'प्रदेश ५ को राजधानी यसैवर्ष टुंगो लाग्छ'
गुल्मी : प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश राजधानी र नामाकरण को टुंगो यसैवर्षभित्र लाग्ने बताएका छन् । मंगलबार सदरमुकाम तम्घासमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सुझाव संकलन समितिले प्रतिवेदन बुझाएलगत्तै राजधानी टुंगो लगाइने उल्लेख गरे ।
राजधानीका विषयमा गठित समितिले भूगोलविद्, राजनीतिज्ञ र विभिन्न क्षेत्रका विज्ञहरुसँग छलफल जारी राखेको उनको भनाइ छ । राजनीति दाउँपेचभन्दा सबै जिल्लाका नागरिकहरुलाई पायक पर्ने उचित स्थानमा राजधानी तोकिने उनले ठोकुवा गरे । ‘सबैले दिपावली गर्ने गरी राजधानीको टुंगो लाग्छ’, उनले भने,‘सबै नागरिकलाई पायक हुने ठाउँ तोक्छौँ ।’
यस्तै, पोखेरलले जिल्लाको सत्यवतिका पहिरो पीडितहरुको पूनःस्थापनको जिम्मा प्रदेश सरकारले लिने उद्घोष गरेका छन् । ‘सत्यवतिको दुई ठाउँमा पहिरो जाँदा धेरै जनधनको क्षति भयो । ठूलोलुम्पेकमा बस्ती नै स्थानान्तरण गर्नुपर्ने छ’, उनले भने, ‘यसको सबै जिम्मा प्रदेश सरकारले लिन्छ । पहिरोपीडितले चिन्ता लिनुपर्दैन् ।’
प्रदेश सरकार आफैँमा सक्षम भएकाले केन्द्र सरकारले आवश्यक ठानेर सहयोग दिएमात्र लिने उल्लेख गरे । प्रदेश सरकारकै पहलमा पहिरो प्रभावित क्षेत्रमा अध्ययन अनुसन्धान गरिसकेको बताए । गत साउन १० गते सत्यवति गाँउपालिकाको लिम्घा र ठूलोलुम्केपमा पहिरो जाँदा १३ जनाको मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस !