जुम्लामा ‘हाइअल्टिच्युट ट्रेनिङ सेन्टर’
सुर्खेत : कर्णाली प्रदेशको ‘हाइअल्टिच्युट ट्रेनिङ सेन्टर’ जुम्लामा बन्ने भएको छ। कर्णाली प्रदेश सरकार र संघीय सरकारको सहयोगमा जुम्लामा ‘हाइअल्टिच्युट ट्रेनिङ सेन्टर’ बन्न लागेको हो। निर्माण सम्पन्नपछि यो नेपालकै पहिलो ‘हाइअल्टिच्युट ट्रेनिङ सेन्टर’ हुनेछ। गिनिज बुक अफ द वल्र्ड रेकर्डअनुसार विश्वकै अग्लो स्थानमा धान फल्ने जुम्ला पातारासी गाउँपालिका- ३ छुमचौरस्थित मालिका मावि लोडचौरको खेल मैदानमा ‘हाइअल्टिच्युट ट्रेनिङ सेन्टर’ निर्माण हुनेछ।
जुम्ला सदरमुकाम खलंगादेखि पूर्वी भेगमा पर्ने यो ठाउँ समुद्री सतहदेखि दुई हजार आठ सय मिटर उचाइमा रहेको छ। ‘हाइअल्टिच्युट ट्रेनिङ सेन्टर’ बनाउनका लागि ३२ करोड तीन लाखको डीपीआरसमेत तयार भएको छ। डीपीआरमा चिसोतातो पानी भएको स्विमिङ पुल, लैंगिकमैत्री छात्रावास, सुरक्षा गार्ड, पाहुना घर, टिकट काउन्टरलगायतका भवन निर्माण गरिने उल्लेख छ।
डीपीआरअनुसार अबको केही महिनाभित्र टेन्डर आह्वान गरी काम सुरु गरिने कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले बताए।
‘कर्णालीमा दक्ष खेलाडी उत्पादन गर्न जुम्लामा हाइअल्टिच्युट र सुर्खेतमा लो अल्टिच्युट ट्रेनिङ सेन्टर स्थापना हुनेछन्’ उनले भने, ‘यिनै सेन्टरमा सञ्चालन हुने विभिन्न खेल प्रशिक्षणबाट कर्णालीले देश, विदेशलाई चुनौती दिने खेलाडी उत्पादन गर्नेछ।’
विभिन्न विधाका खेलाडीलाई धेरै गर्मी र जाडो हुने ठाउँमा नियमित प्रशिक्षण गराई देश, विदेशका जस्तोसुकै ठाउँमा सजिलै प्रतिस्पर्धा गर्न सकून् भन्ने उद्देश्यले हाइअल्टिच्युट ट्रेनिङ सेन्टरको अवधारणा ल्याइएको हो। धावक हरिबहादुर रोकायाले भने, ‘कर्णालीका म्याराथन खेलाडीमात्रै अहिले देश, विदेशका प्रतिस्पर्धामा जित्न सफल भएका छन्, तर यसपछि जुम्लामा बन्ने हाइअल्टिच्युट ट्रेनिङ सेन्टरका कारण अन्य खेलमा पनि कर्णालीलाई विश्वसामु चिनाउने खेलाडी उत्पादन हुनेछन्।’
संघीय सरकारका युवा तथा खेलकुद मन्त्रालयका सचिव महेश दाहालको टोलीले हाइअल्टिच्युट ट्रेनिङ सेन्टरका लागि ३ पुस २०७४ मा सम्भाव्यता अध्ययन गरेको थियो। जुम्ला पातारासी गाउँपालिका अध्यक्ष लक्षिमन बोहोराका अनुसार मालिका मावि लोडचौरमा हाइअल्टिच्युट ट्रेनिङ सेन्टर बन्ने भएपछि विद्यालय भवनलाई अन्यन्त्र सार्ने छलफल भइरहेको छ।
जिल्ला खेलकुद विकास समिति जुम्लाका कार्यालय प्रमुख बमबहादुर महतले हाइअल्टिच्युट टे«निङ सेन्टरमा स्वदेशी तथा विदेशी खेलाडी मात्रै नभई पर्यटकको संख्यासमेत बढ्ने बताए। उनका अनुसार टे«निङ सेन्टरमा भलिबल, फुटबल, कराते, बक्सिङ, तेक्वान्दो, बास्केटबल, एथलेटिक्सलगायतका दुई दर्जन बढी खेल खेलाइनेछ।
प्रतिक्रिया दिनुहोस !