१६ किलो सुन काण्डका आरोपित कारागार चलान
गोरखा : १६ किलो सुन तस्कर गरेको आरोपमा पक्राउ परेका धनकमल गुरुङलाई जिल्ला अदालत गोरखाले कारागार चलान भएका छन्। जिल्ला अदालत गोरखामा केहीदिनअघि भएको थुनछेक आदेशपछि जिल्ला न्यायधीश रमेशकान्त अधिकारीले उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएका स्रेस्तेदार विनोदप्रसाद अधिकारीले जानकारी दिए।
धार्चे १ यारुका व्यवसायी धनकमल गुरुङलाई सोही गाउँपालिकाको ३ खोर्लाको ओडारमा लुकाएको १६ किलो सुनसहित गत साउन ९ गते प्रहरीले नियन्त्रणमा लिएको थियो। बरामद भएको सुनसहित गुरुङलाई प्रहरीले अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागमा बुझाएको थियो। विभागले उनलाई मुख्य प्रतिवादी बनाउँदै जिल्ला अदालत गोरखामा मुद्दा दर्ता गरेको थियो।
उनीविरुद्ध राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ तथा विदेशी विनिमय नियमित गर्ने ऐन २०१९ अनुसार मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको स्रेस्तेदार अधिकारीले बताए। विभागले गुरुङविरुद्ध ३५ करोड ६६ लाख ७२ हजार रुपैया जरिवाना गर्न माग गरेको उनले बताए।
प्रतिक्रिया दिनुहोस !