गएको अवस्था छ। अरु चाडबाडजस्तै तीजमा पनि पश्चिमा शैलीको प्रभाव परेको छ। यसो हुनु राम्रो होइन। मनोरञ्जनका नाममा विकृति विसंगति भित्रिन दिनु हुँदैन।'

तीज गीतमा विवाहित दिदीबहिनीलाई दाइ-भाइ लिन आएको/नआएको, दिदीबहिनीबीचका दु:ख सुखका कुराबारे चर्चापरिचर्चा हुन्थ्यो। गीतको माध्यमबाट मनको वह पोख्थे। तर हिजोआज विदेशी गीतले तीज पिट्न थालेको छ। तीज गीतको सट्टा डिजे चल्न थालेका छन्। घरमा होइन होटलमा दर पाक्न थालेको छ।

मौलिक पर्व तीजमा पश्चिमा शैलीका गीतले स्थान पाउनु चिन्ताको विषय भएको संस्कृतिविद् टन्डनको बुझाइ छ। उनले चाडबाड बाध्यताले नभइ रहरले मनाउनुपर्ने बताए। यसरी संस्कृतिभित्र विकृति विसंगति भित्रिदै जाने हो भने तीज मात्र नभएर तिहारको देउसी भैंलोका गीतहरु पनि ओझेलमा पर्दै जानेछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.